भक्तपुर : योमरीको अर्थ हो, मनपर्ने रोटी। यो चामलको पिठोमा चाकु वा स्वाद अनुसार खुवा, गुँदपाक, मासु राखेर बनाइने विशेष प्रकारको रोटी हो। यही रोटीको नामले यो पर्वको नाम रहेको हो, य:मरी पुन्हि (योमरी पूर्णिमा)।
नेवार समुदायमा योमरीको विशेष महत्त्व छ। विशेषगरी जन्मदिन लगायतका विशेष शुभकार्यमा योमरी नभई हुँदैन। योमरी मठ मन्दिर, मानिसको जोडा जन्मदिन (जस्तो दुई वर्ष, चार वर्ष) को अवसरमा नभई नहुने पकवान् भएको इतिहास तथा संस्कृतिविद् पुरुषोत्तमलोचन श्रेष्ठ बताउँछन्।
यसरी बनाइन्छ योमरी
योमरी नयाँ धानको चामलको पिठोबाट बनाइन्छ। चामलको पीठो मुछेर रोटीको माथिल्लो भाग गजुर जस्तै चुच्चो बनाई तल्लो भागको गर्भमा रहेको खाली भागमा विशेषगरी चाकु राख्ने गरिन्छ। आजभोलि खुवा, मासु, गुँदपाक, मास, मुँगी लगायत सामग्री राखिन्छ।
योमरीलाई नेवार समुदायले कुवेर र गणेशका प्रतिकको रूपमा पनि लिन्छ। पूर्णिमाका दिन योमरीलाई धानका भकारी लगायतमा चढाइन्छ। यसरी चढाएको योमरी चार दिनपछि मात्र प्रसादको रूपमा बाँडेर खाने चलन छ। योमरी भगवती अन्नपूर्ण देवीको प्रतिकको रूपमा पनि लिइन्छ।
यो दिन नेवार समुदायले योमरीको कुवेर, गणेश, लक्ष्मी, ज्यापु ज्यापुनी, ख्याः महादेव, पार्वती लगायतको मूर्ति बनाएर आफ्ना अन्नका भकारी र भण्डार कोठामा चढाएपछि मात्र आफूले खाने चलन रहेको इतिहास तथा संस्कृतिविद् श्रेष्ठ बताउँछन्। यसरी योमरी चढाउँदा अन्न वृद्धि हुन र धनलाभ हुने विश्वास गरिन्छ।
गुञ्जिन छाडे योमरी भाका
योमरी पूर्णिमाको साँझ नेवार समुदायको घर आँगनमा गुञ्जिने यो लोकभाका अचेल सुनिन छाडेको छ। परम्परागत चाडपर्व आधुनिकताको चपेटामा परेसँगै योमरी भाका पनि लोप भएको हो। नेवार समुदायमा धान्य पूर्णिमाको साँझ घर घरमा गई योमरी माग्ने चलन थियो। तिहारमा खेलिने देउसी भैलो जस्तै नेवार समुदायका केटाकेटी तथा युवा युवती टोल छिमेकका घरघरमा गएर उल्लेखित नेवारी लोकभाका गाएर योमरी माग्ने गर्थे।
योमरी माग्ने प्रचलन धान्य पूर्णिमाको एक महत्त्वपूर्ण सांस्कृतिक पाटो भएको संस्कृतिविद् श्रेष्ठ बताउँछन्। उनका अनुसार यो चलन लिच्छवीकालिन राजा अंशुवर्माको पालादेखि चलेको हो। ‘नेवारका हरेक चाडपर्व समय र मौसम अनुसारको हुन्छन्’, श्रेष्ठ भन्छन्, ‘योमरी पकाउने र माग्ने चलन यसैको उदाहरण हो।’
यस्तो छ किवदन्ती
तत्कालीन पाञ्चाल देशमा सुचन्द्र नाम गरेका दानी र धर्मात्मा महाजन बस्थे। उनका दम्पती भगवान् विष्णुका परम भक्त थिए। उनीहरुको परीक्षा लिन एक दिन धनपति कुबेर गरिब ब्राह्मणको भेषमा भिक्षा माग्न पुगे। सुचन्द्रकी श्रीमतीले आफूले तयार पारिराखेको ब्राह्मणरूपी कुवेरलाई श्रद्धापूर्वक योमरी खुवाइन्।
उनको सत्कार देखी प्रसन्न भई कुबेरले आफ्नो असली रूप देखाए। योमरीको गुण र धानको भकारीमा श्रीगणेश, कुबेर, लक्ष्मीको पूजा गरी योमरी चढाउने विधि बताएर गए। सोही अनुरूप सुचन्द्र दम्पतीले योमरी धानको भकारीमा चढाएर चार दिनपछि प्रसादको रूपमा बाँडेर खाएकाले उनीहरूको धनसम्पत्ति अझ वृद्धि भयो। त्यही समयदेखि नेवार समुदायमा योमरी पूर्णिमा मनाउने चलन चलेको बताइन्छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।