|

कालीकोट : मध्यपहाडी लोकमार्ग र कर्णालीको उत्तर-दक्षिण सडक करिडोरको मिलनविन्दु रहेको दैलेखको राकमलाई मध्यपहाडकै ठूलो शहर बनाउने योजनाको काम सुस्त ढंगले अगाडि बढेको छ। आसपासको क्षेत्रका बस्तीलाई समेटेर आवश्यक पूर्वाधार विकास गर्ने गरी दैलेखको राकम कर्णालीलाई मध्यपहाडको शहरका रूपमा विकास गर्ने योजनाकाे काममा सुस्तता देखिएको हो। 

शहरीकरण गर्ने योजनामा ढिलाइ भएका कारणले शहरी विकास कार्यक्रम लामो समयदेखि अलपत्रझैँ भएको छ। मुआब्जा निर्धारणप्रति असहमति जनाउँदै स्थानीय बासिन्दाले काम अघि बढ्न नदिएपछि आर्थिक वर्ष २०६८/०६९ देखि जग्गा अधिग्रहण हुन नसकेको स्थानीयवासी रामबहादुर कडायतले बताए। ‘शहरीकरणको योजनामा ढिलाइ भइरहेको छ।’ उनले भने, ‘अहिले मुआब्जाका विषयमा स्थानीय र आयोजनाबीच सहमति हुन नसक्दा काममा ढिलाइ भइरहेको छ।’

स्थानीयवासी र आयोजना कार्यालयबीच जग्गा अधिग्रहण प्रक्रिया अघि नबढ्दा आयोजनाको बजेट वर्सेनि फ्रिज हुँदै गएको छ। आव २०७१/०७२ मा साढे तीन करोड फ्रिज भयो। वर्सेनि बजेट खर्च हुन नसकेपछि आयोजनाले चालू आर्थिक वर्षका लागि बजेटै माग नगरेको नयाँ शहर विकास आयोजनाको कार्यालय दैलेख राकमले जनाएको छ।

आयोजनाको काम अगाडि बढ्न नसक्दा नयाँ शहर विकास आयोजना दैलेख राकममा आयोजना अधिकृत, इन्जिनियर, ओभरसियर, कम्प्युटर अपरेटरलगायत सात जना कर्मचारीको दरबन्दी रहेको भए पनि अहिले कार्यालय सहयोगीको भरमा कार्यालय चल्दै आएको छ।

आयोजना कार्यान्वयनमा शहरी विकास तथा भवन निर्माण विभागले एक लाख रुपैयाँसम्मको जनसंख्यालाई बसोवास गराउन आवश्यक पर्ने पूर्वाधारको विकास गर्ने, एकीकृत सेवा केन्द्रका रूपमा विकास गर्ने, ठूला शहरी क्षेत्र तथा तराईमा हुने बसाइँसराइलाई कम गर्ने लक्ष्यका साथ सरकारले नयाँ शहर विस्तार गर्न लागेकामा त्यसलाई रोक्न नकिएको स्थानीय नरेन्द्र माझीले बताए। ‘सरकारी योजनाअनुरूप स्थानीयले सहयोग पाएका छैनन्’, उनले भने, ‘स्थानीय सक्रिय नभई काम अगाडि बढ्न सक्दैन।’

स्थानीय बासिन्दाको अवरोध र आयोजना कार्यान्वयन पक्षको लापरवाहीका कारण ठोस प्रगति हासिल हुन नसकेको हो। स्थानीयले आयोजना अघि नबढ्नुमा सहरी विकासका इन्जिनियरहरू दोषी रहेको आरोप स्थानीय गणेश माझीले बताए। ‘कार्यान्वयन पक्षको ठूलो कमजोरी रहेको छ’, उनले भने, ‘योजना तर्जुमा गर्ने इन्जिनियरहरूले पनि काम राम्रोसँग गर्न सकेनन्।’

नयाँ शहर विकास गर्न अहिले आयोजनाले बस प्रतीक्षालयदेखि राकम इलाका प्रहरी कार्यालयसम्मकाे बजार जोड्ने सडक निर्माण सम्झौता गरेर काम अगाडि बढाएको छ। त्यसभन्दा खासै उपलब्धिमूलक काम हुन नसकेको स्थानीयवासीको भनाइ रहेको छ। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.