|

काठमाडौँ : समयमै पहिचान गरेर नियमित ६ महिनादेखि ९ महिनासम्म औषधि सेवन गरेमा पूर्ण सन्चो हुने क्षयरोगबाट नेपालमा वार्षिक १८ हजारले ज्यान गुमाउँछन्।

यति मात्रै होइन पछिल्ला वर्षहरूमा औषधि प्रतिरोधी क्षयरोगका विरामी पनि बढ्न थालेका छन्। राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रका अनुसार गत आवमा मात्रै २ हजार ९ सयजना क्षयरोगका विरामीमा औषधि प्रतिरोधी भएको अनुमान गरिएको थियो। तीमध्ये ६९३ जना क्षयरोग औषधि प्रतिरोधी विरामी फेला परेका थिए।  तीमध्ये ५४६ विरामी उपचारको दायरामा आएर पुनः औषधि सेवन गरेका थिए।

यसरी क्षयरोग औषधि प्रतिरोधी विरामी बढ्न थालेपछि नेपाल विश्वमा औषधि प्रतिरोधी क्षयरोगको उच्च भार भएका ३० देशमध्येमा परेको छ। केन्द्रका निर्देशक  डा. प्रज्ज्वल श्रेष्ठले भने‚ ‘हाम्रोमा औषधि प्रतिरोधी क्षयरोगका विरामी बढ्नु चिन्ताजनक हो तर हामीले यस्ता विरामीलाई पत्ता लगाएर उपचारको दायरामा ल्याउने प्रयास गरेका छौँ। अर्को सुखद कुरा नियमित र पूर्ण औषधि सेवन गरेका विरामीमा उपचार सफलतादर ९२.४ प्रतिशत रहेको छ। यो विश्वमै क्षयरोगको उपचारमा सफलता पाउनेमध्येकै सबैभन्दा धेरै पनि हो।’

नेपालमा वार्षिक ७० हजारजना क्षयरोगका नयाँ विरामी हुने अनुमान

नेपालमा वार्षिक ७० हजारको हाराहारीमा क्षयरोगका नयाँ विरामी थपिने गरेको विश्व स्वास्थ्य संगठनको अनुमान छ। तीमध्ये ४५ प्रतिशतभन्दा बढी विरामी उपचारभन्दा बाहिर रहेका छन्। केन्द्रका निर्देशक डा. श्रेष्ठले अहिले क्षयरोगीमध्ये अझै पनि ४५ प्रतिशतलाई उपचारको दायरामा ल्याउन नसकिएको बताउँछन्।

‘हाम्रा लागि एउटा यही चुनौतीको विषय छ। अझै पनि ७० हजारमध्ये यो वर्ष जम्मा ३७ हजार ४४७ जना विरामीलाई मात्रै उपचारको दायरामा ल्याउन सकिएको छ। यसमा पनि पुरुषभन्दा महिला कम हुनुहुन्छ। हाल उपचारको दायरामा आउनेमध्ये ३५ प्रतिशत महिला र ६५ प्रतिशत पुरुष हुनुहुन्छ तर हामीले सम्पर्कमा नरहेका विरामीलाई पनि खोजी गरी उपचारको दायरामा ल्याउने प्रयास भने गरिरहेका छौँ’‚ डा. श्रेष्ठले भने।

मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा क्षयरोगी धेरै

यसैगरी विरामीमध्ये ७२ प्रतिशत फोक्सोको क्षयरोग भएको पाइएको र अन्य २८ प्रतिशतमा अन्य अंगमा लाग्ने क्षयरोग रहेको समेत डा. श्रेष्ठले जानकारी दिए। यस्तै प्रदेश स्तरमा हेर्ने हो भने मधेश, बाग्मती र लुम्बिनी प्रदेशमा क्षयरोगका विरामी (६८ प्रतिशत) रहेका छन्।

भौगोलिक हिसाबले हेर्ने हो भने नेपालमा पहाडी भेगमा भन्दा धेरै कलकारखाना, इँटाभट्टा हुने तराई भूगोलमा (६० प्रतिशत) क्षयरोगका विरामी रहेका छन्।

