|

काठमाडौं: ठूलो चर्चा र परिचर्चा कमाएका र ठूलै परिचय भएकाले कहिलेकाहीँ आफू हिँडेको जमिन पनि हेर्नुपर्छ। आफ्नो प्रतिद्वन्द्वीको रूपमा खडा भएकाको सम्भावित शक्ति आँकलन गर्नुपर्छ। एउटा अंग्रेजी भनाइ छ, 'डु नट अन्डरइस्टिमेट दि पावर अफ कमन म्यान।' अथवा अाममान्छेको शक्तिलाई कम नअाँक।

संविधान कार्यान्वयन र देशलाई स्थायित्व दिनका लागि भएको प्रतिनिधिसभा तथा प्रदेशसभा सदस्य निर्वाचनको मत परिणाम आइसकेको छ। यो निर्वाचनमा वाम गठबन्धनमा संलग्न नेकपा एमाले र माओवादी केन्द्रलगायतका दलहरूले प्रत्यक्षमा दुई तिहाई सिटमा जीत हासिल गरेका छन्। गठबन्धनको पक्षमा यस्तो भेल आउँदा पनि गठबन्धनका 'हेभी वेट' नेता भने पराजित हुनपुगेका छन्।

अर्कोतर्फ नेपाली कांग्रेसको नेतृत्वमा रहेको 'लोकतान्त्रिक गठबन्धन'का ठूला नेताहरू पराजित भएका छन्। पटक पटक सत्तामा पुगेका र देशको राजनीतिबारे देश विदेशमा दख्खल राख्ने नेताहरू पनि पराजित बनेका छन्।

यी नेता पराजित हुनुका पछाडिको कारण आफ्नो प्रतिष्पर्धीलाई कम आँक्नु पनि रहेको छ। यसरी 'लो प्रोफाइल'हरूबाट पराजित यी पाँच 'हेभी वेट' नेता र यिनलाई पराजित गर्ने नेताको पृष्ठभूमिबारे थाहा पाअौँ।

वामदेवलाई सञ्जयको झट्का

दशैँको मुखमा सबैलाई आश्चर्यमा पार्ने गरी काठमाडौंमा वाम गठबन्धनको जरो गाडेर एमाले उपाध्यक्ष वामदेव गौतम चुनावी प्रचार प्रसारका लागि बर्दिया लागे। लामो समयदेखि एमाले र माओवादीलाई एउटै 'चुनाव चिह्न' र 'एउटै झन्डा'मुनि ल्याउने अभियानलाई आंशिक निष्कर्षमा पुर्‍याएका गौतमलाई चुनावी मैदानमा पर्खिरहेका थिए नेपाली कांग्रेसका नेता सञ्जय गौतम

स्थानीय समस्यालाई लिएर दुवैका चुनावी वाचा र मुद्दा समान थिए। सुकुम्बासीलाई घर, मुक्त कमैयालाई जमिन, कम्लहरीलाई मुक्ति, गरिबलाई रोजगारी आदि। गास, वास, कपास, शिक्षा, स्वास्थ्य, रोजगार, खानेपानी, बाटोघाटो र पुलपुलेसाका साथै नदी नियन्त्रणका मुद्दाहरूलाई दुवै नेताले दोहोर्‍याए। यसमा वामदेवले देशमा स्थिर सरकारको आधार तयार पारेर आएकाले आफूलाई मत दिन आग्रह गरे। उनले आफ्ना प्रतिष्पर्धीलाई भने कम आँके। वाम गठबन्धनको बलियो पकड रहेको बर्दिया निर्वाचन क्षेत्र नम्बर- १ मा कांग्रेसका उम्मेदवारसँग प्रतिष्पर्धा नै नरहेको समेत भन्न भ्याए वामदेवले। जसलाई चुनावी अभियानका क्रममा वामदेवले प्रतिष्पर्धी नै मानेनका थिएनन्, उनैले पटक पटक मन्त्री भएका र एमालेका उपाध्यक्षसमेत रहेका वामदेवको संसदको बाटो रोकिदिए।

