|

सुर्खेत : राष्टिय प्रजातन्त्र पार्टी (संयुक्त)का अध्यक्ष पशुपति शम्सेर राणाले सरकार  डुङडुङती  गन्हाएको आरोप  लगाएका छन्। नेकपा नेतृत्वको दुई तिहाइसहितको सरकार भ्रष्टाचारमा चुर्लम्म डुबेर डुङडुङती गन्हाएको उनको आरोप छ। 

कार्यकर्ता भेटघाटका क्रममा सुर्खेत आएका अध्यक्ष राणाले पत्रकारहरूसँग कुरा गर्दै अहिलेको सरकारले वडास्तरसम्म भ्रष्टाचारलाई केन्द्रीकृत र संस्थागत गरेको आरोप समेत लगाए। ‘अहिले वडास्तरसम्म भ्रष्टाचारको केन्द्र नेकपा बनेको छ,’ उनले भने, ‘दुई तिहाइको सरकार भएर पनि जनताले सुशासनको अनुभूत गर्न पाएका छैनन्,गफ गरेर विकास हुँदैन।’

नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेकपालाई सरकारले प्रतिबन्ध लगाएकाबारे अध्यक्ष राणाले पहिले सरकारले आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गरे। ‘प्रतिबन्ध लगाउन सरकारले पहिले आफ्नो अनुहार ऐनामा हेर्न आग्रह गर्दछु,’ उनले भने, ‘सरकारले पहिले आफ्ना काम र गतिविधि सुधार गर्नु पर्‍यो, अनि मात्र अर्काको विषयमा बोल्दा ठिक होला।’

तर, कसैले संविधानभन्दा बाहिर गएर हतियार उठाउनु ठिक नभएको उनको तर्क छ। यस्तै, सिके राउतले नयाँ पार्टी गठन गरी राजनीतिक मूलधारमा आउनु राम्रो भए पनि जनमत सङ्ग्रहको कुरा गलत भएको र त्यो हुनै नसक्ने उनले टिप्पणी गरे।

राणाले प्रधानमन्त्री केपी शर्मा ओलीले आफूलाई धम्की दिएको भन्दै धम्कीबाट आफ्नो पार्टी नडराउने बताए। ‘एक कार्यक्रममा प्रधानमन्त्री ओलीले विप्लवलगायत त्यो पुरानो कुरा ल्याउँछु भन्नेहरूलाई निमिट्यान्न पार्छु भनेर धम्की दिनुभएछ,’ राणाले भने, ‘हामी डराउनेवाला होइनौँ, दम भए कारवाही गरे हुन्छ। आफू काम गर्नु छैन अर्कालाई धम्काएर हुन्छ?’

८१ प्रतिशत हिन्दु र ९४ प्रतिशत ओमकार परिवार भएको देशमा धर्मनिरपेक्ष हुनु गलत भएको उनको  दाबी छ। कमल थापा नेतृत्वको राप्रपासँग पार्टी एकता हुने तर चुवाव चिह्न हलो हुनुपर्ने उनको अडान छ।

राप्रपा संयुक्तका अर्का अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले प्रधानमन्त्रीेले घुमाउरो पारामा राजतन्त्र ल्याउँछु भन्नेलाई धम्क्याएको भन्दै सरकार अभिनायकवादी भएको आरोप लगाए। 

प्रजातन्त्र सबैका लागि आएको भन्दै लोहनीले यो समयमा धम्क्याएर कोही नधम्किने प्रष्टीकरण दिए। अहिलेको राष्ट्रपति पार्टीगत तरिकाले चलेको र निष्पक्ष रूपमा काम नगरेकोले राजसंस्थाको आवश्यक्ता महसुस भएको उनले तर्क गरेका थिए।

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.