|

डोल्पा : जीवनका सात दशक बिताइसकेकी डोल्पा मुड्केचुला गाउँपालिका–१ कि प्रेमा घर्तीले पहिलो पटक आफ्नै सदरमुकाममा नजिकै निःशुल्क उपचार सेवा पाउँदा निकै खुसी छिन्। उनी लामो समयदेखि पाठघरको समस्याले पीडित थिइन्। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाको आयोजना र जिल्ला अस्पताल डोल्पाको सहयोगमा पाठेघर खस्ने महिलाको निःशुल्क उपचार गरिएको थियो। निःशुल्क उपचारले प्रेमाजस्ता धेरै विपन्न महिलाहरूले पाठघरेको उपचार गर्न पाएका छन्।  

लामो समय पाठेघर खस्ने समस्याबाट पीडित ठूली भेरी नगरपालिका –२ का ७४ वर्षीय रामकुमारी विश्वकर्मा पनि शिविरमा निःशुल्क रुपमा उपचार पाएकोमा खुसी व्यक्त गरिन्। ‘उपचार गर्न जाने पैसा छैन कसरी उपचार गर्ने?’ उनले आफ्नो पीडा सुनाउँदै भनिन्, ‘बरु लामो समय रोग सहेरै बसेकी थिएँ, उपचार पाएपछि अझै केही समय बाँच्ने आशा जागेको छ।’

शुक्रबारदेखि आइतबारसम्म सञ्चालन हुँने शिविरमा अहिलेसम्म २० जनाको उपचार गरिएको प्रतिष्ठानका सिनेट सदस्य सत्य पहाडीले जानकारी दिइन्।  एम सय ५० जना महिलाले आँङ (पाठेघर) खस्ने समस्याको परीक्षण गराएको भएता पनि हाल सबैको उपचार सम्भव नभएको प्रतिष्ठानले जनाएको छ। 

पाठेघर खसेको १९ वर्षपछि उपचार

सानीभेरी नगरपालिका ७ की ५० वर्षीया काली वुढाको पाठेघर खसेको १९ वर्ष भयो। उनले अहिलेसम्म उपचार गराएकी थिइनन्। आर्थिक अभावले गर्दा हालसम्म उपचार गर्न नसकेको उनले बताइन्। घर नजिकै शिविर बसेपछि उनले १९ बर्षपछि उपचार गर्ने मौका पाइन। चार सन्तानकी आमा हिराले १५ वर्षको उमेरमै विवाह गरेकी थिइन। ‘कान्छो छोरा जन्मिएको थियो। म ३० वर्षकी थिएँ, त्यतिवेलै आङ खसेको हो। घरको काम सबै आफैँले गर्नुपथ्र्यो। श्रीमान् कमाई गर्न भारत गएका थिए,’ उनले भनिन्। 

त्यस्तै, पाठेघर खसेको १४ वर्षपछि मुट्केचुला गाउँपालिका–५ का ३३ वर्षीया पवित्रा शाहीले उपचार पाएकी छन्। १४ वर्षकै उमेरमा विवाह गरेर १५ वर्षको उमेरमा बच्चा जन्माएकी सीता ५ सन्तानकी आमा हुन्। ‘तेस्रो सन्तान जन्मेको थिए, म त्यतिबेला २१ वर्षकी थिए, सुत्केरी भएको एक महिना नपुग्दै घाँस काट्ेर ल्याउनु पथ्र्यो, त्यसै वेलादेखि आँङ खस्न शुरु भएको हो,’ पवित्राले भनिन्। 

उनले लाजले गर्दा कसैसँग आफ्नो समस्या नसुनाएको बताइन । ‘पीडा सहेरै बसेकी थिएँ, शिविर आएको थाहा पाएपछि उपचारको लागि यहाँ आएकी हुँ,’ उनले भनिन्, ‘डाक्टर सावले रिङ प्रेसरी राखी दिनु भएको छ, त्यसले पनि ठीक नभए अप्रेशन नै गरेर फाल्नु पर्छ भन्नुभयो।’

शिविरमा उपचारको लागि आएका महिलाहरू मध्ये धेरैमा पाठेघरको समस्या भएको जिल्ला अस्पताल डोल्पाले जनाएको छ। कम उमेरमै विवाह गर्ने, धेरै सन्तान जन्माउने, सुत्केरी अवस्थामा कामको बोझ, पोषणयुक्त खानाको कमी, जनचेनाको अभाव, स्वास्थ्य संस्थाको पहुँच नहुनु आदि कारणले पाठेघर खस्ने गरेको डाक्टरको भनाइ छ। डोल्पाका ३० प्रतिशत महिलामा पाठेघर खस्ने समस्या भएको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.