|

विराटनगर : विराटनगर महानगरपालिकाले विभिन्न सङ्घ संस्थाको समन्वयमा युवा रोजगारी अभिवृद्धिका लागि ‘महानगर रोजगार मेला–२०८०’ आयोजना गर्ने भएको छ।

आगामी चैत २ र ३ गते स्थानीय वीरेन्द्र सभागृहनजिकै इको फन पार्कमा लाग्ने सो मेलामा ४० वटा स्टल रहने बताइएको छ।

प्रारम्भमा १५० युवालाई तत्काल रोजगार उपलब्ध हुने भएकाले विदेश जान नचाहने र स्वदेशमै रोजगार गर्न चाहने युवायुवतीले लाभ लिन सक्ने विराटनगर महानगरका प्रमुख नागेश कोइरालाले आज (मंगलवार) आयोजित पत्रकार सम्मेलनमा जानकारी दिए।

उनले पहिलोपटक महानगरले गर्न लागेको यस किसिमको मेलाबाट विभिन्न सङ्घ संस्था, बैंक, प्रतिष्ठान तथा रोजगारदातालाई आवश्यक जनशक्ति खोज्न सजिलो भएको भन्दै दक्षताअनुसारको रोजगारीको खोजीमा रहेका युवाले प्रत्यक्ष रोजगारदातासँग भेट गर्ने अवसर पनि मेलामा जुट्ने चर्चा गरे।

हामी सबैको रहर शिक्षित सफा, सुन्दर, सुरक्षित र सक्षम विराटनगर’ लक्ष्यबमोजिम मेलाले युवाको आवश्यकता र चाहना पूरा गर्ने विश्वास प्रमुख कोइरालाले व्यक्त गरे। 

मेलाबाट उद्योग तथा व्यवसायीले उपलब्ध जनशक्तिबारे एकै ठाउँबाट जानकारी पाउने, बेरोजगार युवाले विभिन्न उद्योग तथा व्यवसायमा रोजगारी प्राप्त गर्न सक्ने, सीपमूलक तालिम तथा रोजगारको अवसरको बारेमा जानकारीप्राप्त गर्नसक्ने, विद्यार्थी तथा युवाले वृत्ति परामर्श सेवा प्राप्त गर्ने र नमूना रोजगार सेवा केन्द्रको सेवाबारे जानकारी पाउने र सेवा लिनेको सङ्ख्यामा उल्लेखनीय वृद्धि हुने विश्वास लिइएको छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.