|

कञ्चनपुर :  कञ्चनपुरको महेन्द्रनगर बजार क्षेत्रको मुहार फेर्नका लागि  आधुनिक सडक निर्माणका लागि प्रक्रियाअगाडि बढाइएको छ। बजारका  पाँचैवटै गल्लीमा ठूलो लगानीमा नाली सहितका पक्की सडक निर्माण गरिने भएका हुन्।

क्षेत्रीय शहरी विकास आयोजनाले एशियाली विकास बैंकको ऋण सहयोगमा  भीमदत्त नगरपालिकासँगको सहकार्यमा पाँचै गल्लीमा सडक बनाउन लागेको हो। बजारका सबै गल्लीमा नालीसहितका सडक निर्माण प्रक्रिया सुरु गरिएको छ। नगरपालिकाले सडक निर्माणका लागि रु एक अर्ब ७६ करोडको टेण्डर आव्हान गरिएको छ।

गुरु योजना बनाएर बसाइएको महेन्द्रनगरलाई व्यवस्थित र आधुनिक बनाउन भीमदत्त नगरपालिकालाई नगर प्रमुख सुरेन्द्र विष्टले बजारमा नाली सहितका सडक बनाउन प्रक्रिया अघि बढाएका छन। बजारका पाँचै गल्लीमा १३ दशमलव ८५ किलोमिटर नालीसहित सडक निर्माणका लागि प्रक्रिया सुरु गरिएको नगर प्रमुख विष्टले जानकारी दिएका छन्।

‘महेन्द्रनगर योजनाद्ध सहर हो। यो गुरु योजना अनुसार निर्माण गरिएको सहरलाई व्यवस्थित र सुन्दर बनाउन नगरपालिका सदा सक्रिय छ’ नगर प्रमुख विष्टले भने, ‘अहिले बजारका सबै गल्लीमा नाली सहितका सडक निर्माण कार्य प्रक्रिया सुरु गरिएको छ, यसले सहर थप सुन्दर र व्यवस्थित हुने आशा छ।’

भीमदत्त नगरपालिकाको पहिलो नगरसभाबाटै नगर प्रमुख विष्टले महेन्द्रनगर बजारलाई व्यवस्थित र सुदूरपश्चिमको नमूना सहर बनाउने नीतिगत निर्णय गराएका थिए। बजारका सबै गल्लीमा नाली सहित सडक बनाउन एक अर्ब ७६ करोडको टेन्डर आह्वान गरिएको नगरपालिकाका इन्जिनियर हिमालय सिह ऐरले बताए। ‘हामीले टेन्डर आह्वान गरिसकेका छौँ,’ इन्जिनियर ऐरले भने, ‘४५ दिने टेन्डरपछि काम अघि बढ्छ।’

क्षेत्रीय सहरी विकास आयोजना अन्र्तगत भीमदत्त नगरपालिकामा ३५ किलोमिटर नाली सहित पक्की सडक निर्माण गरिने भएका छन्। त्यसमध्ये पहिलो चराणमा बजार क्षेत्रमा सडक निर्माण प्रक्रिया सुरु गरिएको हो। ‘पाँचवटै गल्लीमा नाली सहित उच्च गुणस्तरीय सडक बनाउँछौँ,‘ इन्जिनियर ऐरले भने, ‘केही आसपासका क्षेत्रका सडक पनि बनाउँदैछौँ।’

अहिले भएका सडक पूर्ण रूपमा भत्काएर पूरै आधुनिक नयाँ बनाइने उनले बताए। इन्जिनियर ऐरका अनुसार बजारसहित मदनचोकदेखि मझगाउँ विमानस्थल, भानुचोकदेखि विष्णुमन्दिर सडक नरहसम्म, भाँसीदेखि रौटेला सडकको नहरसम्म, महाकाली अस्पतालदेखि ट्राफिक चोक, स्थानीय भीमपार्कदेखि सालघारी कालिका मन्दिर, हुलाकदेखि भगतपुर, भानुचोकदेखि सब्जीमन्डीसम्म सडक निर्माण हुन लागेका हुन्।

बजारको फुटपाथसमेत हटाइने नगरपालिकाले जनाएको छ। नगरपालिकाका अनुसार सबै सडक ७ दशमलव ५० मिटर चौडा आधुनिक कालोपत्रे गरिनेछ। ‘अहिले हामीले बनाएका सडकको स्तरभन्दा कैयौँ गुणा अब बन्ने सडक गुणस्तरीय हुनेछन्,’ इन्जिनियर ऐरले भने।

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.