खेलकुदमन्त्री श्रेष्ठसँग पनि गरे छलफल

|

काठमाडौँ : अन्तरराष्ट्रिय  क्रिकेट काउन्सिल (आईसीसी) का अध्यक्ष ग्रेग बार्कलेले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग शिष्टाचार भेट गरेका छन्। 

प्रधानमन्त्री निवास बालुवाटारमा उनीहरूबीच आज (बुधवार) भएको भेटमा नेपालको क्रिकेट विकासका विविध विषयमा छलफल भएको थियो। 

भेटमा प्रधानमन्त्री प्रचण्डले आइईसीसीका अध्यक्षको नेपाल भ्रमणले नेपाली क्रिकेटले प्राथमिकता र महत्त्व पाएको बताए। 

“नेपाल सरकारले क्रिकेट रङ्गशालालाई राष्ट्रिय गौरवको योजनाका रूपमा निर्माण गर्ने निर्णय गरेर क्रिकेट पूर्वाधारलाई निकै प्राथमिकता दिएको छ”, प्रधानमन्त्री प्रचण्डले भने, “सन् २०२७ को ‘यू–१९ वुमन वर्ल्ड कप’का लागि नेपाल सरकारले निकै महत्त्व दिएको छ। आईसीसीबाट पनि महत्त्वपूर्ण सहयोग हुने अपेक्षा गरेका छौँ।”

अध्यक्ष बार्कलेले नेपाली क्रिकेटको विकासका लागि आईसीसीले सहयोग गर्ने बताए। भेटमा सरकारका मुख्यसचिव डा बैकुण्ठ अर्याल र नेपाल क्रिकेट संघका पदाधिकारीको सहभागिता थियो।

खेलकुदमन्त्री श्रेष्ठसँग छलफल

प्रधानमन्त्री प्रचण्डसँग भेट गर्नुअघि आईसीसीका अध्यक्ष बार्कले र युवा तथा खेलकुदमन्त्री विराजभक्त श्रेष्ठबीच सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा छलफल भएको छ।

छलफलमा नेपाली क्रिकेटको विकास र अभिवृद्धिबारे विशेष कुराकानी भएको थियो। नेपालमा क्रिकेटको बढ्दो लोकप्रियता र अन्तरराष्ट्रिय मञ्चमा यसको महत्वलाई पहिचान गर्दै नेपालको क्रिकेट विकासको प्रयासलाई सहयोग गर्न आईसीसी उत्साहित र प्रतिबद्ध रहेको मन्त्री श्रेष्ठसँग अध्यक्ष बार्कलेले जानकारी गराए।

मन्त्री श्रेष्ठले आईसीसीले नेपालमा गरेको सहयोगलाई स्वागत गर्दै क्रिकेटलाई युवा सशक्तीकरण र राष्ट्रिय गौरवको माध्यमका रूपमा प्रवर्द्धन गर्न मन्त्रालय अडिग रहेकोमा जोड दिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.