वामदेवले सञ्जयलाई आफ्नो प्रतिष्पर्धी नै नमान्नुको कारण थियो, राष्ट्रिय राजनीतिमा दुवैको फरक फरक ओहदा। राष्ट्रिय राजनीतिमा वामदेव गौतमजति परिचित नभएका सञ्जय बर्दियाका जनतामाझ भने लामो समयदेखि जोडिएका थिए। सञ्जयको राष्ट्रिय राजनीतिमा उचाइ भनेको वर्तमान मन्त्रिपरिषद सदस्य अर्थात् सिँचाइमन्त्री हुनु थियो। उनी साउनयता शेरबहादुर देउवाको मन्त्रिपरिषदमा छन्।

पञ्चायतविरुद्ध २०३६/०३७ सालको आन्दोलनबाट सञ्जय नेपाली कांग्रेसको राजनीतिमा संलग्न भएका हुन्। उनी त्यतिबेला तीन महिना भद्रगोल जेल परेका थिए। उनले कांग्रेसको भ्रातृसंगठन नेपाल विद्यार्थी संघबाट राजनीतिक यात्रा सुरु गरेका हुन्। त्यसपछि उनी कांग्रेसको गाउँ कमिटी सचिव, क्षेत्रीय सचिव, जिल्लाको सहसचिव, सचिव हुँदै जिल्ला पार्टी सभापतिमा सर्वसम्मत निर्वाचित भएका हुन्। उनी हाल नेपाली कांग्रेसको बर्दिया जिल्ला सभापति हुन्।

२०२० साल बैशाख १३ गते जन्मिएका सञ्जयको बसोवास बर्दियाको गुलरियामा छ। उनले राजनीतिशास्त्रमा स्नातकसम्मको अध्ययन पूरा गरेका छन्।

सञ्जय २०४९ सालमा नै चुनावी मैदानमा उत्रिएका थिए। जिल्ला विकास समितिको उपसभापतिको त्यो चुनाव उनलाई फापेन, उनी पाँच भोटले पराजित भए। शेरबहादुर देउवाले पार्टी विभाजन गरेर कांग्रेस (प्रजातान्त्रिक) बनाएको बेला उनी संस्थापनमै लागे।

२०६४ सालमा भएको संविधानसभा निर्वाचनमा पनि सञ्जय पराजित भए। तर, २०७० सालमा भएको संविधानसभाको दोस्रो निर्वाचनमा उनी विजयी बने र सिंहदरबारको यात्रा तय गरे। उनले ०७० सालमा तय गरेको सिंहदरबारको यात्रालाई निरन्तरता दिएका छन्।

अहिलेको जीतले उनको चर्चा बढाएको छ। वाम गठबन्धनले देशभर जीत हात पारेका बेला त्यसका सूत्रधार एवं नेपाली काम्युनिस्ट आन्दोलनमा हेभी वेट छवि बनाएका नेता वामदेव गौतमलाई ४४ हजार ८२९ मत ल्याएर पराजित गरे, जबकि वामदेवको पक्षमा ४४ हजार ७६ मत मात्रै पर्‍यो।

वरिष्ठ नेता पौडेलको जीतमा किसानले लगाए 'ब्रेक'

नेपालको संसदीय इतिहासमा सबैभन्दा बढी पटक निर्वाचित हुने सीमित नेतामध्ये पर्छन्, कांग्रेसका नेता रामचन्द्र पौडेल। २०४८, २०५१, २०५६ को संसदीय निर्वाचन तथा २०६४ र २०७० को संविधानसभा निर्वाचनमा पौडेल तनहुँबाट निर्वाचित भएका थिए। उनले तनहुँमा चुनाव मात्रै जितेनन्, सिंहदरबारमा राजसमेत गरे- पटकपटक मन्त्री र उपप्रधानमन्त्री तथा सभामुखसम्म बनेर। त्यस्तै, देशको बागडोर सम्हालेको पार्टी नेपाली कांग्रेसको निर्णायक ठाउँमा रहे र हेभी वेट नेताको छवि लिएर निर्वाचनमा होमिए। तर, उनले त्यो जीतलाई निरन्तरता दिन भने सकेनन्। उनको नामसँगै जोडिएर आउने शब्दावली पनि हो, 'वरिष्ठ नेता', तर यो वरिष्ठ विशेषणले मतदातालाई रिझाउन सकेन। वरिष्ठ नेताको जीतमा 'किसान'को नाम पाएका नेताले पराजित गरे।

