|

विराटनगर : मोरङ क्रिकेट संघको आयोजनामा विराटनगरमा जारी कोशी प्रदेश ट्रफी पेप्सी राष्ट्रिय टी–२० क्रिकेट प्रतियोगितामा आज (बुधवार) भएका खेलमा नेपाल पुलिस र त्रिभुवन आर्मी  विजयी भएका छन्।

विराटनगरको बैजनाथपुर क्रिकेट रंगशालामा आज भएको पहिलो खेलमा पुलिसले लुम्बिनीलाई ८ विकेटले पराजित गरि सेमिफाइनलमा पुग्ने आशा जीवितै राखेको छ।

सेमिफाइनलमा पुग्न पुलिसले बिहीवार बागमतीविरुद्ध अन्तिम खेलमा राम्रो रन रेटमा खेल जित्नुपर्ने हुन्छ।

पुलिसले खेलेको ३ खेलमध्ये २ मा जित र १ मा पराजित हुँदै ४ अंकका साथ समूह बी को अंक तालिकामा तेस्रो स्थानमा उक्लिएको छ।

पराजित लुम्बिनी ४ खेलमध्ये ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ समूहको शीर्षमा छ भने सुदूरपश्चिम ४ खेलमध्ये ३ मा जित र १ मा पराजित हुँदै ६ अंकका साथ दोस्रो स्थानमा रहेको छ।

टस हारेर ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ५ विकेट गुमाई १५१ रनको योगफल तयार पारेको थियो। लुम्बिनीका लागि मृनल गुरुङले ३८ बलमा ६ चौका प्रहार गरि ५० रन बनाउँदा कप्तान देव खनालले ३८ बलमा १ छक्का ५ चौका प्रहार गर्दै २९ रन र आकाश त्रिपाठीले ३४ रनको योगदान दिए। 

पुलिसका कप्तान मञ्जित श्रेष्ठले २ विकेट लिँदा अविशेक कार्कीले पनि २ विकेट लिए।

जवाफमा १५२ रनको लक्ष्य पछ्याएको पुलिसले १६ दशमलव ५ बलमा २ विकेट गुमाई लक्ष्य पार गरेको थियो। 

पुलिसको जितमा प्लेयर अफ द म्याच रोहन विकले ५० बलमा ४ छक्का र ७ चौका प्रहार गरि ८० रनमा अविजित रहे भने अमित श्रेष्ठले ४९ रन बनाएर आउट भए। 

लुम्बिनीका देव खनालले १ विकेट लिए।

दोस्रो खेलमा विभागीय टोली त्रिभुवन आर्मीले अर्को विभागीय टोली एपिएफलाई ४ विकेटले पराजित गरेको छ। हारपछि एपिएफ प्रतियोगिताबाट बाहिरिएको छ।

आर्मीले खेलेका ४ वटै खेल जितेर ८ अंकका साथ समूह ए को शीर्ष स्थानमा रहेको छ भने एपिएफ ३ खेलमध्ये २ मा पराजित र १ खेलमा जित हात पार्दै २ अंकका साथ पुछारमा छ।

टस हारेर ब्याटिङ गरेको एपिएफले निर्धारित २० ओभरको खेलमा १९ दशमलव २ बलमा सबै विकेट गुमाई १३९ रनको स्कोर बनाएको थियो। 

एपिएफका लागि सुमित महर्जनले ३३ बलमा २ छक्का र ३ चौका प्रहार गरि ३३ रन बनाउँदा कप्तान भुवन कार्कीले २५ रन, पूरन विकले २३ रनको योगदान दिए। 
आर्मीका सुमित श्रेष्ठले ३ विकेट लिँदा तृतराज दासले २ विकेट लिए।

जवाफमा १४० रनको लक्ष्य पाएको आर्मीले १८ दशमलव ३ बलमा ६ विकेट गुमाई सो विजयी लक्ष्य पार गरेको थियो।

आर्मीको जितमा प्लेयर अफ द म्याच वसिर अहमदले ३९ बलमा २ छक्का र ३ चौका प्रहार गरि अविजित ४६ रनको पारी खेले भने सन्दिप रजालीले २६ रन बनाउँदा रमेश भट्टले २२ रनको महत्वपूर्ण योगदान दिए। 

एपिएफका भुवन कार्कीले २ विकेट लिँदा यज्ञमान कुमालले पनि २ विकेट लिए।

बिहीवारको पहिलो खेल मधेश प्रदेश र एपिएफ तथा दोस्रो खेल नेपाल पुलिस र बागमतीबीच हुने मोरङ क्रिकेट संघका अध्यक्ष महमद साद बाबु कुरैसीले जानकारी दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.