आज नेवार समुदायले सकिमना पुन्ही मनाउँदै
आज नेवार समुदायले सकिमना पुन्ही मनाउँदै
भक्तपुर : शनिबार नेवार समुदायले सकिमना पुन्ही (पिँडालु उसिन्ने पूर्णिमा) धुमधामले मनाउँदैछन्। आजको दिन नेवार समुदायले विशेषगरी सकि अर्थात पिँडालु उसिनेर खाने प्रचलन रहेको छ।
नेवार समुदायले ऋतु अनुसारको उब्जनी आफ्नो उत्पादन इष्टदेवलाई चढाएर मात्र खाने प्रचलन अनुसार आजको दिन पिँडालु, सख्खर खण्ड लगायतका कण्दमुल उसिनेर आफ्ना इष्टदेवलाई चढाएर खाने प्रचलन रहेको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठले जानकारी दिए। यसले शरीरमा तागत उत्पन्न हुने र शरीर स्वस्थ हुने जनविश्वास रहेको श्रेष्ठ बताउँछन्।
यसै अवसरमा शनिबार भक्तपुरको कमलविनायक भत्केको पाटीस्थित यातु महादेव, आशापुरेश्वर (आशापुरी) महादेव, डोलेश्वर महादेव, सुवर्णेश्वर महादेव लगायतका महादेव मन्दिरमा विशेष मेला लागेको छ। सकिमाना पुन्हीका दिन महादेवको पूजा आराधना र दर्शन गरी व्रत बस्नाले पूण्य प्राप्त हुनुका साथै राम्रो वर पाउने धार्मिक विश्वास रहेको छ।
शनिबार नै नेवार समुदायले एक महिने दाफा भजन किर्तन सम्पन्न गर्ने प्रचलन रहेको छ। कोजाग्रत पुर्णिमाको दिनदेखि नेवार समुदायले आ–आफ्नो टोलमा रहेको गणेश, माहदेव लगायतका देवी देवताको मन्दिरमा प्रत्येक साँझ भजन किर्तन गाउन शुरु गर्छन्। सो भजन किर्तन शनिबार नै समापन हुँदैछ।
आजको दिन सो भजन मण्डलीहरुले साँझ मन्दिर अगाडि उसिनेको सखरखण्ड, पिँडालु तथा भुटेका मकै, भट्मास र गहुँ, लगायतका गेडागुडीहरुले विभिन्न देवी देवता तथा मन्दिरहरुको कलात्मक आकृति बनाउने गरिन्छ। अन्तमा त्यसैलाई प्रसादको रुपमा ग्रहण गर्ने प्रचलन रहेको श्रेष्ठले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।