कालीकोट : पश्चिम नेपालमा कला संस्कृतिको इतिहास हेर्ने हो भने देउडा गीत पहिलो स्थानमा रहेको छ। मध्य तथा सुदूरपश्चिमका प्रायः सबैको जिब्रोमा देउडा गीत झुन्डिएर रहेको हुन्छ। माया, रोदन, आँसु, बेदना र दुःख पोख्ने देउडा गीतको विगत र वर्तमान, देउडा गीतका प्रकार, अन्य देउडा इतिहासका विषयमा थाहा पाउने एउटै पुस्तक हो- ‘विगतदेखि वर्तमान, देउडाको इतिहास।’ यो पुस्तकका लेखक हुन्- जुम्ला साविकको हाकु- ६ का गोविन्दप्रसाद पाण्डे।
उनी लेखक मात्र होइनन्, सरकारी जागिरे पनि हुन्। अहिले उनी कालीकोटस्थित तिलागुफा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत हुन्। यति प्रख्यात गीतको इतिहास लेख्ने पाण्डे सरकारी जागिरेमै सीमित छन्। उनी लेखकको रूपमा खासै चर्चामा छैनन्। उनलाई नजिकबाट चिन्ने केहीले मात्र लेखकको रूपमा पनि चिन्छन् उनलाई।
यसरी जन्मियो पुस्तक
जुनबेला उनी कलेजमा पढ्दै थिए, त्यसबेला देउडा गीतले कुनै स्थान पाएको थिए। त्यसबेलाको एक मात्र विद्युतीय सञ्चार मध्यम रेडियो नेपाल, त्यसले पनि देउडालाई स्थान दिएको थिएन। सरकारबाट सञ्चालित यो रेडियोले नेपालका सबै जातजातिको पहिचानलाई स्थान दिन्छ भन्ने उनले सुनेका थिए तर व्यवहारमा भेटिएन। देउडा गीतमार्फत कुनै कलाकार पनि चर्चामा आउन सकेका थिएनन्।
मध्य र सुदूरपश्चिमेलीको पहिचान बोकेको यस गीतले स्थान नपाउँदा उनको मन कुटुक्क खान्थ्यो। उनलाई यो गीतको इतिहास पत्ता लगाउनुपर्छ भन्ने लाग्यो र इतिहास खोज्नतर्फ लागे। ‘देउडा पश्चिम नेपालमा निकै चर्चित संस्कृति हो’, उनी भन्छन्, ‘नाम चलेका कलाकार देउडा गीत नगाउने र पश्चिमका कलाकारले गाएको गीतलाई पनि त्यति स्थान नदिने भएका कारणले देउडाको इतिहास खोज्न लागेँ। इतिहास खोज्दै जाँदा पुस्तकको रूप लियो।’
उनी पुस्तक लेख्न चाहन्थे तर त्यसबेलासम्म पुस्तक लेख्ने त्यति सीप थिएन। वि.सं.२०६० मा पुस्तक लेख्नलाई पाण्डेलगायतका केही लेखकलाई मार्टिन चौतारीले डेढ महिना पुस्तक लेखन शिविर संचालन गरेर धुलिखेलको रिसोर्टमा राख्यो। त्यहीँ जन्मियो देउडाको इतिहास- ‘विगतदेखि वर्तमान, देउडाको इतिहास।’
यो पुस्तक एक हजार प्रति छापियो। एक हजार पुस्तकबाट पनि पाण्डेले राम्रै नाम र दाम कमाए। छापिएको सबै पुस्तक बिक्री पनि भयो। त्यो बेलाको क्षण सम्झिँदै उनी भन्छन्, ‘एक हजार प्रति पुस्तक सबै बिक्री भए। राम्रो कमाइ भयो।’
पाण्डेले पुस्तकमा देउडा गीत, साविकका भेरी, कर्णाली, सेती र महाकाली अञ्चलका देउडा गायकको विवरण, देउडामा कलम चलाउने लेखकको विवरण र पुराना देउडा गायकहरूको विवरण समेटेका छन्।
लेखनका लागि पश्चिम नेपालका विभिन्न जिल्लामा घुमेमा पाण्डे देउडा गीतमा विभिन्न प्रकृतिका संस्कृति माया, प्रेम, चाडपर्व, दुःख पीडा लुकेको बताउँछन्। देउडाले विभिन्न भाषा, संस्कृतिसँगै मानिसका दुःख पीडा बोकेको हुन्छ। ‘देउडा गीतले सबै प्रकार दुःख, पीडा, घोचपेच, माया-प्रेम, साथीसँगको साइनो दर्शाउँछ’, उनले भने, ‘यस विधामा धेरै प्रकारले मनभित्रका कुरा ओकल्ने गरेका छन्।’
देउडा गीत विभिन्न प्रकारका हुन्छन्। उनले थाहाखबरसँग देउडाका बारेमा यसरी बेलिविस्तार लगाए।
चाडपर्वसँग जोडिएका देउवा यस्तो हुन्छ:
साल खाया, संक्रान्ति खाया, साउनी त्यार खाइजाया
बाडुली लागेकी बेला, साई यता आइजाया।
माया प्रीतिसँग सम्बन्धित देउडा गीत:
अहिले हाट गोला हाट सक्का मानो तेल छ
आउ साली उल्लेर गइजाउ चलाइदिने रेल छ।
पीडामा गाइने देउडा गीत :
हुम्ला, जुम्ला, मुगु, डोल्पा कान्छो कालीकोट
अस्पतालमा डाक्टर छैनन् किन लाग्छै चोट?
कसैलाई घोचपेच गर्दा देउडा:
प्रश्न– मान्छे त सिपालु रै'छ रहडी पनि रहडी
तो मेरो गोठको हली कुरा नगर बढी।
उत्तर– हो हजुर म तम्रो गोठको हली मेरी जोई गाई होली
मेरी जोईका गुमत र गोबर साइकन चाइ होली।
देउडामा प्रकृति:
डोटी राम्रा डडेल्धुरा अछाम राम्रा साफ्या
मान्छे राम्रा मन मिलेका चरी राम्रा डाफ्या।
०००
निजामती कर्मचारीका रूपमा स्थानीय तहको राम्रो अनुभव सँगालेका कर्मचारीभित्र पर्छन् पाण्डे। बाँकेको कोहलपुर नगरपालिका, काठमाडौं चन्द्रागिरी नगरपालिका, मुगुको रारा छायानाथ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत भएर काम गरिसकेका पाण्डे गत फागुन महिनामा कालीकोटको तिलागुफा नगरपालिकाको प्रमुख कार्यकारी अधिकृत भएर आएका हुन्।
बाँकेको कोहलपुर नगरपालिकमा हुँदा हरित कोहलपुर नगरपालिका, कोहलपुर चौराहा पुनर्निर्माण, खुला दिशामुक्त तथा सरसफाई अभियान, सीपमूलक तालिमबाट युवाहरू रोजगार बनाउने कार्यक्रम संचालन गरेको बताउने पाण्डेले काठमाडौंको चन्द्रागिरी नगरपालिकामा रहँदा चन्द्रागिरी चक्रपथ, पर्यटकीय सर्किट, पर्यटकीय कोरिडोर र गर्जुधारामा नगरपालिका भवन निर्माण र जग्गा प्राप्तिका लागि आफूले पहल थालेको बताउँछन्।
तपाईंको ईमेल गोप्य राखिनेछ ।