कुपोषण भएका, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेहका विरामी, मद्यपान गर्ने मानिस, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसमा क्षयरोगको जोखिम धेरै हुने गरेको पाइन्छ।

माइक्रोब्याक्टेरियम ट्युबरक्लोसिस नामक जीवाणुको संक्रमणका कारण हुने संक्रमणजन्य सरुवा रोग क्षयरोग श्वासप्रश्वासको माध्यमबाट सर्ने हुँदा क्षयरोगका जोखिम समूहमा रहेका व्यक्तिले हाछ्यूँ गर्दा सकभर मुख छोप्ने, मास्क लगाएर हिँड्नुपर्ने डा. श्रेष्ठको भनाइ छ।

‘कुपोषण भएका, धुम्रपान तथा सुर्तीजन्य पदार्थको सेवन, मधुमेहका विरामी, मद्यपान गर्ने मानिस, एचआइभी संक्रमित, रोग प्रतिरोधात्मक क्षमता कम भएका मानिसलाई क्षयरोगको जोखिम समूहमा राखिन्छ। त्यसैले यस्ता समूह तथा अन्य समूहका मानिसले पनि तौल कम हुने, खानामा रुचि कम हुने, दुई हप्ताभन्दा बढी समय एकनासले खोकी लाग्ने, राति ज्वरो आउने जस्ता लक्षण देखिए एकपटक क्षयरोगको परीक्षण गराउनु उपयुक्त हुन्छ’‚ डा. श्रेष्ठले भने।

हाल देशभरका सरकारी स्वास्थ्य संस्थामा क्षयरोगको औषधि सरकारले निःशुल्क दिँदै आएको छ ।

क्षयरोग नियन्त्रणका लागि के गर्दै छ सरकार?

पूर्ण उपचार गरे पूर्ण सन्चो हुने क्षयरोगका कारण हरेक वर्ष धेरै नेपालीले ज्यान गुमाउन थालेपछि पछिल्ला वर्षमा नेपालमा क्षयरोग संक्रमण नियन्त्रण पनि जनस्वास्थ्यको चुनौती बनेको छ। जसले गर्दा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले राष्ट्रिय क्षयरोग नियन्त्रण केन्द्रको अगुवाइमा क्षयरोग नियन्त्रण अभियान सञ्चालन गरिएको छ।

क्षयरोग सरुवा रोग भएकाले यसको समयमै निदान र उपचार गर्न जरुरी रहेको भन्दै क्षयरोगका लक्षण भएका र जोखिम समूहमा पर्नेले एकपटक आफ्नो जाँच गर्ने विभिन्न कार्यक्रम सञ्चालन गरिएको छ। यस्तै क्षयरोगमुक्त नेपाल अभियानमार्फत १२५ स्थानीय तहमार्फत क्षयरोग नियन्त्रणका लागि परीक्षण तथा खोज अनुसन्धान गरिरहेको र सबै स्थानीय तहमा विस्तार गरिदै लगिने केन्द्रले जनाएको छ।

राष्ट्रिय र विश्वव्यापी प्रतिबद्धताअनुरूप नेपालले क्षयरोगविरुद्धको लडाइँलाई साकार पार्न सन् २०२१/२२-२०२५/२६ सम्मको बृहत् राष्ट्रिय रणनीतिक योजना तयार गरेको छ। यो महत्त्वाकांक्षी योजनाले सन् २०५० सम्म क्षयरोगमुक्त नेपाल बनाउने लक्ष्य लिएको छ।

राष्ट्रिय क्षयरोग रणनीतिक योजनाको कार्यान्वयन गरी नेपालले नयाँ क्षयरोग विरामीदर र मृत्युदर घटाउने, सन् २०३५ सम्म क्षयरोगको महामारी अन्त्य गर्ने, सन् २०५० सम्म क्षयरोग विरामीदर र मृत्युदर शून्यमा झार्ने र क्षयरोग निवारण गर्ने सरकारले लक्ष्य लिएको छ। मार्च २४ मा विश्व क्षयरोग दिवस मनाउने गरिन्छ। यस वर्षको विश्व क्षयरोग दिवसको नारा ‘हो, हामी क्षयरोग अन्त्य गर्न सक्छौं’ भन्ने रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.