|

  • भूपाल थापा-

कपिलवस्तुः पूर्व–पश्चिम राजमार्गअन्तर्गतको कपिलवस्तु सडक खण्डमा असोज महिनाभित्र चार वटा सडक दुर्घटना भए। दुईवटा बस तथा दुईवटा ट्रक दुर्घटनामा परे। तीन जनाको मृत्यु भयो भने एक जना गम्भीर घाइते भए। 

राजमार्गमा हाल हुने गरेका यस प्रकारका साना ठूला दुर्घटना सडकको दूरवस्था र त्यसमाथि चल्ने तीब्र गतिका साधनका कारण हुने गरेका छन्। पूर्व–पश्चिम राजमार्गअन्तर्गत कपिलवस्तुमा पर्ने ६२ किमी क्षेत्रको अधिकांश सडक खण्ड जीर्ण बनेको छ। कोठी खोलादेखि धानखोलासम्मको कालोपत्रे सडक अहिले सवारी साधनका लागि एम्बुस सरह बनेको छ। 

बढ्दो सवारी चाप, सवारी ओभरलोड, कमसल सडक निर्माण तथा मर्मतले यतिखेर राजमार्गको अधिकांश भाग जीर्ण छ। नेपालकै ‘लाइफ लाइन’ मानिने यो सडक अहिले दुर्घटनाको मुख्य कारण बन्दै गएको छ। विशेषगरी कोठी खोला, बनगाई, गोरुसिंगे, डुमरा तथा शिवपुरदेखि धानखोलासम्मको १६ किमी सडक जर्जर अवस्थामा छ।

ठूलाठूला खाडल, उप्किएको कालोपत्रे, भत्किएका सडक र सडक किनारका संरचनाले सडकमा हिँड्ने यात्रुले सास्ती भोग्न बाध्य छन्। डिभिजन सडक कार्यालयले जीर्ण सडक टालटुल गरे पनि हप्ता दिन बढी नटिक्ने पश्चिम नेपाल बस व्यवसायी संघका चालक कृष्ण आचार्य बताउँछन्। ‘सुगम भएर पनि दुर्गममा झैँ गाडी चलाउनुपरेको छ’, उनी भन्छन्।

डिभिजन सडक कार्यालय शिवपुर भने सडक पुरानो भएकाले मर्मत गरेर मात्रै नहुने बताउँछ। डिभिजनका प्रमुख इन्जिनियर रमेश पौडेल सडकको चाप र ओभरलोडका कारण म्याद अगावै सडक जीर्ण बन्ने गरेको दाबी गर्छन्। ‘यो सडक ४५ वर्ष पुरानो भइसक्यो, यसलाई भत्काएर अर्को नबनाउँदासम्म सडकको अवस्थामा सुधार आउँदैन’, पौडेल भन्छन्। 

यसका लागि माथि पहल गरेको र केही बजेट यस वर्ष आउने उनको भनाइ छ। सडक कार्यालयले तत्कालका लागि भने जीर्ण सडक मर्मतका लागि टेन्डर सूचना प्रकाशित गरिसकेको छ। तर अत्यधिक सवारी चापका कारण सडक राम्ररी मर्मत तथा निर्माण गर्न नसक्नु अर्को समस्या रहेको सडक इन्जिनियरहरू बताउँछन्। ‘वैकल्पिक मार्ग नहुँदा मर्मत तथा नयाँ निर्माण गर्न निकै समस्या छ’, इन्जिनियर मनीष साहले भन्छन्। 

यता, सडककै कर्मचारी र ठेकेदारको लापरवाहीले गुणस्तरीय सडक निर्माण नहुने गरेको गुनासो स्थानीयवासीको छ। हालै मात्र सडक रिसिलिङ भइरहेका स्थानमा कमसल काम भएको भन्दै स्थानीयवासीहरूले विरोध गर्दै आएका छन्। 

