|

काठमाडौँ : त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले अनलाइन सेवा शुरु गरेको एक महिना नाघेको छ। इतिहासमै पहिलोपटक त्रिवि परीक्षा नियन्त्रण कार्यालय (पनिका)ले माघ १५ गते अनलाइन सेवा शुरु गरेको थियो तर अनलाइन सेवा शुरु गरेको भोलिपल्टै अर्थात् माघ १६ गते नै पनिका बल्खुको वेबसाइट (tuexam.edu.np) सामान्य ह्याकरको नियन्त्रणमा पुगेपछि वेबसाइट चलेन।

फेरि त्रिविले सेक्युरिटी अडिट कार्य सम्पन्न भएको भन्दै फागुन ६ गते आइतबारदेखि अनलाइन सेवा पूर्ण रूपमा सञ्चालन भएको जनाएको थियो। तैपनि विद्यार्थीहरू उत्तिकै बल्खुस्थित पनिकाको कार्यालयमा विद्यार्थीहरू धाइरहेका छन्। शुक्रबार थाहाखबरकर्मी पनिका पुग्दा निकै भीडभाड थियो। विद्यार्थीहरू कोठा कोठा धाइरहेका थिए।

उनीहरूसँग कुराकानी गर्दा कतिपय विद्यार्थीहरूले अनलाइन सेवाबारे जानकारी नभएको बताए भने जानकारी पाएकाहरूले विश्वास नलागेको भन्दै कार्यालयमै धाएको प्रतिक्रिया दिए। केही भने अनलाइनबाट सेवा लिन खोज्दा समस्या देखिएको भन्दै कार्यालयमै आएको जानकारी दिए। 

नयाँबजारबाट आएका कृष्णप्रसाद दाहालले अनलाइनबाट सेवा लिन पटक पटक प्रयास गर्दा पनि नमिलेपछि कार्यालयमै आउन बाध्य भएको जानकारी दिए। त्रिविले कार्यालयबाट प्रदान गर्ने ट्रान्सक्रिप्ट, प्रोभिजनल प्रमाणपत्र, पुनर्योग, प्रतिलिपि, विवरण सच्याउने लगायतका सेवा अनलाइनबाटै लिन सकिने जानकारी दिएको थियो।

यसैगरी त्रिविले अनलाइन सेवाबाट सेवा सुविधा लिने विद्यार्थीहरूको प्रमाणपत्र सम्बन्धित क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालयमार्फत वितरण गर्ने भनेको थियो तर दाहालले भने यी कुनै सेवा लिन नसकेको बताए। 

उनले भने, ‘अनलाइनबाटै सेवा लिन पटक पटक फारम भर्न ट्राइ गरे तर मिलेन, त्यही भएर यही आएको हुँ।’ उनले भौतिक उपस्थितिमै स्नातक तहको ट्रान्सक्रिप्टका लागि फारम भरेर बुझाइसकेका छन्। ‘यहाँका कर्मचारीहरूले अब १५ दिनपछि आउनु भनेका छन्’, उनले भने।

त्रिविले सहज रूपले अनलाइन सेवा दिन सकेको भए विभिन्न जिल्लाबाट धाउनुपर्ने बाध्यता अन्त्य हुने उनले बताए। ‘तर यहाँबाट सेवा लिन गाह्रो छ, कहिले के मिल्दैन, कहिले के’, उनले भने।

ट्रान्सक्रिप्ट लिन लाइनममै भेटिए नयाँबानेश्वरका सन्तोष बिक पनि। उनले भने त्रिविको अनलाइन सेवामा विश्वास नलागेको बताए। उनले भने, ‘पहिला त्रिविले अनलाइन सेवा ल्यायो भन्ने सुनिन्थ्यो, पछि ह्याक भयो भन्छन्, पछि सञ्चालनमा आयो कि आएन थाहा भएन, विश्वास पनि लागेन, वेबसाइट नै ह्याक भएपछि जोखिम देखियो। त्यही भएर म आफैँ यहाँ आएको हुँ। यहाँ आएर भरेपछि समस्या पनि हुँदैन।’ 

‘त्रिविको अनलाइन सेवा प्रभावकारी छैन’

त्रिवि,केन्द्रीय क्याम्पस कीर्तिपुरका स्ववियु सभापति श्यामराज ओझाले त्रिविको अनलाइन सेवा प्रभावकारी नदेखिएको बताउँछन्। उनले भने, ‘त्रिविले अनलाइन सेवा सञ्चालन गर्‍यौँ त भन्यो तर प्रभावकारी देखिएन।’

उनका अनुसार अनलाइन शुरु गरेदेखि चैत ३ गतेसम्म ७३ जनाले मात्रै अनलाइन फारम भरेका छन्। ‘त्रिविले बाहिर मिडियामा चाहिँ २ हजार जनाले अनलाइन सेवा लिए भन्ने रहेछ। त्यो होइन, मैले त्यही आइटी विभागमा गएर हेर्दा ७३ जनाले मात्रै अनलाइन फारम भरेका थिए, ती फारम भर्नेहरूले ट्रान्सक्रिप्ट पाए कि पाएनन् भन्ने समेत कुनै अत्तोपत्तो छैन, त्रिविले उनीहरूलाई सम्पर्क गर्ने नम्बर, इमेल समेत राखेको देखिएन’, उनले भने।

उनले निरन्तर प्रभावकारी रूपमा अनलाइन सेवा दिन त्रिविको ध्यानाकर्षण गराउँदै आएको बताए। ‘हामीले देखिएका कमी कमजोरी तुरुन्तै सच्याउन खबरदारी गर्दै आएका छौँ। उनीहरूले ६,७ दिनभित्र कमजोरी पत्ता लगाई सेवा दिने प्रतिबद्धता जनाएका छन्’, उनले भने।

कुनै पनि प्रमाणपत्रका लागि पैसा तिर्नुपरेमा बैंकमा घण्टौँ लाइन बस्नुपर्ने बाध्यता पनि कायमै छ। ‘हामीले पैसा पनि क्युआरबाट नै तिर्ने व्यवस्था गर्नुपर्छ भन्ने माग गरिरहेका छौँ’, उनले भने। स्ववियुले अपेक्षित सेवा दिन नसके कुर्सी खाली गर्न त्रिविका उपकुलपति लगायत पदाधिकारीहरूलाई चेतावनी दिइसकेका छन्। 

अनलाइन सेवा प्रभावकारी हुँदै गएको छ : त्रिवि

पनिका कार्यालय धाउनुपर्ने बाध्यता कायमै रहँदा यता त्रिविले भने अनलाइन सेवा प्रभावकारी हुँदै गएको दाबी गरेको छ। पनिकाको आइटी विभाग प्रमुख दीपकबहादुर शाहीले भने, ‘अनलाइन सेवा राम्रै छ, हामीले झनै नयाँ ढंगले जाने गरी काम गर्दै पनि आएका छौँ।’

हालसम्म कति विद्यार्थीले अनलाइन सेवा लिए भन्ने प्रश्नमा भने उनले जानकारी दिन चाहेनन्। त्रिवि पनिकाले चैत ७ गते एक सूचना जारी गरी अनलाइन फारम तथा रजिष्ट्रेशन पोर्टलका लागि प्रत्येक क्याम्पस कलेजहरूको आधिकारिक विवरण चाहिएको भन्दै सम्बन्धित सबै क्याम्पसलाई सम्पूर्ण आधिकारिक विवरण भरेर पठाउन निर्देशन भने दिइसकेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.