|

  •  प्रकाश धौलाकोटी 

तेह्रथुम  : चुनाव जितेपछि नेताहरू फेरि गाउँ आउँदैनन् भन्ने अधिका‌श मतदाताको बुझाइ छ। हुन पनि थोरै नेता हुन्छन्, जो चुनाव जितेपछि फेरि मतदाताकै घरदैलो पुग्छन्। तर यहाँको प्रदेशसभा 'ख' क्षेत्रमा प्रत्यक्षतर्फ पराजित भएका एक नेता हारे पनि फेरि मतदातामाझ पुगेका छन्। 

चुनाव हारेका प्रदेशसभा 'ख' क्षेत्रका कांग्रेस उम्मेदवार विजय सम्बाहाम्फे पुनः गाउँ पसेका हुन्। उनी मत परिणाम घोषणा भएकै दिनदेखि गाउँ–गाउँ पुगेर मतदातालाई धन्यवाद दिइरहेका छन्। प्रदेशसभा 'ख' क्षेत्रमा आठ राजनीतिक दलको उम्मेदवारी थियो। 

कुल ३० हजार ५८८ मतदातामध्ये १९ हजार ९६३ मत खसेकोमा १० हजार ३०२ मत ल्याएर  एमालेका उम्मेदवार तेजमान कन्दङ्वा विजयी भए। कांग्रेसका उम्मेदवार सम्बाहाम्फे दुई हजार २५५ मतान्तरले पराजित भए। 

यो पटकको चुनावमा माओवादी केन्द्रबाट प्रतिनिधिसभातर्फ प्रत्यक्ष उम्मेदवारका लागि जिल्लाबाट सर्वसम्मत सिफारिश भएका सम्बाहाम्फे वाम–गठबन्धन भएपछि टिकट नपाएर कांग्रेस प्रवेश गरी प्रदेशसभा 'ख' मा उम्मेदवार बनेका थिए। 

कांग्रेससँको उनको नाता नयाँ होइन। सम्बाहाम्फे२०६४ अघि नै कांग्रेसको जिल्ला कोषाध्यक्ष थिए। हाल निजी तथा व्यावसायिक विद्यालय अर्गनाइजेसनको केन्द्रीय अध्यक्ष सम्बाहाम्फे चुनावमा आएको परिणामबाट आफू दुःखी नभएको बताउँछन्। 'जनताको घरदैलोसम्म पुगेर अनुमोदन हुने मौका पाएँ', उनले भने, 'चुनावमा जित्नुमात्र ठूलो कुरा होइन।' 

चुनावपछि मतदातालाई धन्यवाद दिँदै गाउँगाउँ पुगिरहेका उनले आफूले बाँडेका आशा र योजना चुनाव हारे पनि पूरा गर्ने प्रतिबद्धता जनाए। 'चुनाव त मैले हारेकै हुँ', उनी भन्छन्, 'चुनाव हारे पनि म जनताको मन जित्न गाउँ आएको हुँ। चुनावी अभियानका क्रममा मतदातामाझ बोलेका योजना र प्रतिबद्धता पूरा गर्न निरन्तर लागिरहनेछु।'

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.