बुद्धभूमि नगरपालिकाअन्तर्गतको पूर्व–पश्चिम राजमार्गको इमिलिया खण्डमा भइरहेको रिसिलिङ कार्यमा ठेकेदारले थोरै विटमिन प्रयोग गरेको र गुणस्तरहीन जिरागिट्टी प्रयोग गरेको स्थानीय समाजसेवी भूपाल लामिछानेको आरोप छ। ‘रिसिलिङ गरेको एक सातामै सबै जिरा उप्किएर सडक किनारमा पुगेको छ’, लामिछानेको भनाइ छ।

कमसल कामबारे सडक र साइट इन्जिनियरलाई गुनासो गरे पनि कुनै सुनुवाइ नभएको उनको गुनासो छ। पूर्व–पश्चिम राजमार्गको १५ किमी र मर्यादपुर–तौलिहवाको ११ किमी सडक रिसिलिङ गर्न डिभिजन सडक कार्यालयले अमर कन्स्ट्रक्सनलाई चार करोड पाँच लाख रुपैयाँमा ठेक्का दिएको छ। 

सडक जीर्ण हुनुको अर्को मुख्य कारण देखिएको ओभरलोड नियन्त्रणप्रति पनि आशंकाहरू देखिएका छन्। उक्त सडकमा ६ चक्के ट्रकले ८ र १२ चक्केले १६ टनका दरले ढुवानी गर्न पाउँछ। सडक सुरक्षा र यातायात कानुन व्यवस्थापनको जिम्मेवारी पाएको ट्राफिक प्रहरीले काम गरेको देखिए पनि चुहावट भने उत्तिकै छ। कुनै बेला ओभरलोड गाडी देख्नेवित्तिकै कारवाही गरिहाल्ने ट्राफिक प्रहरी अहिले भने सुस्त देखिएको छ। माथिल्लो निकाय र व्यक्तिको दबाब तथा यातायात व्यवसायी संघसँगको मिलेमतोमा कपिलवस्तु ट्राफिक प्रहरीले जरिवाना काटेर मात्रै ओभरलोडलाई वैधानिकता दिइरहेको स्थानीयको आरोप छ। 

जिल्ला ट्राफिक प्रहरी कार्यालयको पछिल्लो दुई महिनाको तथ्यांकबाट पनि यो केही हदसम्म पुष्टि हुन्छ । भदौ महिनामा ५९९ सवारी साधनलाई ओभरलोड गरेको भन्दै ट्राफिकले कारवाही गरेको थियो। तर असोज महिनाभित्र भने यो संख्या बढेर ६४० पुग्यो। तथ्यांकको आधारमा गत महिनाभन्दा यस महिना ओभरलोड अझ बढेको छ। ढुवानी व्यवसायीहरूले ओभरलोड जरिवाना तिरेरै सडक क्षमताभन्दा बढी माल ढुवानी गर्ने गरेका छन्। तर ट्राफिक प्रहरीले पटके ओभरलोड साधनलाई भने थप कारवाही नगरी छाड्ने गरेको स्रोतको दाबी छ। 

जरिवाना तिरेर पनि फाइदा हुने भएपछि ओभरलोड नियन्त्रणमा आउन सकेको छैन। यसका कारण सडक भासिने, बिग्रने र मर्मत गरिएको सडक उप्किने गरेको सडक प्राविधिकहरूको दाबी छ। जिल्ला ट्राफिक प्रहरी कार्यालयले भने सडक जीर्ण भएका कारण दुर्घटना भए पनि सडक सुरक्षामा आफूहरू गम्भीर रहेको जनाएको छ।

ट्राफिक प्रहरी निरीक्षक अमरबहादुर कार्कीले ओभरलोड नियन्त्रणमा पहिलाभन्दा धेरै सफलता पाए पनि अझै पूर्ण नियन्त्रणमा नआएको स्वीकारेका छन्। ‘हामी कसैको दबाब र प्रभावमा छैनौँ, नियमानुसार कारवाही र जाँचमा कडाइ गरेका छौँ’, उनी भन्छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.