प्रेसर कुकर बम ल्याउने सुरक्षा गार्ड पक्राउ, विस्फोट गराएको दृश्य सिसिटिभीमा कैद
प्रेसर कुकर बम ल्याउने सुरक्षा गार्ड पक्राउ, विस्फोट गराएको दृश्य सिसिटिभीमा कैद
ललितपुर : नक्खुमा रहेको एनसेल टावरको मूल ढोकामा भएको बम विस्फोटमा उक्त टावरको सुरक्षामा खटिएका गार्डहरूको संलग्नता रहेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।
शुक्रबार राति साढे ८ बजे भएको बम विस्फोटमा एकजना गम्भीर घाइते भएका छन् भने दुई जना सामान्य घाइते भएका छन। घाइते हुनेमा प्रतिक्षा खड्का, सिंहप्रसाद गुरुङ र उरुसा मानन्धर रहेको प्रहरीले जानकारी दिएको छ। उनीहरूको अहिले ललितपुरको मेडिसिटी अस्पतालमा उपचार भइरहेको छ। गम्भीर घाइते हुनेमा सिंहप्रसाद गुरुङ रहेको ललितपुर प्रहरी परिसरका वरिष्ठ उपरीक्षक (एसएसपी) रवीन्द्र धानुकले जानकारी दिए।
गम्भीर घाइतेको आन्द्रा बाहिर आएको र कम्मर मुनीको भागमा पूर्ण क्षति भएको प्रत्यक्षदर्शीले बताए।
उक्त बम विस्फोटमा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार नियन्त्रणमा लिइएका दुवै जना एनसेल टावरको सुरक्षाका लागि खटिएका गार्ड हुन्। उनीहरूको नाम भने प्रहरीले गोप्य राखेको छ।
अनुसन्धानमा संलग्न प्रहरी उच्च अधिकारीहरूका अनुसार बम विस्फोट हुनु केही समय पहिले एनसेल टावर अगाडि तीन मोटरसाइकलमा हतियारधारी आएका थिए। उनीहरूले गार्डहरूसँग केही कुरा गरेर निस्किएका थिए। सिसिटिभी फुटेज हेरेका ती प्रहरी अधिकारीकाअनुसार हतियारधारी गए लगत्तै सुरक्षा गार्ड भित्र गएर बम ल्याएर विस्फोट गराएका थिए।
विस्फोट गराइएको बम प्रेसर कुकर बम भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट देखिएको छ। ती दुवै सुरक्षा गार्ड यसअघि सेनामा काम गरेका व्यक्ति रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ।
विप्लवको पार्टीले प्रयोग गरेको आशंका
नेपाल प्रहरीले एनसेल टावरको सुरक्षामा खटिएका व्यक्तिहरूलाई नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले प्रयोग गरेको हुनसक्ने आशंका गरेको छ। उक्त घटनाको तार विप्लवसँग जोडिएको कुरा प्रारम्भिक अनुसन्धानमा देखिएको प्रहरी अधिकारीहरूले बताएका छन्।
प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले पनि यो कुरा अस्वीकार गरेनन्। उनले अनुसन्धान जारी रहेकोकाले निर्क्यौलमा भने प्रहरी पुगिनसकेको बताए।
स्थानीयमा आतंक
नक्खुमा बम विस्फोट भएपछि स्थानीयमा त्रास पैदा भएको छ। बम विस्फोटबाट घटनास्थल वरपरका तीन घरका झ्याल र ढोकाका सीसा पूर्णरूपमा फुटेका छन्।
नक्खुसँगै काठमाडौंको नक्सालमा पनि बम फेला परेको थियो। उक्त बमलाई भने नेपाली सेनाले निस्कृय पारेको छ।
प्रहरी प्रवक्ता सुवेदीले राजधानीको सुरक्षाव्यवस्था कडा पारिएको जानकारी दिएका छन्।
घाइतेको उपचार भइरहेका तस्वीर विजय रिमालको फेसबुकबाट लिइएको हो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।