|

काठमाडौं :  इलाम क्षेत्र नम्बर–२ र बझाङ प्रदेशसभा १ ‘क’ मा उपनिर्वाचन अन्तर्गत अहिले शान्तिपूर्ण रुपमा मतदान भइरहेको छ। इलाम–२ मा दिउँसो साढे २ बजेसम्ममा करिब ४५ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिए।

यस्तै महेन्द्र रत्न बहुमुखी क्याम्पसमा रहेको मतदान केन्द्रबाट प्रहरीले नक्कली मतपत्रसहित चार जनालाई पक्राउ गरेको बाहेक अन्य स्थानमा शान्तिपुर्ण रुपमा मतदान भइरहेको घिमिरेले बताए। इलाम–२ मा एक लाख १५ हजार आठ सय ८९ मतदाता कायम छन्। उनीहरुका लागि ७९ मतदान स्थल र एक सय ४९ वटै मतदान केन्द्रमा मतदान गर्ने व्यवस्था मिलाइएको छ। इलाममा एक जना किरियापुत्रीले पनि मतदान गरेका छन्। आमाको किरिया बसेका रजिन खड्काले दृपादेवी आधारभूत विद्यालय मतदान केन्द्र क मा पुगेर मतदान गरेका हुन्। मतदान गर्न पाउने आफ्नो अधिकार प्रयोग गरेर अरु मतदातालाई मतदानको महत्व बुझाउन किरिया बसेको समयमा पनि मतदान केन्द्रमा आएको खड्काले प्रतिक्रिया दिए।

बझाङ प्रदेशसभा १ मा ४२ दशमलव ४२ प्रतिशत मतदान सम्पन्न भएको छ। दिउँसो पौने ३ बजेसम्ममा २६ हजार १९६ मत खसेको मुख्य निर्वाचन अधिकृत सुदर्शन लामिछानेले थाहा सञ्चार नेटवर्र्कलाई जानकारी दिए।

उनका अनुसार हालसम्म शान्तिपुर्ण रुपमा मदान भइरहेको छ। सो क्षेत्रमा कुल ६१ हजार ७ सय ४८ मतदाता रहेका छन्। बझाङमा एक प्रदेशसभा चुनिनका लागि ७४ मतदान स्थलका ९३ मतदान केन्द्रमा मतदान भइरहेको छ।

इलाम–२ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य नेकपा एमालेका नेता सुवासचन्द्र नेम्वाङको हृदयाघात भएर र बझाङ–१ का प्रदेशसभा सदस्य नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंहको सवारी दुर्घटनामा निधन भएपछि रिक्त भएका ती स्थानमा आज उपनिर्वाचन भइरहेको हो।

मतदान सकिएलगत्तै मतपेटिका संकलन गरी आजै मतगणना सुरु गर्ने निर्वाचन आयोगको तयारी छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.