|

कञ्चनपुर : भीमदत्त नगरपालिकाले महाकाली नदीमा साहसिक जलयात्रा(र्‍याफ्टिङ) सञ्चालन गर्ने भएको छ। महाकाली नदीको त्रिशूलीदेखि ब्रह्मदेवसम्म र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको हो। 

महाकाली नदीको बहुप्रयोग योजनाअन्तर्गत भीमदत्त नगरपालिका–९ मा र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको हो। गत वर्षको स्थानीय तह निर्वाचनमा महाकाली नदीको बहुप्रयोगसम्बन्धी भीमदत्त नगरपालिकाका नगरप्रमुख सुरेन्द्र विष्टको चुनावी एजेण्डा थियो। नगरप्रमुख विष्टले नदीको बहुप्रयोगको एजेण्डाअनुसार र्‍याफ्टिङ सञ्चालनका लागि तयारी अघि बढाएका बताए।
 
‘महाकाली नदीको बहुप्रयोगअन्तरगत विद्युत् उत्पादन, सिँचाइ सुविधा, साहसिक जलयात्रा, माछा पालनलगायतका कार्य गर्न सकिन्छ’, नगर प्रमुख विष्टले भने, ‘अहिले त्यसैअन्तर्गत महाकालीमा र्‍याफ्टिङ सञ्चालन गर्न सकिन्छ कि भनेर र्‍याफ्टिङ कम्पनी बोलाएर सम्भाव्यता अध्ययन गराएका छौँ, त्यसैको आधारमा अघि बढेर सञ्चालन गर्छौँ।’

नगरप्रमुख विष्टले धार्मिक पर्यटनलाई मध्यनजर गरी ब्रह्मदेवदेखि भित्री मधेसको फर्सवासम्म र्‍याफ्टिङ सञ्चालन गरिने बताए। ‘फर्सवानसम्म चलाउने योजना हो, त्यसका लागि डडेल्धुराको परशुराम राम नगरपालिकासित पनि सहकार्य र समन्वय गरी अघि बढ्छौँ',’ नगर प्रमुख विष्टले भने, ‘अहिले भीनपा क्षेत्रमा चलाउँछौँ, अहिले पूर्णागिरीका दर्शनार्थीका लागि सञ्चालन गर्न लागेका छौँ, यसबाट धार्मिक पर्यटन प्रवर्धनलाई टेवा पुग्ने आशा राखेका छौँ।’

भीनपाले पर्यटन मन्त्रालयलाई र्‍याफ्टिङ सञ्चालनमा सहयोगका गर्नका लागि यस अघि नै पत्र पठाएको थियो। महाकाली नदीमा नेपाली कम्पनीले र्‍याफ्टिङ सञ्चालन गरेको छैन। नगर प्रमुख बिष्टका अनुसार कैलालीको कर्णाली  र्‍याफ्टिङ एण्ड एडभेन्चर प्रालिले भीनपाको सहयोगमा र्‍याफ्टिङ सञ्चालनका लागि इच्छुक देखिएको छ। 

‘हामीले यसमा चलाउन प्रयास गर्‍यौँ, तर सकिएन’, कम्पनीका सञ्चालक देवराज जैशीले भने, ‘स्थानीय स्तरबाट साथ नपाएर समस्या भयो, अहिले भीनपाबाट सहयोग मिलेको छ, भारतीय कम्पनीसित सहकार्य गरी छिट्टै सञ्चालनको तयारी गर्छौँ।’

भीनपाका नगर प्रमुख बिष्ट, वडा ९ का सदस्य जयदेव जोशी, कम्पनीका जैसी, युवा व्यवसायी दिवाकर भट्टसहितले खल्लादेखि मुसेट्टीसम्म र्‍याफ्टिङका लागि स्थलगत अध्ययन गरेका छन्। ‘महाकाली नदी र्‍याफ्टिङका लागि उपयुक्त गन्तव्य हो, यहाँ त्रिशूली नदीभन्दा पनि राम्रो छ’ कम्पनीका सञ्चालक जैसीले भने, ‘त्रिशूलीदेखि ब्रह्मदेवसम्म र्‍याफ्टिङको राम्रो सम्भावना छ, यसैमा सञ्चालनको तयारी गर्छौँ।’

केही दिनमै भारतीय कम्पनीसित समन्वय गरिने कम्पनीका सञ्चालक जैसीले बताए। जैसीको कम्पनीले अहिले कर्णाली, भेरी, सेती, सानो भेरी, ठूलो भेरी, हुम्ला कर्णाली, डोल्पा कर्णाली, त्रिशूली नदीमा र्‍याफ्टिङ सञ्चालन गर्दै आएको छ। ब्रह्मदेव उत्तरको गाउँ मुसेट्टी नजिक त्रिशुलीबाट तीन वटा र्‍याप गरी ब्रह्मदेवसम्म पुग्न सकिने जैसीले बताए। 

‘पहिलो र्‍याप त्रिशूलबाट भारततिर, दोस्रो नेपालतिर र तेस्रो फेरि भारततिर गरी ब्रह्मदेव पुग्न सकिन्छ’ कम्पनीका सञ्चालक जैसीले भने। र्‍याफ्टिङ सुरु हुने त्रिशूली पूर्णागिरी डाँडाको वारि पर्छ। महाकाली नदीको मौन दृश्य पर्यटकलाई देखाउने गरी र्‍याफ्टिङको तयारी गरिएको हो। अहिले ब्रह्मदेवदेखि टुँडिखेलसम्म सडक खनिएको छ। सडकलाई छिट्टै मुसेट्टीसम्म पुगाइने भएको छ। 

भीमदत्त नगरपालिकाले र्‍याफ्टिङका लागि चाहिने सबै पूर्वाधार निर्माणमा सहयोग गर्नेछ। ‘बाटाघाटो, उज्यालो, होमस्टे, क्याम्पलगायतका सबै पूर्वाधारमा सहयोग गर्छाैँ’ भीनपाका प्रमुख विष्टले भने। 

र्‍याफ्टिङका लागि मुसेट्टी र खल्लामा होमस्टे बनाउनुपर्छ। नदी किनारमा तीन बस्तीमा होमस्टे बनाउन सकिने देखिएको छ। ब्रह्मदेव उत्तरका तीन बस्तीमा ३०० भन्दा बढी घर छन्। महाकाली नदीमा फिसिङका लागि विदेशीहरू आउने गरेका छन्। सरकारले महाकालीसहित सेती कर्णाली, भेरी बबई र राप्तीमा र्‍याफ्टिङ सञ्चालनका लागि अनुमति दिएको छ। 

युवा व्यवसायी दिवाकर भट्टले यस कार्यले भीमदत्त नगरपालिकाको मात्रै होइन, सिंगो कञ्चनपुर र प्रदेश ७ को आर्थिक समृद्धिलाई टेवा पुग्ने बताए। ‘यसलाई छिटोभन्दा छिटो सञ्चालन गरिनु पर्छ। त्यसका लागि व्यवसायीबाट गर्नु पर्ने सहयोगका लागि सधैँ तयार छाैँ,' उनले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.