|

बुटवल : अज्ञात समूहले गोली हानी हत्या गरेका युवा संघ नेपाल रुपन्देहीका कार्यवाहक अध्यक्ष दुर्गा तिवारीलाई शहीद घोषणा गर्न राखेको माग जिल्ला सुरक्षा समितिले गृह मन्त्रालयमा पठाएको छ। 

एमालेले बुधबार तिवारीलाई शहीद घोषणा गर्न माग गर्दै जिल्ला पशासन कार्यालय रुपन्देहीमा निवेदन दिएको थियो। तिवारीलाई शहीद घोषणा गर्ने–नगर्ने काम गृहमन्त्रालयको भएकाले आफूहरुले आएको माग जस्ताको तस्तै केन्द्रमा पठाएको जिल्ला सुरक्षा समितीका संयोजक एवं रुपन्देहीका प्रमुख जिल्ला अधिकारी विनोद प्रकाश सिहंले जानकारी दिए। ‘आएको माग आवश्यक कारबाहीका लागि गृहमा पठाएका हौँ, उनले भने।

शहीद घोषणा नहुन्जेल शव नउठाउने अडान एमाले नेताहरुले राख्दै जिल्ला प्रशासनमा निवेदन दिएका थिए। उक्त माग जस्ताको त्यस्तै माथि पठाएपछि शवको पोस्टमार्टम गरी दाहसंस्कार प्रक्रिया अगाडि बढेको छ।

घटनाको अनुसन्धानका लागि एआइजी विज्ञानराज शर्माको संयोजकत्वमा गठित समिति पनि बुधबार रुपन्देही आएको छ। समितिले घटनास्थल देवदहको स्थलगत अवलोकन गरी थप अनुसन्धान थालेको छ। तिवारी हत्या प्रकरणमा सोधपुछका लागी प्रहरीले ४ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीले ३ जनालाई मगंलबार र एक जनालाई बुधबार नियन्त्रणमा लिएको हो। पक्राउ परेकाहरुमाथि अनुसन्धान जारी रहेको रुपन्देहीका प्रहरी प्रवक्ता डिएसपी बेल बहादुर पाण्डेले जानकारी दिए। बयानका क्रममा हत्या पुष्टि हुने प्रमाणहरु उनिहरुबाट जुटेको छैन। पक्राउ परेका चारै जना रुपन्देहीकै हुन्।

तिवारीको सोमबार दिउसो रुपन्देहीको देवदहमा गोली प्रहार गरी हत्या भएको थियो। उनको हत्यामा यसअघि पनि विभिन्न अपराधमा सलग्न भई फरार रहेका मनोज पुनको संलग्नता रहेको निष्कर्षमा पुगेपनि प्रहरीले उनलाई पक्राउ गर्न सकेको छैन।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.