रौतहट : प्रदेश २ का प्रदेशसभा सदस्य कुन्दन कुशवाहलाइ जिल्ला अदालत गौरले मंगलबार पक्राउ पुर्जी आदेश जारी गरेको छ। वन पैदवार गैरकानुनी रुपले ओसारपसार गरेको आरोपमा प्रदेश सांसद कुशवाहलाई पक्राउ गर्न जिल्ला अदालत गौरले जिल्ला प्रहरीलाई पत्राचार गरेको हो।
बिना इजाजत वन पैदवार ओसारपसारमा संलग्न रहेको भन्दै पुनरावेदन अदालत हेटौंडाको फैसला अनुसार एक वर्ष जेल सजाय सुनाएको सदस्य कुशवाहलाई पक्राउ गर्न अदालतले बैशाख १९ गते जिल्ला प्रहरीको नाममा पत्र पठाएको हो। माओवादी केन्द्रबाट प्रदेश सभा सदस्यमा निर्वाचित कुशवाहलाइ वन कसुरको मुद्दा सर्वोच्च अदालतमा विचाराधीन अवस्थामै पक्राउ पूर्जी जारी भएको हो।
बाराको साविक पिपरा सिमरास्थित पथलैया चोकमा सवारी चेकजाँचका क्रममा २०६९ असोज २ गते बिहान जिल्लाको कटहरिया बजारबाट कास्कीको पोखरा जान लागेको ना ४ ख ४६४० नम्बरको ट्रकमा अनुमति बिनाको सालको चिरान काठ २ सय ६५ थानको ४ सय ६९ क्यूफिट र ८ क्विन्टल स्ट्रिप बरामद भएको थियो।
अदालतको फैसालाले आफै चकित परेको प्रदेश सभा सदस्य कुशवाहले बताए। सर्वोच्च अदालतम विचाराधीन मुद्दाको पक्राउ आदेश आउनुले आश्चर्यमा परेको सासंद कुशवाहले प्रतिक्रिया दिए। उनले अदालतको फैसला अनुसार बिगो बापत ५ लाख ५५ हजार ८ सय ८० रुपैयाँ बराबरको धरौटी राखेको जानकारी दिए।
कटहरिया नगरपालिका निवासी कुशवाह रौतहटको क्षेत्र नम्बर ३ को ख बाट प्रदेश सभा सदस्यमा विजयी भएका थिए। केही दिन अगाडी मात्रै सोही नगरपालिकाका नगर प्रमुख सियाराम कुशवाहलाइ उच्च अदालत बिरगंजको जन्मकैदको फैसाला अनुसार प्रहरीले पक्राउ गरेको छ। नगर प्रमुख कुशवाहलाइ बिरगंजका हिन्दु महासंघका अध्यक्ष काशी तिवारीको हत्याको आरोपमा पक्राउ गरिएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।