उदयपुरः उदयपुरका होटलहरुको सरसफाइ सम्बन्धी परीक्षा हुने भएको छ। सरकारले गाईघाटका होटेलहरुको वर्गिकरण गर्न होटेलहरुको परिक्षा लिने भएको हो। उदयपुर सदरमुकाम गाईघाटमा यसै बर्ष स्थापित खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले होटेल बर्गिकरण गर्न परिक्षा लिने भएको जानकारी दिइएको छ।
विभिन्न ५० वटा सूचकहरुलाई आधार मानेर होटेल बर्गिकरण गरिने खाद्य प्रविधी तथा गुण नियन्त्रण डिभिजन कार्यालय उदयपुरले जनाएको छ।कृषि तथा पशुपन्छी विकास मन्त्रालयद्धारा जारी खाद्य स्वच्छताको आधारमा होटेल रेष्टुरेष्ट स्तरिकरण गर्ने सम्बन्धि निदेशिका २०७४ अनुसार गाईघाटका होटेलहरु बर्गिकरण गर्न लागिएको डिभिजन प्रमुख रमेश दाहालले जानकारी दिए।
डिभिजन प्रमुख दाहालका अनुसार निर्देशिकाले तोकेको मापदण्ड अनुसार चार वर्गमा विभाजित गरेर वर्गिकरण गरिने छ। ‘अति उत्तम, उत्तम, सन्तोष जनक र सामान्य गरि होटेलहरुको विभाजन गरिने छ।’
कार्यालय प्रमुख दाहालका अनुसार ‘५० वटा सूचकहरुलाई अनुगमन टोलीले अनुगमन गर्दा आउने प्राप्ताङ्कलाई सय मानेर नम्बर दिईने छ।’ जिल्ला स्थित सरोकारवालाहरुको संयुक्त अनुगमन टोलीले होटेल वर्गिकरण गरेपछि हरियो र पहेलो रंगको स्टिकर टाँस गरिने छ।
वर्गिकरण सुचक पुरा भएर ९० भन्दा माथि नम्बर प्राप्त गरेमा अतिउत्तम लेखिएको हरियो रंगको ३ तारा भएको स्टिकर, ८० भन्दा माथि ८९ अंक प्राप्त गर्नेलाई २ तारा भएको उत्तम लेखिएको पहेलो रंगको स्टिकर, ६५ देखी ७९ अंक प्राप्त गर्नेलाई १ तारा रहेको पहेलो रंगको स्टिकर र ५० देखी ६४ अंक ल्याउने होटेललाई सामान्य लेखिएको पहेलो रंगको स्टिकर टाँस गरिने जनाइएको छ।५० भन्दा पनि कम अंक ल्याउने होटेलहरु संचालन गर्न अयोग्य हुने कार्यालयले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।