|

जनकपुरधाम : जनकपुरधाम प्रदेश २ को केन्द्र हो। तर, यो ‘फोहोरको राजधानी’ समेत हो। टाढा जानुपर्दैन, जनकपुरधाम उप-महानगरपालिका ५ स्थित वभनदही पोखरी नियाले पुग्छ। पोखरी नै पोखरीको सहर भनेर चिनिने जनकपुरधाममा पोखरै नै दूषित भएपछि डेँगु र टाइफाइड निम्त्याउने कारखाना नै बनेको छ। ‘जनकपुरधामको मुख्य समस्या भनेकै फोहोर हो’ स्थानीय सुशील कर्णले भने।

जनकपुरधामको मुख्य बजार र चोकमा थुप्रिएको फोहोरले जनकपुरधाम समस्या ग्रस्त भएको उनको निष्कर्ष छ। ‘काठमाडौंबाट ७ दिनको भ्रमणमा कोही आयो भने, २ दिन नबित्दै भ्रमण छोट्याएर फर्कन्छ। कारण जनकपुरधामको दुर्गन्धले नै हो’ उनको भनाइ थियो। तराई मधेश र मिथिलाञ्चलको पावन भूमि जानकी मन्दिर, राम मन्दिर, गंगासागर, धनुषसागर, स्वर्गद्वारा, गांगाआरती, धनुषाधाम लगायतका स्थानहरूले आ-आफ्नै विशेषता बोकेको पर्यटकीय र धार्मिक महत्वको क्षेत्र हो जनकपुरधाम। तर, फोहोर दुर्गन्धले जनकपुरको परिचय लुकाइदिएका छन्।

‘प्राचिन मिथिलाको राजधानीसमेत रहेको भनिएको जनकपुरधाम उप-महानगरपालिका भित्रमा जताततै फोहरै फोहर रहेको छ। सुन्दर, शान्त, सफा तथा ग्रीन जनकपुर क्लिन जनकपुरको नारा पटक-पटक प्रयोग गर्नमा पछि नहटने जनकपुरबासी फेरि फोहोर भने सडकमै फाल्छन।’ रामयुवा कमिटीका सदस्य प्रमोद मण्डलले भने।

जनकपुरधाम प्रवेश गर्ने मुख्यद्वारको सडकहरूमा जताततै फोहर नै फोहर भएर प्रदुषण बढेको छ। बजार एवं नगरक्षेत्रभित्र रहेका विभिन्न व्यक्तिको घरका फोहर सडकमै फालिएका कारण यहाँ आउँने पर्यटक सर्बसधारणले मुख छोपेर हिडडुल गर्नुपर्ने अवस्था छ। जताततैको फोहरका कारण यहाँ आउने मानिसले बस्ने चाहना हुँदै हुदैपनि दिक्क मानेर फर्किनुपर्ने बाध्यता छ।

यसरी फोहर फाल्ने उचित ठाउँको अभाव, नगर क्षेत्रभित्रै जताततै फोहोरको थुप्रो, खुला नाला, हिलाम्य बाटो, छाडा गाईवस्तु तथा लामखुट्टे आतंकले ऐतिहासिक सहर जनकपुरधाम पहिचान र प्रतिष्ठा गुम्दै गइरहेको छ। उप–महानगरपालिका घोषणा भएको झन्डै वर्ष दिन बढी समय भइसकेको छ। तर, उचित ‘डम्पिङ साइट’को अभावमा सडक पेटीमै फोहोर फ्याँक्न बाध्य भएको जनकपुर उपमहानगरपालिकाको भनाई छ। जनकपुरलाई सघीय प्रान्तको अस्थायी राजधानी भएपनि स्थायी बनाउन दिनहुँजसो राजनीतिक कसरत हुने गरेको छ। तर, फोहोर फाल्ने स्थायी ठाउँको अभावमा जनकपुर दुर्गन्धित बन्दै गइरहेको छ।

जनकपुर उप-महानगरपालिकाभित्र दैनिक २५ देखि ३० टन फोहोर निस्कने गरेको छ। त्यसको विसर्जन भने ऐतिहासिक नदी, पोखरी किनार, जिरोमाइल, मुजेलिया, पिराडीको सडक छेउमै गर्नाले मानव स्वास्थ्यमा प्रतिकूल असर पर्ने गरेको जनगुनासो आउन थालेको छ। त्यस्तै, जनकपुरको मुटु मानिने शिव चोकस्थित होटल वेलकमबाट निस्कने फोहरका कारण त्यहाँका व्यापारीलगायत बटुवा नाक थुनेर हिँड्नुपर्ने स्थिति रहेको स्थानीय व्यापारीहरू बताउँछन्।

जनकपुरधाम डेरा लिएर बस्दै आएकी महोत्तरी गौशाला नगरपालिका निवासी सृजना सिंहले भनिन्, ‘स्वच्छ, सुन्दर र समुन्नत जनकपुरको कल्पना तब नै सम्भव छ, जब यहाँ जथाभावी फोहोर फाल्ने काम बन्द हुन्छ। जनकपुर एकातिर कुरूप बन्दै गइरहेको छ भने अर्कोतिर महामारीको जोखिममा पर्दै गएको छ। त्यसैले यसको सुधारको लागि अब यहाँको मानिस लाग्नुपर्छ।’

जनकपुरको पहिचानको मुख्य आधार यहाँको मठमन्दिर हुन्। यहाँ देश विदेशबाट आउने पर्यटक मध्ये ९० प्रतिशत भारतीय पर्यटक रहेका छन् तर जनकपुरको दुरावस्था देखेपछि पुनः फर्केर आउने उनीहरुको मन हुँदैन। यस अतिरिक्त सुँगुरको बथान, बन्द ढल तथा सरसफाइको अभावका कारण जनकपुर नगरको अवस्थामा खासै सुधार आउन नसकेको जनकपुरधाम उप-महानगरपालिकाको सरसफाइको जिम्मा पाएका धनुषा विकास केन्द्रका अध्यक्ष धर्म मण्डल बताउँछन्।

यहाँका जनताले जिम्मेवारी बोध नगर्दा खुल्ला ठाउँमा दिसापिसाब गर्ने आम चलन हट्न सकेको छ। नगर क्षेत्रभित्र सार्वजनिक शौचालयको पनि अभाव छ। नगर क्षेत्रको विकासका लागि बर्सेनि आउने अर्बौं रुपैयाँ नगरको विकासमा नभएर राजनीतिक भागबन्डामा सकिने भएकाले विकासले गति लिन नसकेको नगरवासीको आरोप छ। एसियाली विकास बैंक (एडिबी) ले यहाँको फोहोर व्यवस्थापन गर्न डम्पिङ साइटको निर्माणका लागि रकम उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि राजनीतिक खिचातानीले त्यो काम हालसम्म भएको छैन।

पर्यटकीय दृष्टिकोणले पनि जनकपुर महत्वपूर्ण मानिन्छ। जानकीको ऐतिहासिक मन्दिर, राम मन्दिर, जनक मन्दिरलगायत अनेकन पर्यटकीय गन्तव्य यहाँ छन् तर तिनको सम्बर्द्धन र प्रवर्द्धनतर्फ कसैको ध्यान गएको छैन। छिमेकी मुलुक भारतका शहरहरूमा भएका पूर्वाधारका विकाससँगै मिथिलाञ्चलका जनकपुरले पनि आफ्नो पहिचानलाई जीवन्त राख्न सक्नुपर्छ भन्ने आवाज पटकपटक उठ्ने गर्छ तर काम भने त्यसअनुरूप भएको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.