लामो समयदेखि जित्दै आएका कांग्रेस नेता पौडेललाई ब्रेक लगाउने व्यक्ति हुन् नेकपा एमालेका कृष्णकुमार श्रेष्ठ। 'किसान'का रूपमा परिचित उनी राजनीतिमा सामान्य ओहदाका व्यक्ति हुन्। एमाले जिल्ला कमिटी तनहुँका सल्लाहकारसमेत हुन्, श्रेष्ठ।

कृष्णकुमार श्रेष्ठको जन्म २०२४ पुस ७ गते तनहुँको जामुनेमा भएको हो। प्रवीणता प्रमाणपत्र तहसम्म अध्ययन गरेका उनी व्यवसायी हुन्। उनको घरजग्गा, यातायात, हार्डवेयरको व्यवसाय छ। उनी राजनीतिमा संलग्न भने २०३८ सालबाट भएका हुन्। २०७० सालमा तनहुँ क्षेत्र नम्बर- २ बाट संविधानसभा सदस्य उम्मेदवार बने पनि सिंहदरबारको यात्रा तय गर्न सकेनन् उनले। उनलाई रामचन्द्र पौडेलले नै पराजित गरेका थिए।

हेभी वेटको परिचय लिएर निरन्तर जित्दै आएको तनहुँको चुनावी मैदानमा पुगेका रामचन्द्र पौडेललाई यसपालि भने ब्रेक लाग्यो। किसानले ३४ हजार ४९२ मत पाउँदा पौडेलको भागमा भने विगतको विजयलाई निरन्तरता दिन नसक्ने २७ हजार ६९० मत मात्रै पर्‍यो।

किसानको जीत र पौडेलको हारका पछाडि कम्युनिस्ट पार्टीहरू गठबन्धन बनाएर अगाडि बढ्नु र तनहुँका कांग्रेस नेता गोविन्दराज जोशीको असन्तुष्टिले ठूलो भूमिका खेल्यो। यसका कारण कांग्रेसका वरिष्ठ नेता पौडेलको विजययात्रामा ब्रेक लाग्यो भने वाम गठबन्धनका उम्मेदवार बनेका कृष्णकुमार श्रेष्ठ किसानले पहिलो पटक सिंहदरबारको यात्रा तय गरे।

जनपक्षीय प्रधानपञ्च कृष्ण, जसले राजावादी कमल थापालाई ह्याट्रिक हार दिलाए

बहालवाला उपप्रधानमन्त्री एवं पार्टीका अध्यक्षसमेत रहेका कमल थापालाई मकवानपुर क्षेत्र नम्बर- १ बाट एमालेका कृष्णप्रसाद दाहालले पराजित गरेका छन्। वाम गठबन्धनबाट एमालेका उम्मेदवार बनेका कृष्णप्रसाद दाहालले थापालाई छ हजार ७२ मतको अन्तरले पराजित गरे। कृष्णले ४० हजार ६३१ प्राप्त गर्दा सत्ताको नेतृत्व गरिरहेको दल नेपाली कांग्रेसका समेत उम्मेदवार रहेका राप्रपाका अध्यक्ष कमल थापाले भने ३४ हजार ६५८ मतमै चित्त बुझाउनुपर्‍यो।

