कालिकोट : सडकले नछोएका कर्णाली प्रदेशका दुई जिल्लाका नागरिकहरूले हवाई भाडामा छुट पाउने भएका छन्। सडक सञ्जालले नछोएका कर्णाली प्रदेशका डोल्पा र हुम्ला जिल्लाका नागरिकहरूले हवाई भाडामा छुट पाउने भएका हुन्।
कर्णाली प्रदेशको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले डोल्पा र हुम्ला जिल्लाका ६० वर्षमाथिका जेष्ठ नागरिक र पूर्ण रुपमा अपाङ्गता भएका नागरिकलाई हवाइ टिकटमा एक हजार सहुलियत दिन शुरु गरेको छ। कर्णाली प्रदेश सरकारको नीति तथा कार्यक्रम र बजेटमा नै डोल्पा र हुम्लाका जेष्ठ नागरिक र अपाङ्गता भएका व्यक्तिहरुलाई हवाइ भाडामा छुट दिने निर्णय गरिएको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री नन्दसिंह बुढाले बताए। ‘कर्णाली प्रदेशका हुम्ला र डोल्पाका नागरिकलाई सहुलियतमा हवाइ भाडा छुट गर्ने निर्णय गरेका थियौँ।’ उनले भने,‘त्यसै अनुरुप चालु आर्थिक वर्षमा हवाई भाडामा छुट दिन थालिएको छ।’
एक करोड बजेट
दुई जिल्लाका नागरिकलाई भवाई भाडा छुट दिनका कर्णाली प्रदेश सरकारले एक करोड रुपैयाँ बजेट विनियोजन गरेको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
सेवा प्रदान गरेबापत हवाइजहाज कम्पनीले यात्रुबाट बोर्डिङ पास प्रिन्ट वा ई–कपी टिकट राखेर अभिलेख र लेखा परीक्षणसहित पेश गरेर मन्त्रालयबाट भुक्तानी लिने मन्त्री बुढाले बताए। सहुलियत दरको हवाइ सेवा नेपालगञ्ज, सुर्खेत विमानस्थलबाट मात्र पाउने उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।