|

भद्रपुरः झापा जिल्लामा समानुपातिकतर्फको प्रतिनिधिसभा तथा प्रदेशसभाको मतगणनाको पछिल्लो परिणामअनुसार समानुपातिकमा एमाले पहिलो स्थानमा रहेको छ। कांग्रेस दोस्रो, माओवादी केन्द्र तेस्रो, राप्रपा चौथो, राजपा पाँचौँ र संघीय समाजवादी फोरम छैठौँ स्थानमा रहेका छन्। 

प्रतिनिधिसभातर्फ एक लाख ३४ हजार २१३ मतगणना भइसकेको छ। प्राप्त परिणामअनुसार एमालेले ५२ हजार ६७, कांग्रेसले ४० हजार ७४०, माओवादी केन्द्रले १० हजार ८०९, राप्रपाले सात हजार ७९२, राजपाले दुई हजार २३५ र समाजवादी फोरमले एक हजार २०९ मत प्राप्त गरेको निर्वाचन कार्यालय झापाका सूचना अधिकारी प्रकाश न्यौपानेले जानकारी दिए। 

त्यसैगरी प्रदेशसभा समानुपातिकतर्फ एमालेले ४९ हजार १०५, कांग्रेसले ३९ हजार ९९६, माओवादी केन्द्रले १० हजार ८२३ र राप्रपाले आठ हजार ३०६ मत प्राप्त गरेका छन्। मंसिर २१ गते सम्पन्न दोस्रो चरणको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनमा झापामा ७० दशमलब ९४ प्रतिशत मत खसेको थियो। 

पाँच लाख ८५ हजार १६६ मतदाता रहेको यस जिल्लामा चार लाख १५ हजार १०३ मत खसेको निर्वाचन कार्यालय झापाले जनाएको छ। प्रतिनिधिसभातर्फ ४९ दलको र प्रदेशसभातर्फ २७ दलको चुनाव चिह्न समानुपातिक मतपत्रमा रहेको कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.