पञ्चायतकालदेखि नै राष्ट्रिय राजनीतिमा चर्चाका पात्र बनेका र अहिले पनि चर्चामै रहेका कमल थापा र लामो समयदेखि कम्युनिस्ट आन्दोलनमा लागेका पुराना नेता कृष्णप्रसाद दाहालको मकवानपुरको चुनावी मैदानमा २०४८ यता पटक पटक भेट भएको छ। ०४८ सालयताको २६ वर्षको अवधिमा भएका चुनावमा २०४८, २०५१, २०५६ र अहिले २०७४ सालमा यी दुईबीच चुनावी मैदानमा प्रतिस्पर्धा भयो।

यी दुई नेता चुनावी मैदानमा जस्तै वैचारिक राजनीतिमा पनि फरक फरक कित्तामा उभिए। धर्मनिरपेक्षतालाई सदर गरेको गणतन्त्र नेपालको संविधान कार्यान्वयन गर्न बनेको सरकारका उपप्रधानमन्त्रीसमेत रहँदा पनि देशमा राजतन्त्र ल्याउनुपर्ने र नेपाललाई हिन्दूराष्ट्र घोषणा गर्नुपर्ने कुरालाई थापाले चुनावी नारा बनाइरहे। अर्कोतिर 'धर्मलाई अफिम' मान्ने कम्युनिस्ट राजनीति पढेर यो यात्रामा आएका हुन्, दाहाल।

कृष्णप्रसाद दाहालको जन्म वि. सं. २०२० साल असारमा भएको हो। कम्युनिस्ट पार्टीको विद्यार्थी संगठनमा आवद्ध हुँदै उनी कम्युनिस्ट पार्टीको सदस्य बनेका थिए। उनको राजनीतिक सक्रियता २०३६/०३७ सालमा भएको पञ्चायतविरोधी आन्दोलनबाट भएको हो। उनी तत्कालीन मालेको विद्यार्थी संगठनबाट राजनीतिमा सक्रिय भएका हुन्।

तीन पटक प्रत्यक्ष निर्वाचित सांसद हुँदासमेत दाहाल अहिलेसम्म मन्त्री भने भएका छैनन्, जबकि उनका प्रतिष्पर्धी कमल थापा पञ्चायतकालदेखि नै पटक पटक मन्त्री बने। उनले सत्ताको रसास्वादन राम्रैसँग लिँदै आएका थिए।

पार्टी राजनीतिमा पनि कृष्णप्रसाद नेकपा एमालेको केन्द्रीय समितिसम्म समेत पुगेका छैनन्। २०५४ देखि २०६६ सम्म एमाले मकवानपुरको नेतृत्वमा रहेका दाहाल हाल नेकपा एमालेको प्रदेश कमिटी सदस्य छन्।

दाहालसँग ह्याट्रिक हारबाट जोगिन उपप्रधानमन्त्रीको पदमा रहेका थापाले हेटौँडाका मतदातालाई आफ्नो पक्षमा पार्न उनीहरूको मागबमोजिमको निर्णयसमेत मन्त्रिपरिषदबाट पारित गराए। कांग्रेससँग सहकार्यसमेत गरे तर दाहालका सामु हेभी वेट थापाका कुनै पनि दाउपेचले काम गरेनन् र हात लाग्यो 'कमन म्यान' कृष्णप्रसादबाट ह्याट्रिक हार।

गणतन्त्रका सारथि सिटौलालाई कम्युनिस्टसँग मिलेर हराए राजेन्द्रले

२०७४ सालको दशैँ दैलोमा थियो र प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आँगनमा। यही मेसोमा देश चरम राजनीतिक ध्रुवीकरणमा गयो। देशका दुई ठूला कम्युनिस्ट पार्टी नेकपा एमाले र माओवादी केन्द्रले असोज १७ मा वाम गठबन्धनका साथै पार्टी एकताको उद्घोष गरे। त्यसलगत्तै नेपाली कांग्रेस, राप्रपालगायतका राजनीतिक दलहरूले लोकतान्त्रिक गठबन्धनको सुरसार कसे। भलै, वामहरूले झैँ तामझामपूर्ण औपचारिक घोषणा गरिएन। तर, गठबन्धन बनाएर चुनावमा गए। देशभर एकअर्कालाई सघाएर वाम गठबन्धनको सामना गर्ने घोषणा गरेका सत्ताधारी कांग्रेस र राप्रपाको गठबन्धनमा राप्रपा महामन्त्री राजेन्द्र लिङ्देनले धक्का दिए- कांग्रेस नेता कृष्णप्रसाद सिटौलाविरुद्ध उम्मेदवारी दिएर।

