|

काठमाडौं : यतिबेला देशका ४० भन्दा धेरै जिल्लामा डे‌ंगुको आतंक छ। तराईदेखि पहाडसम्मका सयौँ नागरिक डेंगुबाट संक्रमित छन्। केहीले त ज्यानै गुमाइसकेका छन्। 

तर साताअघि डेंगु निवारणमा सेना प्रहरी लगाउने ठट्यौली भाषण दिएका उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादव विश्व स्वास्थ्य संगठनको कार्यक्रमा सहभागी हुन भन्दै भारतको दिल्ली पुगेका छन्।

विश्व स्वास्थ्य संगठनले हेपाटाइटिस बी नियन्त्रण गर्न सफल भएकोमा नेपाललाई बधाई दिने कार्यक्रमका लागि मन्त्री यादव मन्त्रालयका उच्च अधिकारीसहित केही दिनका लागि दिल्ली पुगेका हुन्। 

यादवले मन्त्रालयको कार्यभार सम्हालेको एक वर्ष भन्दा बढी भइसकेको छ। यसबीचमा मन्त्री यादव महिनाको कम्तीमा एक पटक कार्यक्रमका लागि भन्दै विदेश निस्कने गरेका छन्। 

पाँच वर्षे स्थायी सरकारको उपप्रधान र स्वास्थ्य मन्त्रालयको नेतृत्व सम्हालेका समाजवादी पार्टी नेपालका अध्यक्ष यादवको आगमनपछि धेरैले स्वास्थ्यमा आमूल परिवर्तनको अपेक्षा गरेका थिए। २०७५ जेठ १८ गते स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको जिम्मेवारी लिएका उनले एक वर्ष बिताइसकेका छन्। 

तर, स्वास्थ्य मन्त्रालयले संघीय संरचना अनुसार काममा गति लिन सकेन। अझै पनि संघीयतता अनुसार स्वास्थ्यका कर्मचारीको समायोजन प्रकृया पुरा हुन सकेको छैन। अर्कातिर डेंगुको माहामारीले देश नै थला पर्न थालेको छ।

स्वास्थ्य क्षेत्रको दुरवस्था हुँदा मन्त्री यादवले गम्भीररुपमा मन्त्रालयको कामलाई गति दिन नसकेको स्वास्थ्यकै कर्मचारीहरु बताउँ छन्। ‘एकातिर कर्मचारीहरुको समायोजन भएको छैन। जसले गर्दा कर्मचारीहरु अन्योलमा छन्। अर्कोतर्फ देशभर विगतमा भन्दा बढी स्वास्थ्यको जोखिम बढ्दै गएको छ। यस्तो बेलामा मन्त्रीज्यूले राम्रोसँग कदम नचाल्ने हो भने स्वास्थ्य क्षेत्रमा ठूलो क्षति हुने निश्चित छ,‘ स्वास्थ्यका एक उच्च अधिकारीले भने।

देशभर डेंगुको महामारी

गत वैशाखमा पहिलो पटक सुनसरीमा देखिएको डेंगु देशभर फैलिएको छ। सुनसरीको धरानबाट सुरु भएको डेंगुको संक्रमण अहिले ४२ जिल्लामा पुगिसकेको छ।

गत बिहीबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा गरिएको एक कार्यक्रममा भएको छलफलमा डेंगु नियन्त्रण चुनौतीपूर्ण रहँदा मन्त्रालयले डेंगु नियन्त्रण गर्न नसकेको स्वीकार गरेको थियो।   

डेंगु नियन्त्रणका लागि खोज र नष्ट गर्ने अभियान ८५ वटा स्थानीय तहमा सञ्चालन गरिएको छ । तर पनि पनि नियन्त्रण हुन सकेको छैन। कीट तथा कीटजन्य रोग नियन्त्रणका लागि ६ करोड १७ लाख रुपैयाँ विनियोजन भएको छ। तर, बजेट खर्च, खोज र नष्ट गर्ने अभियान प्रभावकारी हुन सकेको छैन। हालसम्म ४२ जिल्लामा फैलिसकेको डेंगुका बिरामी पाँच हजार भन्दा धेरै पुगिसकेको मन्त्रालयले जनाएको छ।

कीट तथा कीटजन्य रोग फैल्याउने लामखुट्टेको नष्ट गर्न बनेको भक्टर कन्ट्रोल निरीक्षक अहिले कामविहीन भएका छन्। जसले प्रभावित क्षेत्रमा रहेर डेंगु तथा कालाजार रोगको संक्रमण फैलाउने लामखुटेको विनाश गर्थे।  संक्रामक रोग नियन्त्रणका लागि सरकारले देशभरका २२ जिल्लामा भेक्टर कन्ट्रोल निरीक्षकको व्यवस्था गरेको थियो।

