उदयपुर : माओवादी केन्द्रका केन्द्रीय नेता तथा पूर्वसञ्चारमन्त्री राम कार्की उदयपुरबाट चुनाव लड्ने भएका छन्। माओवादी केन्द्र उदयपुरले २१ मंसिरमा हुने संघ र प्रदेशको निर्वाचनको लागि उम्मेदवार सिफारिस गर्दै कार्कीको नाम पनि उदयपुरबाटै सिफारिस गरेको हो।
उदयपुरको नयाँ निर्वाचन क्षेत्र नम्बर २ कटारी क्षेत्रबाट केन्द्रीय प्रतिनिधिसभाको सदस्यको चुनाव लड्ने पक्का पक्की भएपछि कार्कीको नाम उदयपुरबाट सिफारिस गरिएको हो। माओवादी केन्द्रको बिहीबार र शुक्रबार बसेको जिल्ला सचिवालयको बैठकले केन्द्र र प्रदेशका उम्मेदवारको सिफारिस गर्दै कार्कीलाई उदयपुरको पश्चिमी भागबाट चुनाव लडाउने तयारी थालेको छ।
माओवादी स्रोतका अनुसार पूर्वसञ्चार मन्त्री एवं माओवादीका वरिष्ठ नेता राम कार्की संघ (केन्द्र) को उदयपुरको क्षेत्र नम्बर दुईबाट चुनाव उठ्ने भएका छन। क्षेत्र नं. २ मा राम कार्कीको साथै मोहनबहादुर खत्री, केपी बरालको समेत नाम सिफारिस भएको छ। तर, चुनावमा राम कार्की उदयपुर आउने भएपछि कार्कीको नाम उदयपुरबाट सिफारिस गरिएको जनाइएको छ।
कुन क्षेत्रबाट को?
माओवादी उदयपुरका सहसंयोजक जीवनकुमार कार्कीका अनुसार एक नम्बर क्षेत्रबाट सुरेशकुमार राई, मीनबहादुर ठकुरी र पुष्प बस्नेत सिफारिस भएका छन्। संघको प्रतिनिधिसभा निर्वाचनमा सिफारिस हुने रामकार्की मात्र नयाँ अनुहार हुन्।
उनीबाहेक जिल्ला इन्चार्जसमेत रहेका मोहन बहादुर खत्री पहिलो संविधानसभामा उदयपुर क्षेत्र नम्बर ३ बाट निर्वाचित र ०७० को चुनावमा नेपाली कांग्रेसका नारायणबहादुर कार्कीसँग पराजित बनेका नेता हुन्।
केपी बराल स्थानीय निर्वाचनमा कटारी नगरपालिका प्रमुख पदमा पराजित भई आराम गरिरहेका छन्। भने क्षेत्र नं १ बाट प्रतिस्पर्धा गर्ने शुरेस राई दोस्रो संविधानसभाको चुनावमा उदयपुर क्षेत्र नम्बर २ बाट चुनावमा पराजित भएका थिए। त्यसैगरी, मीनबहादुर ठकुरी र पुष्प बस्नेतको नाम सिफारिसको लागि सिफारिस मात्र गरिएको जनाइएको छ।
माओवादी केन्द्र उदयपुरका सहसंयोजक द्रोण पौडेल नीरजले दिएको जानकारीअनुसार बेलका र चौदण्डी भूगोलको प्रदेशको निर्वाचन क्षेत्रमा गणेश थाम्सुहाङ, कुमार सिंह कार्की र राकेश किरातीको सिफारिस भएको छ। त्यसैगरी, त्रियुगा नगरपालिका क्षेत्रको प्रदेश जीवनकुमार कार्की, रामबहादुर थापा मगर र बिमल किराती रहेका छन्।
उता, रौतामाई, उदयपुर गढी र सुनकोसी गाउँपालिका सहितको प्रदेशमा नारायण बुर्जा, काजिमान तामाङ र एबिराज राई उठ्न सिफरिसमा भएका छन्। त्यसैगरी, कटारी नगरपालिका र ताप्ली गाउँपालिका भूगोल रहेको क्षेत्रमा जिल्ला संयोजक विनोद कटुवाल, हालका सभासद् भेषकुमारी राउत र हेमराज दाहाल रहेका छन्।
संघको समानुपातिक को को परे?
सांसदका लागि भीमबहादुर अधिकारी (अनिल), मणिखुम्बु किराती र भीमबहादुर विक सिफारिसमा परेका छन्। संघको उम्मेदवारमा सिफारिस नामहरु पुरुष उम्मेदवार मात्र रहेका छन्।
भने प्रदेशको चार वटा क्षेत्रमा हालका सांसद भेषकुमारी राउत एक्ली महिला उम्मेदवारको रुपमा सिफारिसमा परेकी छन्। प्रदेशको समानुपातिक सूचीमा प्रत्येक क्षेत्रबाट तीन÷तीनजना उम्मेदवारको नाम सिफारिस भएको छ।
समानुपातिकको सिफारिसमा समेत अधिकांश पुरुष नेता नै बसेका छन्। जसमा प्रदेशको वेलका-चौदण्डी भूगोल मानेर राजन किराती, सम्झना तामाङ र दिलकुमारी मगर रहेका छन। उनीहरुमध्ये सम्झना तामाङ प्रदेशको प्रत्यक्ष उम्मेदवारमा सिफारिस परेका गणेश थाम्सुहाङको पत्नी र दिल कुमारी संघको समानुपातिकमा सिफारिस भीम बहादुर अधिकारी अनिलका पत्नी हुन्।
संविधानसभाको दुईटै चुनावमा पराजित भएका राजन किराती यसपटक समानुपातिकतर्फ सिफारिस भए। त्रियुगाको समानुपातिक उम्मेदवारमा दोण पौडेल, पृथ्वी विक र गंगाधर चौधरी रहेका छन्।
गाउँपालिका मात्र रहेको प्रदेश समानुपातिक उम्मेदवारमा सेतीमाया आले, झनक बिक होम किराती छन् भने कटारी नगरपालिका सहितको प्रदेशमा भगवती खनाल, ढुंगराज विक, झन्डबहादुर राई र काजिलाल दनुवार सिफारिसमा परेका छन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।