सिटौलाको परिचय नेपाली राजनीतिमा गणतन्त्र स्थापनामा नेपाली कांग्रेसका तर्फबाट सबैभन्दा बढी खट्ने व्यक्तिको रूपमा रहेको छ। राजा ज्ञानेन्द्रलाई दरबार छाड्न मनाउने श्रेय पनि उनलाई नै जाने गर्दछ। पटक पटक मन्त्री र सांसद भएका सिटौलालाई अहिले भने राजा फर्काउने राजनीतिक एजेन्डा बोकेका लिङ्देनले सिंहदरबारको बाटो रोकिदिएका छन्।

राजेन्द्र लिङ्देन पञ्चायतकालदेखि राजनीतिमा लागेका हुन्। उनी त्यतिबेला पञ्चायतमा क्रियाशील भए। त्यतिबेलाको उनको वैचारिक एजेन्डा अहिले पनि जारी छ। २०४७ सालपछि निर्माण भएको पूर्व पञ्चहरूको राजनीतिक दल राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मा उनी आवद्ध भए। अहिले राप्रपाले घोषणापत्रमा नै राजा फर्काउनुपर्ने र नेपाललाई हिन्दूराष्ट्र बनाउने एजेन्डा उल्लेख गरेको छ।

ताप्लेजुङको ढुंगेसाँघुमा २०२२ भदौ २२ गते जन्मिएका राजेन्द्रले १७ वर्षको उमेरमा राजनीति सुरु गरेका हुन्। पार्टी राजनीतिमा सक्रिय लिङ्देन २०४९ र २०५४ मा राप्रपाबाट झापाको गोलधाप गाविसको वडाध्यक्षमा निर्वाचित भएका थिए। उनी पार्टी राजनीतिका साथै विद्यार्थी राजनीतिमा पनि सक्रिय थिए। त्यसै क्रममा २०४९ सालमा काठमाडौंमा भएको राष्ट्रवादी विद्यार्थी संगठनको महाधिवेशनबाट संस्थापक अध्यक्ष बने लिङ्देन। राजनीतिशास्त्र र इतिहासमा स्नातकोत्तर गरेका लिङ्देन २०६० सालमा जिल्ला विकास समिति झापाको सभापतिमा मनोनित भए।

२०५६ सालमा झापा क्षेत्र नम्बर- ३ बाट संसदीय चुनावमा प्रतिस्पर्धामा उत्रिए उनी। त्यसको परिणाममा भने तेस्रो निस्किए। त्यस्तै २०७० सालको संविधानसभाको दोस्रो निर्वाचनमा पनि उनी उम्मेदवार बने र दोस्रोमा सीमित भए। यी दुवै निर्वाचनमा उनलाई कांग्रेसका सिटौलाले पराजित गरेका थिए।

यसबीचमा उनी राप्रपाको केन्द्रीय सदस्यदेखि महामन्त्रीसम्म भइसकेका थिए। २०६४ मा राप्रपाको केन्द्रीय सदस्य बनेका उनी २०७० मा महामन्त्री भए।

झापाको राजनीतिमा २०४६ सालदेखि फरक वैचारिक धारमा उभिएका सिटौला र लिङ्देनले राप्रपा र कांग्रेसको केन्द्रले जस्तो निर्णय गरे पनि चुनावी मैदानमा भिड्ने मनस्थिति बनाए। यो भिडन्तमा वाम गठबन्धनलाई समेत आफ्नो पक्षमा पार्न सफल भएका लिङ्देनले ४६ हजार ६१४ मत आफ्नो पक्षमा पारे, जबकि कांग्रेसका हेभी वेट नेता सिटौलाले पाएको ३१ हजार १७१ मत मात्रै प्राप्त गरे। यो जीतसँगै लिङ्देनले सिटौलासँग भोगेका दुई हारको बदला एउटै जीतबाट लिए।

