छानबिन गर्न स्थानीयको माग

|

लहान : सप्तरी जिल्ला सदरमुकाम राजविराजको मध्यभागमा पर्ने राज रंगशालाको खेलमैदान स्तरोन्नति कार्यमा अनियमितता भएको भन्दै स्थानीयवासिन्दाले छानबिनको माग गरेका छन्। जिल्ला खेलकुद विकास समिति र ठेकेदार कम्पनीको मिलेमतोमा रंगशालाको खेलमैदानको गुणस्तरहीन काम गरी आर्थिक अनियमितता गरिएको आरोप लगाउँदै स्थानीयले छानबिनको माग गरेका हुन्।

पछिल्लो आर्थिक वर्षको मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी उदय निर्माण सेवाले कुल २५ लाख रुपैयाँ बजेटमा खेलमैदान स्तरोन्नतिको काम गरिरहेको छ। रंगशालाको खेल मैदानमा १ सय २० मिटर लम्बाइ, १ सय ७ मिटर चौडाइ र ३० सेन्टिमिटर मोटो हुने गरी माटो भर्ने र रोलिङ गरी खेलमैदान सम्याएर समतल बनाउनुपर्ने ठेक्का सम्झौतामा उल्लेख छ ।

तर, ठेक्काको सर्तअनुसार काम नहुँदा अहिले पनि खेलमैदान नयाँ देखिने गरी काम गरेको नदेखिएको स्थानीय महेश्वर भारतीले बताए। रंगशालाको मर्मत सम्भारका नाममा भएको आर्थिक अनियमितताको छानबिन गरी कारबाही गरिनुपर्ने भारतीले माग गरे।

रंगशालाको खेल मैदानको स्तरोन्नति सम्झौताअनुसार काम नभए भुक्तानी रोकिने खेलकुद विकास समिति सप्तरीका प्रमुख महेन्द्र यादव बताउँछन्। करिब एक दशक अघिसम्म राष्ट्रियस्तरका खेलकुद प्रतियोगिता हुँदै आएको यो रंगशाला बनेको चार दशक बित्नलाग्दा पनि मर्मत सम्भार नभएपछि जीर्ण बन्दै गएको छ। ठेकेदार कम्पनीका दीपक दासले भने वर्षाका कारण स्टिमेट अनुसारको काम गर्न नसकिएको स्वीकार्दै भने, ‘आफ्नै ठाउँको रंगशालामा राम्रो काम गर्ने नै हो तर, वर्षातको मौसमले केही अप्ठ्यारोमा पारेको छ।’

०३६ सालमा तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुङको पालामा निर्माण भएको राज रंगशाला मुलुककै पुराना रंगशालामध्ये मानिन्छ।  दुई बिघा ७ कठ्ठा १३ धुर क्षेत्रफलमा रहेको रंगशालामा कुल ७ हजार दर्शकको क्षमता भएको प्याराफिटसमेत रहेको छ।

पछिल्लो समय रंगशालाको पर्खाल ठाउँ-ठाउँमा भत्किएको छ भने प्रवेशद्वारसमेत खुला रहेकाले रंगशाला बटुवाहरुको खुला शौच गर्नेस्थल बनेको छ। रंगशालाको पूर्वी भागको प्याराफिटमुनि करिब २० विपन्न परिवारले बारेर कोठा बनाई प्रयोग गर्दै आएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.