|
सिरहामा मतदान गर्दै एक महिला मतदाता, फाइल फोटो।

  • राजु विश्वकर्मा 

सिरहा : मधेश आन्दोलनको उद्गमस्थल मानिएको सिरहामा प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनमा मधेसी गठबन्धन कमजोर देखिएको छ भने वाम गठबन्धन सुदृढ देखिएको छ।

गत मंसिर २१ गते सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभाको मतगणना सकिँदा सिरहाको प्रतिनिधिसभा र प्रदेशसभाका १२ वटा क्षेत्रमध्ये आठमा वाम गठबन्धनले बाजी मारेको छ।

सिरहाको प्रतिनिधिसभातर्फ रहेका ४ क्षेत्रमध्ये २ वटा र प्रदेशसभाको ८ वटामध्ये ६ वटा गरी ८ वटामा वाम गठबन्धनले सफलता हात पार्दा एक प्रतिनिधिसभा र २ प्रदेशसभामा मधेसी गठबन्धन र एक प्रतिनिधिसभामा नेपाली कांग्रेस विजयी भएको छ।

प्रतिनिधिसभातर्फ क्षेत्र नम्बर २ मा नेकपा (माओवादी केन्द्र)का उम्मेदवार सुरेशचन्द्र दास यादव र क्षेत्र नम्बर ३ मा नेकपा एमालेका उम्मेदवार लीलानाथ श्रेष्ठ निर्वाचित भएका छन्।

यस्तै, क्षेत्र नम्बर १ मा कांग्रेसका प्रभावशाली नेता प्रदीप गिरी र क्षेत्र नम्बर ४ मा राष्ट्रिय जनता पार्टीका अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादव निर्वाचित भएको सिरहाका मुख्य निर्वाचन अधिकृत सुदर्शनराज पाण्डेले जानकारी दिए।

त्यस्तै सिरहाको प्रदेशसभातर्फ क्षेत्र नम्बर १ को (क) र (ख) दुबैमा वाम गठबन्धनकै उम्मेदवारहरु क्रमशः लगनलाल चौधरी (एमाले) र अशोककुमार यादव (एमाले) निर्वाचित भए। क्षेत्र नम्बर ३ को (क) र (ख) मा पनि वाम गठबन्धनकै उम्मेदवार विजयी भए।

निर्वाचन क्षेत्र नम्बर ३ (क) मा माओवादी केन्द्रका रामकुमार यादव र (ख) मा एमालेका प्रमोद यादव निर्वाचित हुनुभएको छ क्षेत्र नम्बर २ (ख) मा एमालेका मदनसेन श्रीवास्तव र क्षेत्र नम्बर ४ (क) मा माओवादी केन्द्रका दिलीप साहले सफलता हात पारे।

मधेसी गठबन्धनले सिरहा क्षेत्र नम्बर २ (क) मा र क्षेत्र नम्बर ४ (ख) मा मात्र विजयी हासिल गर्न सक्यो । क्षेत्र नम्बर २ (क) मा संघीय समाजवादी फोरम नेपालका विजय कुमार यादव र क्षेत्र नं ४ (ख) मा राजपाका सुरेश कुमार मण्डल निर्वाचित भए।

प्रतिनिधिसभातर्फ एउटा मात्र क्षेत्रमा जित्न सकेको कांग्रेसले सिरहामा प्रदेशसभातर्फ एउटा पनि क्षेत्रमा जित्न सकेन। मधेसी गठबन्धनले जितेको सिरहाको तीन वटा क्षेत्रमध्ये दुई वटामा वाम गठबन्धन नै निकटतम प्रतिष्पर्धी रहे।

यसरी मधेश आन्दोलनको उद्गमस्थलमै मधेसी गठबन्धनको चुनावी परिणाम निराशाजनक आएपछि नेता कार्यकर्ता मात्र होइन, सर्वसाधारणसमेत आश्चर्यचकित भएका छन्।

आन्दोलनकै गर्भबाट जन्मेको मधेसी गठबन्धनले आन्दोलनकै उद्गमस्थलमा नराम्ररी पराजित हुँदा आफुहरु आश्चर्यमा परेको यहाँका सर्वसाधारण बताउँछन्।

मधेसी गठबन्धनमा आबद्ध दलका नेताहरुबीच टिकट वितरणमा भएको किचलो, वामपन्थी दलहरुको सशक्त गठबन्धन, मधेसी गठबन्धनभित्रकै अन्तर्घात र अन्य दलहरुको धन बलका कारण यहाँ मधेसी गठबन्धनको कमजोर परिणाम आएको मधेसी गठबन्धनका नेता तथा राजपा नेपाल सिरहाका अध्यक्ष रामबहादुर महतो बताउछन्। सर्वसाधारण मात्र होइन, स्वयं मधेसी गठबन्धनका नेताहरु समेत आफ्नै कमीकमजोरीका कारण चुनावमा अकल्पनीय परिणाम देख्नपरेको स्वीकार्छन्।

“निर्वाचन हुनुभन्दा अघिसम्म हामी यस्तो नराम्रो परिणाम आउँछ जस्तो लागेको थिएन,” महतोले भने– “तर अहिले जसरी परिणाम आयो, यो परिणामबाट हामी आश्चर्य परेका छौं।”

“चुनावअघि सिरहामा प्रतिनिधिसभातर्फ ३ र प्रदेशसभातर्फ ४ क्षेत्रमा जित्छौं भन्ने लागेको थियो, तर त्यो हुन सकेन,” उनले अगाडि थपे– “हामी लामो समयसम्म आन्दोलनमा होमियौं तर आन्दोलनका एजेण्डाहरु जनतामाझ जसरी पु¥याउनुपर्दथ्यो त्यसरी पु¥याउन नसक्नु, राम्ररी प्रचारप्रसार गर्न नसक्नु र कतिपय ठाउँमा गठबन्धनकै कार्यकर्ताहरुबाट अन्तर्घात हुनु जस्ता कारणले हामी सिरहामा नमिठो हार बेहोर्न बाध्य भयौं।”

आन्तरिक एकता मजबुत नहुनु र आन्दोलनका एजेण्डाहरु गाउँ गाउँसम्म पुर्‍याउन नसक्नु हारका अन्य कारण भएको उनको कथन छ।

अहिलेको चुनावमा भएको कमीकजोरीमाथि गठबन्धन घटक दलका नेताहरुबीच छलफल गरी आगामी दिन सुदृढ ढंगबाट अघि बढ्ने उनी बताउँछन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.