जनक शिक्षा भन्छ- दोष फेरि हामीमाथि थोपरिने भयो

|

काठमाडौं : स्थानीय तहले समयमा बजेट निकासा नगर्दा छापिसकेको नयाँ पाठ्यपुस्तक सम्बन्धित गोदाममै थन्किएको छ। सरकारको स्वामित्वमा रहेको जनक शिक्षा सामग्री केन्द्र लिमिटेडले पुस्तक छापेर पुर्‍याए पनि विद्यालय र पाठ्यपुस्तक बिक्रेताहरू अझै लिन आएका छैनन्।

स्थानीय तहको यही लापरबाहीले पठनपाठन शुरू भइसक्दा पनि विद्यार्थीहरूले पुस्तक पाउन सकेका छैनन्।  सरकारले वैशाख २ गतेदेखि देशभर नयाँ शैक्षिक सत्र २०८१ को लागि भर्ना अभियान शुरू गरिरहेको छ। अधिकांश शहरी क्षेत्रमा भर्ना सकेर पनि पठनपाठन शुरू भइसकेको छ तर पुस्तक भने पुगेको छैन। 

जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरका अनुसार स्थानीय सरकारले विद्यालयलाई किताब खरिद गर्ने रकम निकासा नगर्दा गोदाममै पुस्तक थन्किएको छ। उक्त कार्यालयले ७ जिल्लामा किताब वितरणको जिम्मा पाएको छ।

जनक शिक्षा सामग्री केन्द्र बागमती प्रदेश कार्यालय भरतपुरका प्रमुख धनबहादुर केसीले भन्छन्, ‘स्थानीय तहले नयाँ पाठ्यपुस्तक खरिदका लागि विद्यालयलाई रकम निकासा गर्नुपर्ने हुन्छ तर बजेट निकासा भएको पाइएन।’

उनका अनुसार सम्बन्धित स्थानीय तहहरूले विद्यालयको खातामा पुस्तक खरिदका लागि रकम जम्मा नगरेपछि चितवन र मकवानपुर जिल्लाका विद्यालयले आफ्नै स्रोतले खरिद गरेर लगेका छन् तर यसरी सबै विद्यालयले भने लैजान सकेका छैन।

उनले भने, ‘रौतहट र तनहुँमा चैत १५ र १६ गते, बारामा १७ र १८ गते पुस्तक बिक्री वितरण गर्ने हाम्रो योजना थियो तर केही मात्रै पाठ्यपुस्तक बिक्रेताहरू आए। यसो बुझ्दा अरू स्थानीय तहले बजेट निकासा नगरेकाले लिन नआएको जानकारी पाइयो।’

पछि ती जिल्लाका पुस्तक बिक्रेताहरूले पुस्तक लिन आएको जानकारी उनले दिए तर अझै सबैले पुस्तक लगेका छैनन्।

उनले भने, ‘पठनपाठन शुरू भइसक्यो तर अझै ३५ प्रतिशत पुस्तक यहीँ थन्किएको छ, लिनै आएनन्।’ उनका अनुसार १३ लाख ५१ हजार थान पुस्तकमध्ये हालसम्म ९ लाख ५६ हजार थान पुस्तक मात्रै लगेका छन्। 

‘हाम्रो कार्यालयले चैत १३ गतेबाट नै किताब बिक्री शुरु गरेको हो, समयमा सम्बन्धित ठाउँमा पुस्तक पुर्‍याउन सक्ने हाम्रो क्षमता छ तर बजेटकै कारण रोकिएको हो। स्थानीय तहले यसलाई गम्भीरतापूर्वक लिनुपर्‍यो,’ उनले भने। 

जनक शिक्षा भन्छ- स्थानीय तहका कारण दोष हामीमाथि थोपरिने भयो

जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी रवीन्द्रकुमार शर्माका अनुसार विभिन्न गोदाममा अझै २० प्रतिशत पुस्तक थन्किएको छ।

‘हामीले समयमै पुस्तक छापिसकेर सम्बन्धित ठाउँमा पुर्‍याएका हौँ तर स्थानीय तहले बजेट निकासा नगर्दा २० प्रतिशत पुस्तक गोदाममै थन्कियो, त्यसैले ८० प्रतिशत मात्रै सम्बन्धित ठाउँमा पुस्तक पुगेको छ,’ उनले भने।

उनका अनुसार नयाँ शैक्षिक सत्रको लागि १ करोड ७५ लाख थान नयाँ पाठ्यपुस्तक जनक शिक्षाले छापेको छ। कक्षा ५ देखि १२ सम्मको पाठ्यपुस्तक छपाइको जिम्मेवारी जनक शिक्षाले पाएको थियो भने शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कक्षा १ देखि ४ सम्म निजी क्षेत्रका छापाखानालाई छपाइ तथा वितरणको जिम्मेवारी दिएको थियो।

जनक शिक्षाका अनुसार यी छापिसकिएका पुस्तक जनक शिक्षाका केन्द्रीय कार्यालय बजार व्यवस्था विभाग, प्रदेश १ कार्यालय विराटनगर, मधेश प्रदेश कार्यालय जनकपुर, बागमती प्रदेश कार्यालय भरतपुर, गण्डकी प्रदेश कार्यालय पोखरामा पठाइएको छ।

यसैगरी कर्णाली प्रदेश कार्यालय सुर्खेत, सुदूरपश्चिम प्रदेश कार्यालय धनगढी र प्रादेशिक प्रेस नेपालगञ्जमा पुस्तक पठाइसकिएको छ।

शिक्षामन्त्रीबाट छिटो पहल गर्न माग

स्थानीय तहकै कारण समयमा पुस्तक विद्यार्थीको हातमा नपुगे यसको दोष भने जनक शिक्षामाथि आउने जनक शिक्षा सामग्री केन्द्र लिमिटेडका सूचना अधिकारी शर्माले बताए। त्यसैले छिटो शिक्षा मन्त्रीबाट स्थानीय तहहरूलाई झक्झक्याउनुपर्ने माग उनले गरे।

‘हामीले नयाँ पाठ्यपुस्तक छापिसकेर पनि चैत १५ गतेबाट बिक्रीवितरण थालेका थियौँ तर स्थानीय तहले बजेट नै निकासा गर्दैनन्, उनीहरूकै कारण यसको दोष भने हामीले लिनुपर्ने?, मिडियाले छिटो शिक्षामन्त्रीलाई यो समस्या समाधान गरिदिनु भनी माग गरिदिनुहुन अनुरोध छ,’ उनले भने।

शिक्षा तथा मानव स्रोत विकास केन्द्रले २०८१ को नयाँ शैक्षिक सत्रका लागि पाठ्यपुस्तक खरिद गर्न मंसिर महिनामै ३ अर्ब ५७ करोड ९८ लाख ९० हजार विनियोजन गरी सबै स्थानीय तहलाई हस्तान्तरण गरिसकेको थियो। तर सबै स्थानीय तहहरूले भने नयाँ शैक्षिक सत्र शुरू भइसक्दा पनि उक्त रकम विद्यालयलाई दिन आनाकानी गरिरहेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.