डाक्टरको लापरबाही भन्दै परिवारको प्रदर्शन

|

  • गोविन्द महतो-

जनकपुरधाम : जनकपुर अञ्चल अस्पतालमा चिकित्सकले शल्यक्रिया गरेर बच्चाको स्थानमा महिलाको पाठेघर निकालेपछि अत्यधिक रक्तश्राव भई एक सुत्केरी महिलाको मृत्यु भएको छ। चिकित्सकले पेटको शल्यक्रिया गरेर बच्चा निकाल्नु पर्नेमा पहिले पाठेघर निकालेपछि २६ वर्षकी चन्द्रकला पासवानको मृत्यु भएको परिवारले बताएका छन्।

महोत्तरीको भरतपुर गाविस ४ का शिवजी पासवानका पत्नी चन्द्रकलालाई सुत्केरी व्यथा लागेपछि गएको सोमबार राती ८ बजे जनकपुर अञ्चल अस्पतालमा भर्ना गरिएको थियो। तर २४ घण्टासम्म समान्य रुपमा बच्चा नजन्मेपछि मंगलबार राती साढे ८ बजे शल्यक्रिया गरिएको थियो। आफन्त अनिल पासवानका अनुसार प्रसुति रोग विशेषज्ञ डा. शिला सिंहले चन्द्रकलाको शल्यक्रिया गरी बच्चाअघि पाठेघर नै झिकेपछि रक्तश्राव भई मृत्यु भएको हो।

डा. सिंहले पेटबाट निकाल्दा नै बच्चाको मृत्यु भइसकेको थियो। रक्तश्रावको  कारण चन्द्रकलालाई ७ पोका रगत चढाइएको मृतकका काका अनिल पासवानले बताए। डा. सिंहले पाठेघर झिकेकाले अत्यधिक रक्तश्राव भई बुधबार विहान चन्द्रकला सिकिस्त भएपछि उपचार सम्भव नभएको भन्दै अञ्चल अस्पतालले जानकी मेडिकल कलेजको सिटी हस्पिटलमा रिफर गरेको थियो। रिफर गरेर पठाए लगत्तै उनको मृत्यु बिहीबार विहान १० भएको थियो। चन्द्रकलाले यस अघि दुई छोरी जन्माइसकेकी थिइन्।

जनकपुर अञ्चल अस्पतालका मेडिकल सुपरीटेन्डेन्ट डा. गौराग मिश्रका अनुसार चन्द्रकलाको समान्य रुपमा बच्चा नजन्मेपछि डा. शिला सिंहले शल्यक्रिया गर्न खोज्दा पाठेघर च्यातिएको थियो। त्यसपछि प्रसुती रोग विशेषज्ञ डा.विजय सिंहलाई बोलाएर दुवै जनाले तीन घण्टा लगाएर शल्यक्रिया सफल गरेको मिश्रले दावी गरे। शल्यक्रिया पश्चात चन्द्रकलाको अवस्था ठीक भएको र रगत अभावको कारणले उनको ज्यान गएको मेडिकल सुपरीटेण्डेन्ट मिश्रले बताए।

यस विषयमा शल्यक्रिया गर्ने डाक्टरहरुसंग स्पष्टिकरण मागिएको र गलत गरेको ठहरे कारबाही गर्ने उनले बताए। अञ्चल अस्पताल र डाक्टरको चरम लापरबाहीले चन्द्रकलाको ज्यान गएको भन्दै परिवारजनाले जनकपुर अञ्चल अस्पतालमा नारावाजी गरेका थिए। परिवारनजले चिकित्सकको लापरवाहीले मृत्यु भएको आरोप लगाउदै दोषी डाक्टरलाई कारबाही र राहतको माग गरेका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.