डा. महतको सिंहदरबार प्रवेशमा माओवादीका तामाङ बने बाधक

डा. रामशरण महत नेपाली राजनीतिका हेभी वेट नेता हुन्। महतलाई पटक पटक अर्थमन्त्री भएको नाताले देशभर र विदेशमा पनि चिनिने गरिन्छ। उनी राष्ट्रिय योजना आयोगको उपाध्यक्षदेखि 'विश्वकै उत्कृष्ट अर्थमन्त्री'समेत बने। नुवाकोटबाट पटक पटक निर्वाचित भएर देश विदेशमा चर्चामा रहेका र सिंहदरबारलाई कार्यथलो बनाउँदै आएका यी हेभी वेट नेताको अबको सिंहदरबार यात्रामा भने ब्रेक लागेको छ।

डा. महतको सिंहदरबार यात्रामा ब्रेक लगाउने व्यक्ति हुन्, माओवादीका हितबहादुर तामाङ, जो नेपाली राजनीतिमा खासै चर्चामा आएका पात्र होइनन्।

हितबहादुर तामाङको जन्म वि. सं. २०२० मा भएको हो। नुवाकोटको अमर ज्योति उमावि खरानीटारबाट एसएलसी पास गरेका तामाङले त्यसपछि दुई वर्ष थप्रेक निमाविमा अध्यापन गरे। सोही समयमा उनी कम्युनिस्ट राजनीतिप्रति आकर्षित भए र त्यसमा संलग्न भए। उनी सांगठनिक रूपमा अनेरास्ववियु छैठौँको सदस्य बनेर राजनीतिमा लागेका हुन्।

२०३८ सालमा अनेरास्ववियु छैठौंको नुवाकोट जिल्ला सचिव बनेका थिए तामाङ। त्यस्तै उनी २०४९ सालमा जनवादी युवा लिगको केन्द्रीय सदस्य बनेका थिए भने २०५१ मा संयुक्त जनमोर्चाको केन्द्रीय सदस्य बने। २०५२ सालमा माओवादीले जनयुद्ध सुरु गरेसँगै उनी भूमिगत भए। उनी जनयुद्धका क्रममा क्षेत्रीय ब्युरो सदस्य, नुवाकोट र रसुवाको संयुक्त रूपमा इन्चार्ज तथा २०५८ सालमा माओवादीको केन्द्रीय सदस्य बनेका थिए। जनयुद्धकालमा २०५९ जेठदेखि २५ महिना जेल परे।

उनको राजनीतिक लाभको पद भनेको एमालेका नेता झलनाथ खनाल प्रधानमन्त्री भएका बेला युवा तथा खेलकुदमन्त्री बने। माओवादी शान्ति प्रक्रियामा आएपछिको पहिलो संसद ०६३ को अन्तरिम व्यवस्थापिका संसद सदस्यसमेत बने। तर, उनी २०६४ को पहिलो संविधानसभा निर्वाचनमा पराजित भए र २०७० को दोस्रो संविधानसभा निर्वाचनमा समेत उनको भागमा पराजय पर्‍यो।

तामाङ तेस्रो पटक चुनावी मैदानमा उत्रिँदा प्रतिष्पर्धी कांग्रेसका डा. रामशरण महत थिए। हेभी वेट महतलाई तेस्रो चुनावमा भने पराजित गरे र आफ्नो भागमा विजय पारे। तामाङको भागमा विजयी मत ३६ हजार ४७३ पर्‍यो। उता महतको पक्षमा २७ हजार ९२० मत मात्रै पर्‍यो, जुन उनलाई सिंहदरबारको यात्राका लागि पर्याप्त भएन।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.