यस्तो छ मेलम्चीको इतिहास, लागत सात गुणा बढ्यो
यस्तो छ मेलम्चीको इतिहास, लागत सात गुणा बढ्यो
काठमाडौं : बहुप्रतिक्षित मेलम्ची खानेपानी आयोजनाको बाँकी काम सक्न दुई कम्पनीले टेण्डर हालेका छन्। ९३ प्रतिशत काम सकिएको दाबी गरिएको आयोजनाको सात प्रतिशत काम सक्न एक नेपाली र एक चिनियाँ कम्पनीले टेण्डर हालेका हुन्।
यसअघि सन् २००९ मा पनि दुई वर्ष भित्र सक्ने गरी चिनियाँ कम्पनीले निर्माणको जिम्मा लिएको थियो। तर, समयमा काम नसकेपछि नेपाल सरकारले चिनियाँ कम्पनीसँगको ठेक्का तोडेको थियो।
दुई दशकदेखि काठमाडौंको प्यास मेट्ने भनिएको मेलम्ची खानेपानी आयोजनाको काम गरिरहेको इटालियन कम्पनी सिएमसीले सम्झौता तोडेपछि अन्योल बढेका बेला चिनियाँ कम्पनी अगाडि आएको हो ।
अन्योलग्रस्त आयोजना अघि बढाउन खुलाइएको ग्लोबल टेण्डरमा नेपाली कम्पनी हाई हिमालय हाइड्रो र चिनियाँ कम्पनी सिनो हाइड्रोले टेण्डर हालेका हुन्।
'दुई कम्पनीले टेण्डर हालेका छन्। मूल्याङ्कन गरेर एउटालाई निर्माण जिम्मा दिइने छ' मेलम्ची खानेपानी विकास समितिका सिनियर डिभिजनल इन्जिनियर राजेन्द्र पन्तले थाहासँग भने। मेलम्चीबाट एकपक्षीय निर्णय गर्दै छाडेपछि सरकारले गत माघमा सिएमसीसँगको सम्झौता रद्द गरेको थियो। त्यसपछि अन्योलमा परेको मेलम्ची अघि बढाउन आगामी आर्थिक वर्षको बजेटमा सात अर्ब रुपैयाँ बजेट विनियोजन गरिएको छ।
के छ बाँकी काम?
दुई दशकअघि काम सुरु गरेको आयोजनाको ब्रेकथ्रू २०७४ चैतमै भएको थियो। अम्बाथानबाट सुन्दरीजलसम्मको २७.५ किलोमिटर सुरुङ मार्ग निर्माण भएको छ। जसमध्ये ४१० मिटरको मात्रै अन्तिम ‘फिनिसिङ’ को काम हुन बाँकी रहेको आयोजनाले जनाएको छ। जसमा ८८५ मिटरमा ढलान बाँकी छ। सुरुङ भित्रको हावा जान निर्माण गर्नुपर्ने तीन ‘भेन्टिलेसन’ मध्ये दुईवटाको काम बाँकी छ।
ग्याल्थुमबाट अम्बाथानबीचको ‘भेन्टिलेसन’को काम भने यसअघि नै सकिसकेको छ। सुन्दरीजलबाट सिन्धुबीच र सिन्धुबाट ग्याल्थुमबीचको ‘भेन्टिलेसन’ ड्रिल गर्न बाँकी छ। सुन्दरीजलस्थित सुरुङको आउटलेटबाट प्रशोधन केन्द्रसम्म पानी ल्याउन ठूलो जिआइ पाइप राख्न अझै बाँकी छ।
मेलम्चीको इतिहास
आयोजनाको कन्सेप्ट पेपर सन् १९७२ मा बनेको हो। अस्ट्रेलियन कम्पनी स्मेकले उपयुक्त आयोजना भएको ठहर गरेको थियो। सन् १९९८ मा विकास समिति गठन गरियो। २००१ बाट आयोजना अघि बढाउन प्रकियागत काम भयो। २००९ मा चिनियाँ कम्पनीले निर्माण जिम्मा लियो। २०१४ भित्र सक्ने सर्तमा जिम्मा लिएको चिनियाँ कम्पनीसँगको ठेक्का सरकारले सन् २०१२ मा तोड्यो।
२०१३ मा तीन वर्षभित्र सक्ने गरी इटालियन कम्पनी सिएमसीले निर्माण ठेक्का लियो। संशोधित लक्ष्यअनुसार ३१ अगस्ट २०१८ मा काम सकिनुपर्ने हो तर काम सकिएन। फेरि ठेक्का तोडिएको छ। बाँकी कामका लागि दुई कम्पनीले टेण्डर दर्ता गरेका छन्।
बढ्दो लागत
सन् २००१ मा विश्व बैंकले चार अर्ब ३६ करोड रुपैयाँ लागत अनुमान गरेको थियो। अहिलेसम्म तोकिएको समय सन् २०१४ भन्दा पाँच वर्ष ढिला भएको छ। समयमै आयोजना नबन्दा लागत झण्डै सात गुणा धेरै भएको छ।
अहिलेसम्म २६ अर्ब ३५ करोड रुपैयाँ सकिएको छ। ९३ प्रतशित काम सकिएको दाबी खानेपानी मन्त्रालयले गरेको छ। यो हिसाबले हेर्ने हो भने सुरुवाती अनुमानको तुलनामा सात गुणा बढी लागत लागेको हो।
मेलम्ची सम्वन्धित समाचार:
तपाईंको ईमेल गोप्य राखिनेछ ।