|

काठमाडौं : विश्व आदिवासी दिवसको अवसरमा गत वर्ष झैँ यो वर्ष पनि प्रज्ञा भवनमा कार्यक्रम भयो। कार्यक्रममा प्रमुख अतिथि थिए प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड। 

‘पहिचान र अधिकारसहितको संघीयता, आदिवासी जनजातिको अडान, अपुरो, अधुरो संविधान संशोधनका लागि हाम्रो साझा अभियान’ नारा राखिएको कार्यक्रममा मन्तव्य राखेका वक्ताले नारालाई सापटी लिएर प्रचण्ड र कार्यक्रमका विशिष्ट अतिथि रामचन्द्र पौडेलमाथि व्यंग्य गरे। आदिवासी जनजातिको माग सम्बोधनमा बेइमानी गरेको भन्दै उनीहरुले प्रचण्ड र पौडेलमाथि आक्रोश समेत पोखे।

कार्यक्रममा देखिएका ५ दृश्य यस्ता थिए। 

१. थप जिज्ञासा


कार्यक्रममा स्वागत मन्तव्य राख्दै नेपाल आदिवासी जनजाति महासंघका कोषाध्यक्ष जगत बरामले सोमबार हेलिकोप्टर दुर्घटनामा परी मृत्यु भएका नेपाल आदिवासी जनजाति महासंघ झापा जिल्लाका अध्यक्ष भक्त लिम्बुका छोरा रञ्जन लिम्बुसहित मृतकलाई श्रद्धान्जली व्यक्त गरे। उनले रञ्जन लिम्बुको नाम संगठनसँग जोडेपछि प्रधानमन्त्री प्रचण्डले महासंघका केन्द्रीय अध्यक्ष तथा कार्यक्रमका सभापति नगेन्द्र कुमालसँग जिज्ञासा राख्दै जानकारी लिए। 

२. झुक्किए प्रचण्ड र पौडेल


कार्यक्रममा राष्ट्रिय गान बज्यो। राष्ट्रिय गानपछि आदिवासी जनजाति गीत बजाउन भन्दै कार्यक्रम सञ्चालकले प्राविधिकलाई आग्रह गरे। तर प्रधानमन्त्री प्रचण्ड र पौडेल भने राष्ट्रिय गान सकिनेबित्तिकै कुर्सीमा बसिहाले। सबैजना उठेर आदिवासी गीत बजेपछि पौडेल यताउता हेर्दै उठे। पौडेल उठेलगत्तै प्रधानमन्त्री पनि उठे।

३. प्रधानमन्त्री र पौडेलको काँधमा ढोल

कार्यक्रम उद्घाटनमा नयाँ दृश्य देखियो। आयोजकले किराँत समुदायको बाजा आयोजकले प्रचण्ड र पौडेलको गलामा थमाइदिएपछि कार्यक्रम हल हाँसो र तालीले गुन्जियो। आयोजकले गलामा राखिदिएको ढोल थाम्न नसकेपछि प्रचण्डले त्यसलाई काँधमा सारे। अनि पौडेल र प्रधानमन्त्रीले ढोल बजाउँदै कार्यक्रमको उद्घाटन गरे।

४. रामचन्द्रमाथि व्यंग्य, प्रचण्ड मसक्क !

कार्यक्रममा मन्तव्य राख्दै तमु छोधिका अध्यक्ष रेशम गुरुङले आदिवासी मन्त्रालयको माग गरे। उनले पौडेललाई व्यंग्य गर्दै हुनेवाला प्रधानमन्त्री पौडेल उपस्थित रहेको बताएपछि प्रचण्ड मसक्क हाँसे। ‘वर्तमान प्रधानमन्त्री र हुनेवाला प्रधानमन्त्रीलाई म प्रश्न गर्न चाहन्छु, पुशपंक्षीको नाममा मन्त्रालय हुने, तर आदिवासीको नाममा किन नहुने ?’ गुरुङले जवाफ मागेका थिए।

५. प्रधानमन्त्री–पौडेलबीच मञ्चमै सहमति


कार्यक्रम चल्दै गर्दा प्रधानमन्त्री प्रचण्ड र कांग्रेस वरिष्ठ नेता पौडेलबीच मञ्चमै छलफल भयो। प्रधानमन्त्री प्रचण्ड र पौडेलबीच मञ्चमै विश्व आदिवासी दिवसलाई सरकारी मान्यता दिने सहमति भयो। प्रमुख प्रतिपक्षी दलको हैसियतले पौडेलले पहल थाल्ने विश्वास दिलाएपछि प्रचण्डले आफू नेतृत्वकै सरकारले दिवसलाई सरकारी मान्यता दिने घोषणा गरे।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.