|
फोटो : nepalitummy.blogspot.com

भक्तपुर :  आज तिहारको चौंथो दिन, गोवर्धन पूजा। हिन्दू नेपालीहरुले गाईको गोबरबाट गोवर्धन पर्वत बनाएर पूजा गर्ने गर्छन्। आज गाई र गोरुको समेत विशेष पूजा गरिन्छ। तर नेवार समूदायले भने आज म्ह:पूजा गर्छन्। म्ह:पूजाको शाब्दिक अर्थ शरीरको पूजा हो। यस दिनलाई नेवार समुदायले नेपाल सम्वतको नयाँ वर्षको रुपमा समेत मनाउने गर्छन्।

म्ह:पूजाको लागि सबैभन्दा पहिले तेलको घेरा, पिठो, अक्षता, लावा, मास र कालो भटमास लगायतको प्रयोग गरेर मण्डप बनाइन्छ। मण्डपमा बिमिरो, भोगटे, सुन्तला, ओखर, कटुस, स्याउ, अमला, मौसम, चाक्सी, उखु, हलुवावेद, वयर लगायतका फलफूल सजाइन्छ। म्ह:पूजा होस् या भाइटीका, नेवार समुदायले विशेष खालको माला (कोखा) लगाउने गर्छन्। काँचो धागोमा रंगीविरंगी कपडाको टुक्राहरु राखेर कोखा बनाइन्छ।

म्ह:पूजा गर्न घरको मूलीदेखि लस्करै मण्डपअघि घरपरिवारका सबै सदस्य बस्छन्। पूजा भने घरको नकीं (मुली महिला) ले गर्ने परम्परा छ। शरीरमा तीन पटकसम्म मुटुमारी (चामलको रोटी) सहित पञ्चरंगी फूलका टुक्रा, अमला, ओखर आदि राखेर पूजा गरिन्छ। अनि आफूले मान्नुपर्नेसँग टीका लगाई फूलमाला पहिरी अण्डा, माछा र रक्सी सगुन हातमा लिएर खाने परम्परा छ।

यो पूजा आफनो शरीरमा लागेको पाप र रोग आदि सबै नास होस्, आयु लामो होस् भन्ने कामनाका साथ गरिन्छ। यो पूजा गर्नुअघि घरमा प्रयोग हुने कुचो, नाङ्लो, चुलो, गाग्री, लगायतका सामानहरुलाई समेत पूजा गर्ने प्रचलन रहेको छ।

नेवार समुदायमा म्ह:पूजाको विधि ठाउँ अनुसार फरक फरक पाइन्छ। तर सारमा पूजा गर्नुको उद्देश्य भने एउटै रहेको संस्कृतिकर्मीहरु बताउँछन्।

समाजशास्त्र र प्राकृतिक दृष्टिकोणले म्ह:पूजा भन्नाले आत्मपूजाका रुपमा लिन सकिने पुरोहित तथा संस्कृतिकर्मी हरिशरण राजोपाध्याय बताउँछन्। उनका अनुसार मानव समाजमा आत्मा भन्दा ठूलो केही पनि छैन, यही आत्मालाई शान्ति र सन्तुष्टी मिलोस् भनी म्ह:पूजा गरिन्छ। 'आत्मसन्तुष्टी नै सबभन्दा ठूलो सन्तुष्टी हो। यही म्ह:पूजाको सेरोफेरोमा रहेर हामी काग, कुकुर, गाई, गोरुको पनि पुजा गछौं', उनी भन्छन्, 'हाम्रो शरीर पञ्च तत्वले बनेको हुन्छ। यी पाँच तत्वको रुपमा हामी तिहारमा गरिने पूजालाई लिन सक्छौं।' चेतनशील प्राणीहरुले आफ्नो शरीरको रक्षा गर्न र शरीर सधैं स्वस्थ राख्न यो पूजा गर्नुपर्ने राजोपाध्यायको भनाइ छ। म्ह:पूजा मानव सभ्यता, संस्कृति, धार्मिक र आध्यात्मिक पक्षसँग मात्र नभई मानव विकासक्रमसँग जोडिएको संस्कृतिकर्मीहरु बताउँछन्।

म्ह:पूजाको दिनदेखि नेपाल सम्वतको नयाँ वर्ष पनि सुरु हुन्छ। आजदेखि नेपाल संवत १९३८ सुरु भएको छ। कृषि कर्म गर्नुपर्ने भएकाले नेवार समुदायले वर्षको पहिलो दिन वर्षभरी कुनै रोगव्याधीले नसताओस् र शरीर सधैं तन्दुरस्त होस् भन्ने कामनाले पनि म्ह: पूजा गर्ने अर्का संस्कृतिकर्मी ओम धौभडेल बताउँछन्।

म्ह:पूजा कहिलेदेखि सुरु भएको वा कसले चलाएको भन्ने बारे यकीन प्रमाण त छैन तर यो पर्व नेवार समुदायले लिच्छवीकालदेखि नै मनाउँदै आइरहेको धौभडेल बताउँछन्।

म्ह:पूजाको दिनदेखि राष्ट्रिय विभूति शंखधर साख्वाले तत्कालिन समयमा सबै जनतालाई ऋणबाट मुक्त गराएको भनाइ रहिआएको छ। शंखधरले सबैको ऋण चुक्ता गरेको स्मरणमा नेपाल सम्वत शुरु भएको कथन पाइन्छ। सो कथन अनुसार एक दिन भक्तपुरका राजा आनन्द मल्ललाई एकजना प्रख्यात ज्योतिषीले शास्त्र हेरी शुभ मुर्हुतमा विष्णुमति र भद्रमतिको बीचमा रहेको चखुंतीर्थबाट ल्याएको बालुवा सुनमा परिणत हुने बिन्ती चढाए। सोही अनुसार चार जना भरियालाई राजा आनन्द देवले गोप्य रुमा चंखुतीर्थमा बालुवा लिन पठाए।

ती भरियाहरु बालुवा लिएर गइरहेको कान्तिपुरका चलाख व्यापारी शंखधर साख्वाले देखे र भक्तपुरदेखि यहाँसम्म बालुवा लिन आउनुको कारण खोज्न थाले। उनले बालुवामा केही रहस्य भएको शंका गरी ती भरियाहरुलाई लोभमा पारेर थप ज्याला दिई बालुवाका भारीहरु आफ्नो घरमा खन्याउन लगाई भक्तपुरका राजाका निम्ति अर्को बालुवा लिन पठाउँछन्।

भोलिपल्ट बालुवा सुनमा परिणत भएको पाएपछि शंखधरले कान्तिपुरका राजा जयदेवसँग अनुमति लिएर सो सुनबाट दुनियाँको ऋण चुक्ता गरे। सोही खुशियालीमा आज पनि नेपाल सम्वतलाई धुमधामका साथ मनाउने गरिन्छ।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.