कर्मचारी समायोजनसँगै यी भेक्टर कन्ट्रोल निरीक्षकको दरबन्दी कहाँ हुने भन्‍ने अस्पष्टताले देशभर डेंगु लगायतका संक्रामक रोग फैलिरहँदा उनीहरुले काम पाएका छैनन् ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. बाबुराम मरासनीका अनुसार संघीय संरचनामा मुलुक जानुभन्दा अघि तराईका २२ जिल्लासहित काठमाडौं, भक्तपुर, ललितपुर र काभ्रेमा गरी १००  भेक्टर कन्ट्रोल निरिक्षकको व्यवस्था थियो।

तिनीहरुले राम्रोसँग काम गर्दा डेंगु जस्ता कीटजन्य रोगहरु फैलन नपाउने अवस्था थियो। तर अहिले ती सबै भेक्टरहरु फाजिलमा रहेकाले यस्ता संक्रमण नियन्त्रण बाहिर गएका छन्। 

उनले भने, ‘हामीले संघीयाता कार्यान्वयन गर्दा यस्ता कीटजन्य रोगहरुका लागि खटिने विज्ञहरुलाई फाजिलमा राखिएको छ। जसले गर्दा पनि यस्ता संक्रमणहरु नियन्त्रणमा बाहिर जान थालेका छन्।'

निरीक्षकहरुले डेंगुका बिरामी देखिना साथ गाँउगाउँमा सिडिसी ट्रयाप राखेर लामखुट्टे नष्ट गर्ने गर्थे । मरासनीका अनुसार निरीक्षकहरुले बिरामीको तथ्यांक पनि लिन्थे।

जसले उपचार प्रक्रिया छिटो र प्रभावकारी हुन्थ्यो । तर,समायोजनले हाल यो काम गर्नेलाई कामविहीन बनाएको छ।  लामखुट्टे मार्ने विषादी छर्न जो कोहीले मान्दैन । जसका कारण भेक्टर कन्ट्रोल निरीक्षकलाई खटाउनुको विकल्प नभएको डा. मरासिनीले बताए।  

कर्मचारी समायोजनको सकस

महिनौं अगाडिदेखि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सुरु गरेको कर्मचारीको समायोजन न टुंगाएको छ न त डेंगुको संक्रमण नै नियन्त्रण गर्न सफल भएको छ। 

स्वास्थ्यलाई यी दुवै कुराको समाधान गर्न हम्मेहम्मे परेको छ । पछिल्लो समय स्वास्थ्यको समायोजनको काम कछुवाको गति बराबर भएको छ। हाल समायोजन प्रकृया नै स्थगित छ।

यता कर्मचारी समायोजनले दुर्गम ठाँउका ठूला भनिने अस्पताल नै चिकित्सकविहीन छन्। समायोजनको काम स्वास्थ्यले एकतिहाइ पनि सकेको छैन।तर स्वास्थ्य मन्त्रालयले भने कर्मचारीलाई एउटै सन्देशको सूचना बेला-बेलामा जारी गरी समायोजनपछिको पदस्थापना नहुन्जेल यथास्थानमा रहेर काम गर्न भनिरहेको छ।

ढिलो गरी शुरु भएको स्वास्थ्यको समायोजन पछिल्लो समय स्वास्थ्य र संघीय मामिला तथा सामान्य प्रसाशन मन्त्रालयबीचको नीतिगत अस्पष्टताका कारण अवरुद्ध भएको छ।

तर, अब समायोजन प्रकृया छिट्टै सुरु हुने दाबी गरिएको छ। स्वास्थ्यचौकीको नेतृत्व सिनियर अहेबले गर्ने कि हेल्थ असिस्टेन्सले गर्ने विवाद पटक पटक उठिरहेकाो छ। ठूलो संख्यामा रहेका स्वास्थ्यका कर्मचारीहरू अनमी, अहेब, हेल्थ असिस्टेन्ट, वैद्य कविराजको समायोजन रोकिएको छ।

स्वास्थ्य सेवा समूहका झण्डै सात हजार कर्मचारीको समायोजन हुन सकेको छैन। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार, अहेव र अनमीको समायोजन बाँकी छ।

स्वास्थ्य मन्त्रालयअन्तर्गत करिब २७ हजार स्वास्थ्यकर्मीमध्ये हालसम्म २० हजारको समायोजन भइसकेको छ। अब मन्त्रालयलअन्तर्गत सबैभन्दा धेरै रहेका अहेब, अनमीहरूको समायोजन बाँकी रहेको छ।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.