|
फोटो : indianexpress.com

काठमाडौं : मन्त्रालय फुटाएको, ६ जना उपप्रधानमन्त्री बनाएको र ठूलो मन्त्रिपरिषदका अघिल्ला प्रधानमन्त्री केपी शर्मा ओली आलोचित भए। सायद तीनै घटनाबाट पाठ सिकेर होला अहिलेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड त्यस्ता घटनाबाट जोगिने तयारीमा थालेका छन्। उनले राज्यको आर्थिक स्रोतलाई ध्यानमा राख्दै नतिजामुखी काम गर्ने बताउँदै आएका छन्। सरकारले मन्त्रालयको संख्या बढाउने, मन्त्रीको संख्या थप्ने जस्ता प्रक्रियामुखी भन्दा नतिजामुखी काम गर्ने उनको दावी छ। यस क्रममा प्रधानमन्त्री प्रचण्डले अघिल्ला प्रधानमन्त्रीले भन्दा केही फरक काम गर्न खोजेको उनीनिकटका नेताहरु बताउँछन्। के के हुन् त ती काम? 

१. सानो आकारको मन्त्रिपरिषद्

प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद्को आकार सक्दो सानो बनाउने भएका छन्। निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओलीले राज्यमन्त्री र सहायकमन्त्री समेत गरी ४१ सदस्यीय मन्त्रिपरिषद् बनाएका थिए। प्रधानमन्त्री प्रचण्डले त्यो भन्दा सानो आकारको मन्त्रिपरिषद् बनाउने भएका छन्। ‘ओलीजीले जस्तो ४१ सदस्यीय मन्त्रिपरिषद् अहिले हुँदैन, राज्यको स्रोतलाई ध्यानमा राखी हामीले जतिसक्दो सानो मन्त्रिपरिषद् बनाउँछौँ, पार्टीमा पनि त्यही सहमति भएको छ’ माओवादी केन्द्रका नेता वर्षमान पुनले भने। 

२. फुटाएको मन्त्रालय गाभ्ने 

प्रधानमन्त्री प्रचण्डले पूर्व प्रधानमन्त्री ओलीले फुटाएका मन्त्रालय जोड्ने तयारी गरेका छन्। ओलीले कृषिबाट पशु र आपूर्ति तथा वाणिज्यलाई छुट्याई ४ वटा मन्त्रालय थप गरेको थियो। प्रधानमन्त्रीले त्यसलाई त्यसलाई एकीकृत गर्ने गृहकार्य भइरहेको प्रचण्ड निकट मानिने नेता पुनले बताए। नतिजामुखी प्रशासन बनाउनका लागि प्रचण्ड सरकारले फुटाइएका मन्त्रालय गाभ्ने  उनले बताए।

३. उपप्रधानमन्त्रीको संख्या घटाउने

केपी शर्मा ओली नेतृत्वको सरकारमा ६ जना उपप्रधानमन्त्री थिए। सरकार टिकाउनका लागि धेरै दललाई मन्त्रिपरिषदमा सहभागी गराउन धेरै उपप्रधानमन्त्री बनाएको भन्दै ओलीको आलोचना पनि भएको थियो। सचिवालयका अनुसार २ जना मात्रै उपप्रधानमन्त्री बनाउने प्रधानमन्त्री प्रचण्डको तयारी छ। यद्यपी मधेसी मोर्चालाई सरकारमा ल्याएको खण्डमा उपप्रधानमन्त्रीको संख्या बढ्नेछ। तैपनि प्रधानमन्त्री प्रचण्डले उपप्रधानमन्त्रीको संख्या ६ जना भने नपुर्‍याउने उनको सचिवालयले जनाएको छ। 

४. सहायकमन्त्री नबनाउने, राज्यमन्त्री थोरै 

प्रधानमन्त्री प्रचण्डले सहायकमन्त्री नबनाउने भएका छन्। एउटै मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री आवश्यक नभएको भन्दै सहायकमन्त्री नबनाउने भएका हुन्। त्यससँगै प्रचण्डले राज्यमन्त्री समेत थोरै बनाउने भएका छन्। ‘एउटै मन्त्रालयमा मन्त्री, राज्यमन्त्री र सहायकमन्त्री आवश्यक छैन’ नयाँ गठबन्धन निर्माणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका नेता पुनले भने, ‘प्रचण्ड नेतृत्वको सरकारले सहायकमन्त्री बनाउने छैन।’ 

५. सानो आकारको सचिवालय

प्रधानमन्त्री प्रचण्डले आफ्नो सचिवालयको आकार पनि सानो बनाउने भएका छन्। धेरै जनाको सचिवालय बनाउँदा राज्यलाई आर्थिक भार हुने भएकाले सानो आकारको सचिवालय बनाउने भएका हुन्। प्रधानमन्त्रीले मन्त्रीहरुलाई पनि सक्दो सानो आकारको सचिवालय बनाउन निर्देशन दिएका छन्। ‘राज्यलाई आर्थिक भार पर्न मात्रै ठूलो आकारको सचिवालय नबनाउने प्रधानमन्त्रीको तयारी छ, ठूलो आकारको सचिवालय यो पटक बन्दैन’ प्रधानमन्त्री प्रचण्डका स्वकीय सचिव प्रकाश दाहालले भने।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.