|

काठमाडौँ : राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्यसचिव टंकलाल घिसिङले खेलकुदको सरोकारवाला निकाय राखेपले प्रस्ताव नै नगरेको वा जानकारीमा नै नभएको शिर्षक बजेटमा समावेश भएर आउने गरेको गुनासो गरेका छन्। 

राखेपद्वारा मंगलवार आयोजित खेलकुदमा योजना र बजेट कस्तो? शिर्षकमा भएको अन्तरक्रियामा सदस्यसचिव घिसिङले उक्त दुःखेसो गरेका हुन्। 

राखेपले नबनाएको योजना, परिकल्पना, प्रस्ताव बजेटमा समावेश हुँदै आएकाले गलत अभ्यासको सामना गर्नुपरेको सदस्यसचिव घिसिङको भोगाइ छ। 

खेलकुदमा यसै पनि थोरै बजेट हुने र त्यसमा पनि कार्यक्रमहरू गर्न आफ्नो नियन्त्रणमा नहुने बजेट आउनुले समस्या भइरहेको उनको बुझाइ छ।

उनले खेलकुदको निकायसँग प्राविधिक जानकारी नै नलिइ रंगशाला बनिरहेको भन्दै चर्को आलोचना गरे। सम्बन्धित खेलविज्ञ, खेल संघ या सरोकारवाला निकायसँग नै छलफल नगरी मापदण्डविपरीत केही संरचना बनिरहेको उल्लेख उनले गरे। 

खेलकुद संरचना बन्नु राम्रो पक्ष भए पनि त्यसको प्राविधिक पक्षबारे जाँच गराएर मात्र संरचना बनाउन उनले आग्रह गरेका छन्। 

सदस्यसचिव घिसिङले सातै वटा प्रदेशमा भएका भौतिक पूर्वाधारको अवस्थाबारे परिषद्ले मूल्यांकन गरिरहेको उल्लेख गर्दै त्यसको स्तरोन्नति र संरक्षणका लागि स्थानीय निकायलाई सहभागी गराउने गरी योजना बनिरहेको बताए। परिषद्ले आफैँले राख्नुपर्ने संरचनाबाहेक अधिकांश संरचना स्थानीय निकायलाई सुम्पिने उनले बताए।

उनले खेल्ने मैदान या कभर्डहल बनाउनुभन्दा पनि ठूलाठूला रंगशाला निर्माण गर्न होडबाजी भइरहेको उल्लेख गर्दै त्यसो गर्न रोक्नुपर्ने बताए। 

प्रत्येक नगरपालिका या वडामा पनि स्टेडियमभन्दा पनि ट्रेनिङ सेन्टर बनाउन स्थानीय निकायलाई आग्रह गरे। खेलाडी पलायन रोक्न आगामी बजेटमा केही योजनाहरू समावेश हुने राखेप सदस्यसचिव घिसिङको विश्वास छ। 

खेलाडी स्वरोजगारका निम्ति केही आफ्नै मन्त्रालयअन्तर्गत युवा स्वरोजगारसँग सहकार्यमा केही कार्यक्रमहरू बजेटमा उल्लेख गर्ने आशा उनले व्यक्त गरे। उनले न्यूनतम ब्याजदरमा खेलाडीलाई ऋण उपलब्ध गराउने जस्ता योजना बनिरहेको पनि बताए।

खेलाडी पुरस्कारमा ढिलाई भइरहेको अवस्थामा अबको बजेटमा रातो किताबमा नै पुरस्कार शिर्षकमा बजेट समावेश हुने वातावरण बनाउने प्रयास भइरहेको सदस्यसचिव घिसिङ विश्वास छ। 

खेलाडीले यति सफलता पाउँछन् र यति मात्रामा पुरस्कार रकम आवश्यक हुन्छ भन्ने पूर्वनिर्धारण गर्न नसकिए पनि निश्चित रकम भने बजेटमा राख्ने उनको विश्वास छ। आगामी बजेटमा खेलाडीको स्वास्थ्य बिमालगायत विषय समावेश हुने उनको भनाइ छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.