कालिकोट : जिल्लाको पलाँता गाउँपालिका–१ खाँडाका अग्नीपीडितलाई विभिन्न क्षेत्रबाट राहत आउने क्रम जारी छ। देशका विभिन्न ठाउँबाट अग्निपीडितहरूलाई विभिन्न राहत आएको हो। ८ पुसको राति पलाँता गाउँपालिका–१ खाँडामा आगलागी हुँदा ८७ घर जलेर नष्ट भएका थिए भने ५ सय ४० जना विस्थापित भएका थिए।
आगलागी भएयता पलाँता गाउँपालिकाको आगलागी क्षेत्रमा दैनिक एकदेखि दुई संस्था राहत बोकेर जाने गरेका छन्। उपराष्ट्रपति छोरा राहत बोकेर पलाँता नेपाल सरकारका उपराष्ट्रपति नन्दबहादुर पुनका छोरा दीपेश पुनले मंगलबार दुई ट्रक खाद्यान्न, लत्ताकपडा, विद्यार्थीको अध्यायन सामग्री लिएर पलाँता अग्निपीडित क्षेत्रमा पुगेका छन्। उपराष्ट्रपतिका छोरा पुनले पलाँता क्षेत्रमा पुगेर तत्कालका लागि लत्ताकपडा, खाद्यान्नको आवश्यकता भएकाले राहत सामग्री लिएर पलाँता पुगेको बताए। ‘तत्कालका लागि यहाँका आगलागी पीडितलाई खाद्यान्न, लत्ताकपडा, न्यूनतम सामग्रीको आवश्यकता रहेको छ।’ उनले भने, ‘त्यही सामग्री काठमाडौंमा संकलन गरेर पलाँताका अग्नि पीडितका पुगेको हुँ।’
दीर्घकालीन रूपमा आवास र पूर्वाधार क्षेत्रका काम प्रदेश सरकार र संघीय सरकारले गर्नुपर्ने आवश्यकता रहेको पुनले बताए। ‘दीर्घकालीन योजनाका लागि प्रदेश र केन्द्र सरकारले पहल गर्नुपर्ने आवश्यकता रहेको छ।’ उनले भने,‘आवास र पूर्वाधार क्षेत्रमा काम गर्नुपर्छ।’
इभरब्रिज स्कुलको ७ लाख ५० हजारको राहत
सुर्खेतका रहेको इभरब्रिज स्कुलले खाँडाका अग्निपीडितलाई ७ लाख ५० बराबरको खाद्यान्न, लत्ताकपडा विद्यार्थीलाई स्कुल ड्रेस, क्षैशिक सामग्री खाद्यान्न वितरण गरेको छ। सुर्खेतका इभरब्रिज स्कुलका विद्यार्थीहरुले राहत संकलन त्यहाँ पुगेका पत्रकार कालिबहादुर मल्लले बताए। ‘सुर्खेतका विद्यार्थीहरूले संकलन गरेको रकम लिएर ७ लाख ५० हजार राहत सामग्री वितरण गरिएको छ।’ उनले भने, ‘विद्यार्थीहरूले संकलन गरेर दिएका हौँ।’
सुर्खेत उद्योग वाणिज्य संघको राहत
सुर्खेत उद्योग वाणिज्य संघले कालीकोटको पलाताका अग्निपीडित परिवारका लागि राहत संकलन गरेको छ। संकलित रकम र सामग्रीलाई कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई हस्तान्तरण गरिएको छ। मंगलबार संघका अध्यक्ष धनबहादुर रावत नेतृत्वको टोलीले राहत सामग्री मुख्यमन्त्री शाहीलाई हस्तान्तरण गरको हो। एक लाख २० हजार रुपैयाँको चेक र तीन लाखबराबरको अन्य सामग्री रहेको अध्यक्ष रावतले बताए।
कैलाली र बाजुराका सामान बाटोमै अलपत्र
उद्योग वाणिज्य संघ कैलाली र बाजुराका राहत सामग्री अलपत्र परेका छन्। उद्योग वाणिज्य संघ कैलाली र बाजुरा पठाएको राहत सामान बीच बाटोमै अलपत्र परेको पलाँता गाउँपालिका-१ का स्थानीय इन्द्रबहादुर रोकायाले बताए। ‘उद्योग वाणिज्य संघ कैलाली र बाजुरा पठाएको २५ बोरा राहत सामग्री जितेगडामा अलपत्र परेको छ।’ उनले भने, ‘कसैले जिम्मेवारी नलिँदा त्यो राहत सामग्री बीचबाटोमै अलपत्र परेको हो।’
कर्णाली अधिकार सरोकार समितिको राहत
पलाँताका अग्निपीडितलाई कर्णाली जनअधिरका सरोका समितिले काठमाडौंमा संकलन गरेको २ ट्रक राहत सामग्री पलाँतामा पुगेको जनअधिकार सरोकार समितिका अध्यक्ष प्रकाश रोकायाले बताए। ‘राहत सामग्री लिएर हामी पलाँतामा पुगेको छौं।’ उनले भने,‘पीडितलाई एक कार्यक्रमका बीचमा बितरण गर्ने तयारी थालेका छौँ।’ राहत सामग्रीमा विद्यार्थी स्कुल ड्रेस, कम्बल, लुगा र बाकस रहेको रोकायाले बताए।
स्वास्थ्य शिविर संचालन
पलाँताका अग्निपीडित क्षेत्रमा युवा नेता भुपेन्द्रजंग शाहीको पहलमा नेपालगंज मेडिकल कलेजले आगलागी भएको पलाँता क्षेत्रको खाँडामा पुस १८ र १९ गते दुई दिने शिविर सुरु गरेको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।