कुल क्षमता १५ मेगावाट‚ उत्पादन ४/५ मेगावाट मात्र

|

बर्दघाट : पश्चिम नवलपरासीमा रहेको गण्डक जलविद्युत् केन्द्रको टर्बाइन बजेट अभावमा मर्मत हुन सकेको छैन। मुलुककै पुरानोमध्येको उक्त जलविद्युतमा १५ वर्षदेखि टर्बाइन बिग्रिएको छ।

प्रतापपुर गाउँपालिका–७ गुठ्ठी सूर्यपुरास्थित जलविद्युत् केन्द्रका उपकरण पुरानो हुनुका साथै जीर्ण बन्दै गएको छ। नेपाल–भारत गण्डक सम्झौताअनुसार भारतले सन् १९७९ मा निर्मित केन्द्र ३१ अगस्ट १९८१ मा नेपाललाई हस्तान्तरण गरेको थियो। 

करिब ४३ वर्ष पुरानो गण्डक जलविद्युतमा मर्मत र पूर्वाधार विकासको अभाव देखिएको केन्द्रका प्रमुख पीताम्बर भुसालले बताए।

उनका अनुसार १५ मेगावाट विद्युत् उत्पादन क्षमता भएको उक्त केन्द्रले अहिले ४ देखि ५ मेगावाटसम्म विद्युत् उत्पादन गरिरहेको छ। 

३ वटा टर्बाइन भएको जलविद्युत् केन्द्रका २ टर्बाइनले मात्र विद्युत् उत्पादन गरिरहेको छ भने एउटा टर्बाइन बिग्रेर थन्केको प्रमुख भुसालले जानकारी दिए। उनका अनुसार बजेट अभावले गर्दा टर्बाइनको मर्मत नभएको हो।

जलविद्युत् केन्द्रका अन्य उपकरण पनि पुराना भएका छन्। 

“केही समय पहिला एउटा टर्बाइनले मात्र विद्युत् उत्पादन गर्ने अवस्था थियो। केही समयपछि बनाएर अहिले २ टर्बाइनले विद्युत् उत्पादन गरिरहेका छन्”, प्रमुख भुसालले भने, “विद्युत् उत्पादनका लागि उक्त जलविद्युत् केन्द्रमा पानीको मात्रा पनि पर्याप्त छैन।”

दुई देशको दुईपक्षीय सम्झौताअनुसार पानीको मात्र घटाउने–बढाउने भारतीय पक्षको जिम्मामा रहेकाले पर्याप्तमात्रामा पानी नपाएको गुनासो उनले गरे। 

विद्युतका विभिन्न उपकरण मर्मत तथा भौतिक अवस्था सुधार गर्नका लागि स्रोत खोजी भइरहेको प्रमुख भुसालको भनाइ छ।

विद्युत् प्राधिकरण, ऊर्जा मन्त्रालय र सम्बन्धित निकायको ध्यान नजाँदा अहिले उक्त केन्द्र जीर्ण बनेको छ। धेरै पुरानो प्रविधिका कारण क्षमतामा ह्रास आएको जलविद्युत् केन्द्रका प्रमुख भुसालले बताए।

“पुरानो उपकरणकै कारणले पनि भारतको विहार वाल्मीकि नगरबाट लिने विद्युत पनि पूर्ण क्षमतामा लिन नसक्ने अवस्था छ”, उनले भने।

यहाँको उपकरण र विद्युत भोल्टेजले पुराना उपकरणलाई जलाउनसक्ने भुसालको भनाइ छ। जलविद्युत् केन्द्रका क्यानलमा सिल्ट (बालुवा) भरिएर पनि विद्युत उत्पादनमा समस्या भएको उनले जानकारी दिए।

“गण्डक व्यारेज त्रिवेणीमा सिल्ट (बालुवा) थिग्य्राउने उपकरण भए पनि काम लाग्ने अवस्थामा छैन”, प्रमुख भुसालले भने। अहिले गण्डक जलविद्युत् केन्द्रमा रहेका उपकरणलाई परिवर्तन गरी सुधार गर्नुपर्ने आवश्कता देखिएको उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.