|

काठमाडौँ : नेपालमा पहिलो पटक महिला न्यायाधीशको राष्ट्रिय सम्मेलन भोलि (शुक्रवार) शुरु हुने भएको छ।

राष्ट्रिय न्यायिक प्रतिष्ठान र न्यायाधीश समाज नेपालको संयुक्त आयोजनामा हुने ‘न्यायिक प्रणालीमा लैङ्गिक समानताको अभिवृद्धि : हाम्रो प्रतिबद्धता’ नाराका साथ हुने सम्मेलनको प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले उद्घाटन गर्ने कार्यक्रम छ।

सर्वोच्च अदालतका न्यायाधीश तथा समाज नेपालमा अध्यक्ष सपना प्रधान मल्लले महिला न्यायाधीशको समस्या, चुनौती पहिचान गरी व्यावसायिक दक्षता वृद्धि गर्न सम्मेलन आयोजना गर्न लागेको जानकारी दिइन्। 

सर्वोच्च अदालतमा आज (बिहीवार) आयोजित पत्रकार सम्मेलनमा उनले न्याय क्षेत्रमा महिलाको प्रभावकारी सहभागिता वृद्धिलगायत समग्र विषयमा छलफल गरिने जानकारी दिइन्।

शुक्रवार र शनिवार दुई दिनसम्म चल्ने सम्मेलनमा न्यायिक समुदायभित्र सहयोग, सशक्तीकरण र वकालतको अनुभव, विचार आदानप्रदान गर्नुका साथै न्यायिक क्षेत्रमा काम गर्ने महिलाबीच एकता र सञ्जाल निर्माण, नेतृत्व विकास र सशक्तीकरणलगायतको विषयमा छुट्टाछुट्टै कार्यशाला हुनेछ।

नेपालमा सर्वोच्च अदालतसहित ४३ महिला न्यायाधीश रहेका छन्। तीमध्ये सर्वोच्च अदालतमा ३, उच्च अदालतमा मुख्य न्यायाधीश एक र न्यायाधीश २१, जिल्ला न्यायाधीश १८ गरी ४३ रहेका छन्। 

सम्मेलनमा महिला न्यायाधीशसहित न्याय सेवा, कानुन सेवा र सरकारी वकिल महिलाको सहभागिता हुनेछ। सम्मेलनले समापनमा घोषणापत्रसमेत जारी गर्नेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.