|

काठमाडौँ : स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १० औँ सम्मेलन बुधबार देखि काठमाडौँमा शुरु हुने भएको छ।

स्वास्थ्य अनुसन्धान परिषदले आफ्नो स्थापनाको सन्दर्भ पारेर हरेक वर्ष  स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको सम्मेलन गर्दै आएको छ। त्यसैअनुरूप यस वर्ष यही चैत २८, २९ र ३० गते  १०औँ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकको शिखर सम्मेलन गर्न लागेको परिषदका सदस्य सचिव डा प्रमोद जोशीले बताए। 

यस पटक सम्मेलनमा ७५ वटा अनुसन्धानमूलक पेपरहरुको मौखिक तथा २६३ वटा पोष्टरको प्रस्तुतीकरण हुने डा जोशीले बताए। सम्मेलनका लागि ३५७ वटा मौखिक तथा पोस्टर प्रस्तुतीकरणका लागि संक्षिप्त लेख प्राप्त भएका थिए। तीमध्ये मापदण्ड पुगेकालाई मात्र मौखिक तथा पोस्टरलाई प्रस्तुतिका लागि छनोट गरिएको हो।

परिषदका सदस्य सचिव डा जोशीले भने‚ 'यसअघि जसरी हाम्रा अध्ययन अनुसन्धानले स्वास्थ्य क्षेत्रमा नीति निर्माणको लागि टेवा पुगेको थियो त्यस्तै टेवा पुग्ने गरी यस पटक पनि अध्ययन अनुसन्धानका प्रस्तुतीकरण गर्दै छौँ‚ यसले पक्कै हाम्रो स्वास्थ्य क्षेत्रमा भोलिका दिन अपनाउनु पर्ने रणनीति निर्माणमा मद्दत पुग्नेछ।'  

साथै यस पटकको सम्मेलनमा भारत, स्वीजरल्याण्ड, बेलायत, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिकालगायत देशबाट पनि स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताको पनि सहभागी हुने पनि उनले बताए।

परिषदका प्रमुख अनुसन्धान अधिकृत डा मेघनाथ धिमालका अनुसार जलवायु परिवर्तनको असर तथा नसर्ने रोगहरुको अवस्थालगायत विषयमा गरिएका अध्ययन अनुसन्धानलाई यसपटक प्रमुख प्राथमिकता तथा छलफलको विषय बनाइएको छ। 

स्वास्थ्य क्षेत्रका अनुसन्धानकर्ताहरू, नीति निर्माता‚ विकासका साझेदारबीच छलफल गरी सरकारलाई स्वास्थ्य क्षेत्रका मुद्दाहरुको अन्तर विषयात्मक नवीनतम अनुसन्धानबाट सम्बोधन गर्न विसं २०७१ (सन् २०१५) देखि वर्षेनि परिषदले सम्मेलन आयोजना गर्दै आइरहेको छ।

सम्मेलनले अनुसन्धानमार्फत सहकार्यलाई प्रवर्द्धन गर्ने तथा योजना र विकासमा टेवा पुऱ्याउने लक्ष्य राखेको छ।

स्वास्थ्यसम्बन्धी नीति र अभ्यासलाई मूर्त रुप दिन‚ अनुसन्धानलाई प्रभावकारी रूपमा नीति र योजनामा पुऱ्याउन यस्ता सभा सम्मेलनको आवश्यकता परिषदले महसुस गरेको छ।

सम्मेलनले स्वास्थ्य र जनसंख्या अनुसन्धान प्रवर्द्धन गर्न र राष्ट्रिय स्वास्थ्य प्राथमिकताबारे छलफल गर्न अनुसन्धानकर्ताहरू, स्वास्थ्य तथा जनसंख्याका साझेदारहरू, शिक्षाविद्हरू, चिकित्सकहरू र नीति निर्माताहरूलाई एकै मञ्चमा ल्याउनेछ।

नेपालको वित्तिय स्वास्थ्य, प्रमाणमा आधारित औषधि र चिकित्सा अभ्यास, प्रभावकारी र उत्तरदायी स्वास्थ्य प्रणाली, गुणस्तरीय र समतामूलक स्वास्थ्य सेवा, वातावरणीय स्वास्थ्य र जलवायु परिवर्तन, सर्ने तथा नसर्ने रोगहरू, मानसिक स्वास्थ्यलगायत १५ वटाभन्दा बढी विषयमा सामूहिक छलफल हुनेछ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.