|
फाइल फोटो

काठमाडौं : के तपाईं त्रिभुवन विश्वविद्यालयले उपलब्ध गराउने काजजातका लागि घण्टौँ लाइन लाग्नुपर्ने भएर र त्यसपछि पनि साता दुई साता कुर्नुपर्ने भएर हैरान हुनुहुन्छ? अब चिन्ता नलिनुहोस्। त्रिभुवन विश्वविद्यालयले अब एक दिनमै ट्रान्सकिप्ट (लब्धांक पत्र) उपलब्ध गराउने भएको छ। जुनदिन फारम भरिन्छ, त्यहि दिन नै ट्रान्सकिप्ट लिन सक्नु हुनेछ। यो सेवा नयाँवर्ष २०७६ सालको पहिलो साताबाट सञ्चालन हुने त्रिविले जनाएको छ।

त्रिविले यसका लागि जेठ महिनाबाट परीक्षा व्यवस्थापन सूचना प्रविधि प्रणाली सुरु गरेको छ। विद्यार्थीले ट्रान्सकिप्ट पाउन कहिले महिना त कहिले हप्ता दिन नै कुर्नुपर्ने हुन्थ्यो। आफ्नो शैक्षिक योग्यताको लब्धांक पत्र लिन पनि महिनौ दिन कुर्नु पर्ने बाध्यताले विद्यार्थीलाई आजित बनाएको थियो।

विद्यार्थी समस्यामा परिरहेका थिए। दिनदिनै एउटै कामका लागि हिँड्न बाध्य थिए उच्च शिक्षा हासिल गरेका विद्यार्थी। विद्यार्थीको यही समस्यालाई मध्यनजर गरी गत जेठ महिनामा बसेको शिक्षा व्यवस्थापन समितिको बैठकले यो नीति अघि सारेको त्रिभुवन विश्वविद्यालय कीर्तिपुरका परीक्षा नियन्त्रक पुष्पराज जोशीले बताए। उनकाअनुसार स्नातक तहको शिक्षा शास्त्र संकायको ट्रान्सकिप्ट जेठ महिनाबाटै फर्म भरेकै दिन उपलब्ध गराउन लागिएको हो। अन्य संकायको ट्रान्सकिप्ट भने २०७६ सालबाट उपलब्ध गराउने तयारीमा रहेको छ। निर्देशक जोशीले भने, ‘विद्यार्थीको ट्रान्सकिप्ट लिने सबै प्रक्रिया मिलेपछि फारम भरेको २४ घण्टाभित्रमा हामीले ट्रान्सकिप्ट उपलब्ध गराउने छौं।’

आगामी वैशाख महिनाको पहिलो हप्ताबाट त्रिविले विज्ञान, व्यवस्थापन, कानुन, मानविकीजस्ता त्रिविमा अध्ययन हुने सम्पूर्ण संकायको ट्रान्सकिप्ट एक दिनमै उपलब्ध गराउने छ। त्रिभुवन विश्वविद्यालयले अब आफूलाई सूचना प्रविधिमैत्री बनाउने प्रयत्न गर्दै छ। जोशीले भने, ‘हामी त्रिविलाई कागजविहीन बनाउन चाहान्छौं। यसकै लागि सम्पूर्ण कर्मचारी जुटिरहेका छौं।’ उनकाअनुसार त्रिविलाई कागजविहीन बनाउने भए पनि कार्यालयमा कर्मचारी एकजना पनि थपिएको छैन। उनले भने, ‘हामी पहिलेकै कर्मचारी संख्यामा सीमित छौं। त्रिविमा कर्मचारी बढ्ने होइन। घट्दो क्रममा छ।’

जोशीले एक दिनमै ट्रान्सकिप्ट दिनका लागि विद्यार्थीको कमजोरी नभए सजिलो हुने बताए। उनले कहिले विद्यार्थीको नाममा गल्ती त कहिले क्याम्पसको नाममा गल्ती बढी भेटिने गरेको बताए। विद्यार्थीको ट्रान्सकिप्ट लिने प्रक्रियामै गल्ती भएपछि एक दिनमै ट्रान्सकिप्ट उपलब्ध गराउन नसकिने उनले बताए।

ट्रान्सकिप्ट छपाईमा कम्प्युटरको प्रयोग

अघिल्ला वर्षहरूमा सबै काम हातैले लेखेर गरिन्थ्यो। लेजरकापी पल्टाएर एक-एक गरी खोज्नुपर्ने बाध्यता थियो। तर अब त्रिविले ट्रान्सकिप्टका लागि कम्प्युटर प्रविधिको प्रयोग गर्ने भएको छ। कम्प्युटरकै सहयोगले लेख्ने र प्रिन्ट गर्ने भएकाले नै दैनिक करिब एक हजार विद्यार्थीलाई ट्रान्सकिप्ट उपलब्ध गराउन सम्भव भएको जोशीले बताए। उनले विभिन्न तह र संकायका नौ ठाउँलाई एकीकृत गरी एक ठाउँबाट उक्त प्रविधि प्रणाली प्रयोग गरी ट्रान्सकिप्ट दिइने बताए। उनका अनुसार उक्त प्रविधिले एक मिनेटमा ४५ ट्रान्सकिप्ट छाप्ने गरेको छ।

विगतका वर्षहरूमा भने एक मिनेटमा एउटा मात्र ट्रान्सकिप्ट छापिन्थ्यो। सोही प्रणालीअनुसार त्रिविले रजिष्टार, परीक्षा फाराम, नतिजा प्रकाशन र प्रोभिजनल सर्टिफिकेटसमेत वितरण गर्नेछ।

अहिले त्रिभुवन विश्वविद्यालयका एक हजार १०८ क्याम्पसमा ७ लाखको हारहारीमा विद्यार्थी छन्। अघिल्लो वर्ष ६ लाख ७० हजार विद्यार्थीले परीक्षा दिएका थिए। त्रिविमा दैनिक १ हजारदेखि १५ सय विद्यार्थी ट्रान्सकिप्ट लिन आउने गरेकाे जोशीले बताए।

जोशीले यो विद्यार्थीलाई सहज होस् भन्ने लक्ष्यले सुरु गरेको बताए। उनले विद्यार्थीलाई सजिलो हुने गरी टोकन प्रणलीमार्फत एकै ठाउँबाट शुल्क र फारम बुझाएपछि सोही ठाउँबाटै २४ घण्टाभित्रमा ट्रान्सकिप्ट उपलब्ध गराइने जानकारी दिए। उनले यसका लागि सम्पूर्ण कर्मचारी,सम्बन्धित संस्थाहरू सक्रिय रहेको बताएका छन्।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.