कपिलवस्तु : पश्चिम तराइमा उत्पादन हुँदै आएको कालानमक, गौरिया, आपसुक्ते, झिनुवा, रातोअनदी, थापाचिनी र स्यामजिरा जस्ता स्थानीय जातका धान लोप हुने अवस्थामा पुगेका छन्। किसानहरूले बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थाले पछि स्थानीय जातका धानहरू हराउँदै जान थालेका हुन्।
स्थानीय जातको धानको बजार भाउ अन्य धानको तुलनामा धेरै छ। तर उत्पादन कम हुने भएकाले बाँके, बर्दिया, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीका किसानले स्थानीय जातका धानको खेती गर्न छाडेर बढी उत्पादन हुने उन्नत तथा हाइब्रिड जातका धानखेती गर्न थालेका छन्। मसिनो, बास्नादार र स्वादिलो भएका कारण झिनुवा, रातोअनदी, थापाचिनी, स्यामजिरा, कालानमक र मसिनो बासमती जस्ता स्थानीय जातको चामल उपभोक्ताबीच लोकप्रिय छ।
पछिल्लो समय नेपालको तराई भेगमा ७४, मध्य पहाडी क्षेत्रमा ३० र उच्च पहाडी क्षेत्रमा १० प्रतिशत उन्नत जातका धानको खेती हुँदै आएको छ। वर्षेनी नयाँ र उन्नत जातका धानखेती गर्ने क्रम बढ्दै गएका कारण धानका रैथाने जातहरू संकटमा पर्ने खतरा बढ्दै गएको राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्र (जिन बैंक) का प्रमुख कृष्ण कुमार मिश्रले बताए। हाल जिन बैंकले ११ हजार रैथाने बीउ बैंकमा राखेको उनले बताए।
२० औं शताब्दीसम्ममा नेपालबाट आधा भन्दा बढी रैथाने बीउहरू लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ। पछिल्ला दिनहरूमा किसानका खेतमा कालो रंगका स्यामजिरा, कालानमक र मसिनो बासमती धानका बालाहरू झुलेको देखिन छाडेको प्रति उनको दुखेसो छ।
जनसंख्या बृद्धिलाई मुख्य समस्या बनाएर अहिले किसानले उन्नत र हाइब्रिड जातका धानखेती गर्दै आएको किसानहरुको भनाइ छ। नयाँ पुस्ताले रैथाने बिउको प्रयोग गर्नै नचाहेको दुखेसो पोख्दै ७८ बर्षिय कावासोती नगरपालिका १४ अग्यौलीका अगुवा कृषक उत्तम कुमार सिग्देल भन्छन्, 'रोगप्रतिरोधात्मक धानको बिउ अहिले लोप भयो, व्यापार व्यासायतर्फ नयाँ पिढी लाग्दा दोस्रो पुस्ताले हाम्रा बाउबाजेले यो धानखेती गर्थेर भनेर चकित पर्ने दिन आउन सक्छ।'
उता परिवारका सबै सदस्यहरूले पेटभरी खानु पर्ने भएकाले कम स्वादिलो भए पनि उन्नत र हाइब्रिड जातका धानखेती गर्नुपर्ने अवस्था आएको रुपन्देहीका धीरेन्द्रनाथ शुक्ला बताउछन्। दाङको घोराही उपमहानगरपालिका, २ रामपुरका कमला भण्डारीका अनुसार मसिनो बासमती, कालानमक र स्यामजिरा जस्ता धानका लागि अन्य जातका धानको भन्दा धेरै पानी चाहिन्छ। उत्पादन पनि उन्नत र हाइब्रिड जातका धानको तुलनामा कम हुन्छ। यस्तै बाँसगढी नगरपालिका १ बनमुडुवा बर्दियाका कृषक सीता क्षेत्रीले पनि रैथाने धानको बीउ संरक्षणमा सबैको हातेमालो हुनुपर्ने तर्क गर्छिन्।
बाली विकास तथा कृषि जैविक विविधता संरक्षण केन्द्र, ललितपुरका बरिष्ठ माटोबिज्ञ डा. जर्नाजन खड्काले लोपोन्मुख बीउको संरक्षण गर्ने योजनाअनुरुप आफूहरूले काम गरिरहेको बताए। धर्मसंस्कृति र परम्परासंग संवन्धित बालीको महत्व, गुण भएकाले त्यस्को महत्व किसानमाँझ पुर्याउनु पर्नेमा जोड दिए। उनका अनुसार रैथाने जातका ती धानहरूलाई तयार हुनका लागि १३५ देखि ४० दिन लाग्छ भने नयाँ उन्नत तथा हाइब्रिड जातका धानहरू १२० देखि २५ दिनमा तयार हुन्छन्।
अन्तर्राष्ट्रिय धान अनुसन्धान प्रतिष्ठान (इरि) नेपालका प्रमुख कृष्ण जोशी नेपाल खेती प्रणाली रुपान्तरणको पर्खाइमा रहेको बताउछन्। रैथाने धानबालीको संकलन, अध्ययनमा मात्र सीमित नभएर आगामी केहट्ठ वर्षमा ब्राण्डिङका साथै बजारीकरण गर्ने तयारी रहेको जोशीको भनाई छ। पश्चिम तराईका अधिकांश जिल्लामा प्रयाप्त सिंचाइको सुविधा नभएका कारण किसानले पानी बढी चाहिने बासमती र स्यामजिरा जस्ता स्थानीय जातका धानहरू खेती गर्न छाडेर सुख्खा सहन सक्ने राधा ४, सुख्खा १ देखि सुख्खा ६ सम्मका उन्नत जातका विभिन्न हाइब्रिड धानखेती गर्न थालेका छन्।
रैथाने जातका धानहरू प्रति हेक्टर ३ मेट्रिक टनसम्म उत्पादन हुन्छ भने उन्नत र हाइब्रिड जातका धानहरू प्रति हेक्टर ५ मेट्रिक टनसम्म उत्पादन हुन्छ। पश्चिम तराइमा खेती हुँदै स्थानीय जातका धानलाई लोप हुन नदिन राष्ट्रिय कृषि आनुवंशिक स्रोत केन्द्रले ती जातका बीउ संकलन गरेको छ। पछिल्लो समय पश्चिम नेपालमा लामो समयदेखि किसानले खेती गर्दै आएका लोपोन्मुख अवस्थामा रहेको झिनुवा, रातोअनदी, थापाचिनी, रातो अनदी, गर्रा, कराङ्गी मेघादूत, तिल्की, घिनुवा, मानसरा, अन्जना, लगायत २९ वटा स्थानीय जातका धानका बीउहरू संकलन गरी ती धानहरूमा रहेको जीन बैँकमा सुरक्षित रुपमा राखिएको छ।
धानबाली अनुसन्धान केन्द्रले रैथाने जातका धानहरूमा भएका रोग सहन सक्ने क्षमता, सुख्खा तथा डुबानको अवस्थामा खेती गर्दा देखिने समस्याका अतिरिक्त बास्ना तथा स्वाद लगायतका विशेषताहरूका बारेमा अध्ययन गरिरहेको छ। नेपालका रैथाने जातका धानका गुण भएको, उत्पादन धेरै हुने, कम पानी लाग्ने र छिटो पाक्ने धानका नयाँ जात विकसित गर्नका लागि सरोकारवालासँग निरन्तर प्रयास गरिरहेको कृषि ज्ञान केन्द्र कपिलवस्तु का प्रमुख सहसराम चौधरीले बताए।
तपाईंको ईमेल गोप्य राखिनेछ ।