|

काठमाडौं : आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट निर्माण सम्बन्धमा अर्थमन्त्री वर्षमान पुनले पूर्वअर्थमन्त्रीहरूसँग सुझाव लिएका छन्। 

अर्थमन्त्री पुनले बुधबार पूर्वअर्थमन्त्री डा. प्रकाशशरण महत, डा. युवराज खतिवडा, डा. प्रकाशचन्द्र लोहनी, विष्णुप्रसाद पौडेल, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा र शंकरप्रसाद कोइरालासँग बुधबार साँझ बानेश्वरस्थित एक होटलमा सुझाव लिएका हुन्। 

पूर्वअर्थमन्त्रीहरूले महात्त्वाकांक्षी र ‘पपुष्लिट’ नभई कार्यान्वयन हुन सक्ने गरी यथार्थपरक बजेट ल्याउन सुझाव दिए। उनीहरूले बजेटको आकार नबढाउन पनि अर्थमन्त्रीको ध्यानाकर्षण गरे। यस्तै उनीहरुले राष्ट्रिय गौरवका आयोजना, राष्ट्रिय प्राथमिकताप्राप्त आयोजना र बहुवर्षीय ठेक्का स्वीकृत भएका चालु आयोजनाबाहेक विनातयारीका योजनामा बजेट विनियोजन नगर्न भने।

 ‘बजेटको आकार ठूलो नबनाउनुस्। जे पजि गर्छु भन्ने टाइपका नल्याउनुस्’, निवर्तमान अर्थमन्त्री महतले भने, ‘पपुलिज्मको पछाडि कोही लाग्नु हुँदैन। कार्यान्वयन नहुने कुरा गरेर पछि हल्का हुने काम नगर्नुस्।’ 

अर्का पूर्वअर्थमन्त्री खतिवडाले पनि यो कार्यकाल नै अन्तिम हो भन्ने ठानेर पपुलिष्ट बजेट नल्याउन सुझाए। उनले बजेटको आकार अनावश्यक ठूलो बनाउने प्रवृत्तिले कार्यान्यवन नै नहुने समस्या विकास भएको भन्दै बजेटको साख गिराउने काम गर्न नहुने धारणा राखे। ‘हामीले विगतदेखि नै बजेटको साख गिराउने काम गर्दै आएका छौँ’, उनले भने, ‘यो पटक पनि राष्ट्रिय योजना आयोगले दिएको १८ खर्बको बजेटको सिलिङ ठूलो हो।’ 

पूर्वअर्थमन्त्री लोहनीले देशको अर्थतन्त्र संकटउन्मुख रहेको भन्दै एक जना अर्थमन्त्रीले मात्र चाहेर सुधार गर्ने ठाउँ नहुने विचार राखे। त्यसका लागि प्रधानमन्त्रीदेखि मन्त्रिपरिषदका सबै, राजनीतिक दल र राज्य संयन्त्र नै सक्रिय हुनुपर्ने उनको भनाइ छ। ‘एकजना अर्थमन्त्रीले मात्र चाहेर केही गर्न सक्दैन’, उनले भने, ‘नीति निर्माता सबैले सोच्नुपर्छ। अरु मन्त्रालयको पनि सहभागिता चाहिन्छ।’ 

मन्त्री पुनले पूर्वअर्थमन्त्रीका सुझावलाई मनन गरी बजेट निर्माण गर्ने बताए। उनले विकास र सुशासनलाई साथै लग्ने तथा उत्पादन र रोजगारी वृद्धि गर्ने खालको बजेट ल्याउने प्रतिबद्धता जनाए। उनले अर्थतन्त्रलाई तीव्रता दिन वस्तुगत बजेट बनाउने भन्दै अर्थमन्त्रीहरूका सुझावलाई ‘गाइड लाइन’का रूपमा ग्रहण गर्ने बताए।

कार्यक्रममा अर्थसचिव मधुकुमार मरासिनी, राजस्वसचिव डा. रामप्रसाद घिमिरे, बजेट लेखन समिति संयोजक सहसचिव धनिराम शर्मा, सहसचिव बजेट महाशाखा प्रमुख रितेशकुमार शाक्य, महेश आचार्य, ईश्वरी अर्याल, पार्वती शर्मा र रामप्रसाद आचार्यलगायत  सहभागी थिए।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.