|

उदयपुरः उदयपुरका दुई प्रतिनिधिसभा सदस्यमा निर्वाचित सांसदलाई दिइएको प्रमाणपत्रमा विभेद भएको आरोप लगाइएको छ। 

मुख्य निर्वाचन अधिकृतको कार्यालयले वितरण गरेको प्रमाणपत्रमा नेपाली कांग्रेसका डा. नारायण खड्कालाई फ्रेमसहितको प्रमाणपत्र र नेकपा माओवादी केन्द्रका सुरेशकुमार राई हिमाललाई फ्रेमविना खाली प्रमाणपत्र दिएर विभेद गरिएको आरोप लगाइएको हो।

प्रमाणपत्रमा विभेद गरिएको आरोप नेकपा माओवादी केन्द्र उदयपुरले लगाएको हो। खड्का प्रतिनिधिसभा क्षेत्र नं.– १ र राई २ बाट निर्वाचित सांसद हुन्।

खड्कालाई प्रमाणपत्र वितरणको बेला प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेल, जिल्ला प्रहरी प्रमुख प्रहरी उपरीक्षक नवराज भट्ट र मुख्य निर्वाचन अधिकृत तेजेन्द्रप्रसाद शर्मासहित उपस्थित थिए। तर, राईलाई जितेको प्रमाणपत्र प्रदान गर्ने क्रममा प्रतिनिधिसभा निर्वाचन क्षेत्रका निर्वाचन अधिकृत सन्देश श्रेष्ठलगायत केही कर्मचारी मात्र उपस्थित थिए।

माओवादी केन्द्रका पोलिटव्युरो सदस्य तथा उदयपुर जिल्ला इञ्चार्ज मोहन खत्रीले निर्वाचन आयोगले आफूहरूलाई विभेद गरेको आरोप लगाएका छन्। ‘दुवै क्षेत्रमा विजेता प्रतिनिधिसभा सदस्यलाई एकै प्रकारको प्रमाणपत्र दिइएको भए राम्रो हुने थियो’, उनले भने, ‘कांग्रेसीलाई फ्रेममा दिने र हामीलाई खाली प्रमाणपत्र दिने? किन यस्तो गरियो?’ दुवैको फोटो पोष्ट गर्दै खत्रीले फेसबुकमै लेखेका छन् ‘वामपंथीलाई विभेद गरिएको हो कि होइन? मेरो प्रश्न निर्वाचन आयोगलाई।’

खत्रीले फेसबुकमा पोष्ट गरेपछि विभिन्न प्रतिक्रियामा निर्वाचन आयोगको विरोध गरिएको छ। २ नम्बरबाट निर्वाचित माओवादी केन्द्रका राईलाई फ्रेमविनै प्रमाणपत्र दिइएपछि माओवादी केन्द्रले विभेद गरेको आरोप निर्वाचन आयोगलाई लगाएको हो। राई र खड्का दुवैले प्रमाणपत्र लिँदै गरेको फोटो फेसबुकमा पोष्ट गर्दै माओवादी समर्थकहरूले विरोध गरिरहेका छन्।

आफ्नो पैसाले फ्रेम हाल्दा विवाद भयोः मुख्य निर्वाचन अधिकृत
उदयपुरका मुख्य निर्वाचन कार्यालयका प्रमुख तेजेन्द्रप्रसाद शर्माले कुनै पनि निर्वाचित संसदलाई विभेद नगरेको बताए। प्रमाणपत्रमा फ्रेम लगाउन निर्वाचन कार्यालयसँग कुनै बजेट नहुने पनि बताए। ‘मैले मेरो निर्वाचन क्षेत्र नं.– १ मा पर्ने दुवै प्रदेशसभाका उम्मेदवारलाई एकै प्रकारको प्रमाणपत्र दिएको छु’, शर्माले भने, ‘मेरै गोजीको पैसा लगाएर फ्रेम हालेर प्रमाणपत्र दिएको हुँ।’ 

निर्वाचन केन्द्रबाट खाली प्रमाणपत्र मात्र आएको र आफ्नै पैसा लगाएर फ्रेम लगाएर दिएको उनले बताए। प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं.– २ का निर्वाचन अधिकृत सन्देश श्रेष्ठले जस्तो प्रमाणपत्र आएको त्यस्तै दिएको मुख्य निर्वाचन अधिकृत शर्माले बताए। यता, २ नम्बरका निर्वाचन अधिकृत श्रेष्ठले पनि आफूले जस्तो प्रमाणपत्र आएको हो, त्यस्तै दिएको बताएका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.