|

कालिकोट : जिल्ला स्वास्थ्य कार्यालय कालिकोटका प्रमुख डा. कौशल अलीलाई नेपाल कम्युनिस्‍टका कार्यकर्ताले कालो मोसो दलेर दुर्व्यवहार गरेको विरोधमा कालिकोटका स्वास्थ्यकर्मी आन्दोलित छन्।

शुक्रबार रास्कोट पूर्णखोपयुक्त नगरपालिका घोषणा समारोहमा सहभागी हुन गएका अलीलाई विप्लव नेतृत्वको नेकपाका कार्यकर्ताले कालोमोसो दलेर दुर्व्यवहार गरेको विरोधमा सोमबारदेखि जिल्ला अस्पताललगायत सबै स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका सेवा बन्द गरेका हुन्।

जिल्ला स्वास्थ्य कार्यालयले एक प्रेस विज्ञप्ति सार्वजनिक गरी आइतबार सबै स्वास्थ्यकर्मीले हातमा कालोपट्टी बाँधेर सेवा दिनुका साथै सोमबारदेखि इमरजेन्सीबाहेकका सबै सेवा अनिश्चितकालका लागि बन्द गरेका छन्।

जिल्ला स्वास्थ्य कार्यालयका डा. टंक आचार्यले सोमबारदेखि जिल्ला स्वास्थ्य कार्यालय तथा जिल्लाका सबै स्वास्थ्य संस्थामा इमरजेन्सी बाहेकका सबै सेवा बन्द गरिएको बताए। उनले आफूहरुले जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. अली माथि दुव्र्यवहार गर्नेलाई कानुनबमोजिम कारवाहीको माग गरेको बताए।

जिल्ला अस्पताल तथा अन्य ग्रामिण स्तरका स्वास्थ्य संस्थामा इमरजेन्सीबाहेकका सबै सेवा बन्द भएपछि नागरिकलाई सास्ती भएको छ। जिल्लाका विभिन्न स्वास्थ्य संस्थामा उपचारका लागि गएका सेवाग्राहीले उपचार नपाएर घर फर्किन थालेको बताइएको छ।

डा. विरुद्ध स्थानीय आन्दोलित

डाक्टरहरुको लापरबाहीका कारणले चन्द्रा शाहीको ज्यान गएको भन्दै शाहीका आफन्तहरुले जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाएका छन्। डा. कौशल अली र महेश्वर गोसाईंलाई कारबाहीको माग गर्दै मृतक चन्द्रा शाहीको श्रीमान् शुक्रदीप शाहीले प्रशासनमा ज्ञापनपत्र बुझाएका हुन्।

लापरबाही गरेका कारण कारबाही गरेका हौँ : नेकपा

नेपाल कम्युनिस्ट पार्टीका जिल्ला सेक्रेटरी मनीलाल ऐडी (रणदीप)ले आफूहरूले नै जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा. कौशल अलीलाई जनकारबाही गरेको बताएका छन्। डा. अलीकै कार्यकालमा सुत्केरी महिलालाई  गलत अप्रेसनका कारण चन्दा शाहलगायत तीन महिलाको अकालमा ज्यान लिएको, जनताहरुले अस्वीकार गर्दा पनि जिल्लामा पुन हाजिरी भएको, पोस्टमार्टम तथा केस फारम भर्दा सेवाग्राहीबाट घुस लिने गरेको आरोप लगाए।

त्यस्तै, स्वास्थ्यको रकम हिनामिना गरेको, कर्मचारीलाई हेपेको, केही समय अगाडि जिल्लामा फैलिएको भाइरलको महामारी नियन्त्रणमा चासो नदिएको र जिल्लाका ग्रामीणस्तरमा रहेका स्वास्थ्य संस्थामा समयमै औषधि नपठाउँदा नागरिकले सास्ती खेप्नुपरेकाले आफूले जुत्ताको माला र कालोमोसो दलेर स्वागत गर्न बाध्य भएको सेक्रेटरी ऐडीले बताए।  

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.