राजनीति

देउवाले भने : भारतले नेपाललाई पनि पाकिस्तानलाई जस्तै व्यवहार गर्‍यो

सरकारले शाही आयोग जस्तो बनाउन खोजेको आरोप

मंसिर १०, २०७६

    विराटनगर : पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतले नयाँ नक्सा जारी गर्दा पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राखेको आरोप लगाएका छन्।

    विराटनगर विमानस्थलमा मंगलबार संचारकर्मीसँग कुरा गर्दै सभापति देउवाले यस्तो बताएका हुन। उनले भारत आफैंले विवादास्पद भन्दै आएको नेपालको कालापानी र सुस्ताको भूभागलाई नयाँ नक्सामा समावेश गर्नु पाकिस्तान र नेपाललाई एउटै ठाउँमा राख्न खोज्नु भएको दाबी पनि गरे।

    ‘कालापानी र सुस्ता विवादास्पद ठाउँ हो भनेर भारतले पनि मानेको हो,’ देउवाले भने, ‘अहिले अकास्मात कश्मीर विवादको हिसाबले पाकिस्तान र नेपाल एउटै जस्तो गरेर नक्सा जारी गरेको छ।’

    महाकाली सन्धिमा पनि महाकाली नदी सीमा बाँधिएको बताउँदै देउवाले सीमा पूर्व कालापानी सीमा पश्चिम इन्डिया रहेको र लिपुलेक पनि नदी पूर्व नै पर्ने भएकै कारण कालापानीको पानी आधा-आधा गर्ने भनेर सहमति गरेको बताए।

    'म प्रधानमन्त्री हुँदा महाकाली सन्धि भएको हो। सन्धिमा महाकाली नदी सीमा बाँधिएको हो। सीमा पूर्व हो कालापानी सीमा पश्चिम हो इन्डिया। लिपुलेक काला नदी पूर्व हो,’ देउवाको भनाइ छ, ‘सन्धिमा काली नदी सीमानदी हो। पानी आधा-आधा भनेर सहमति भएको हो।’

    कालापानी, सुस्ता तथा लिपुलेकको विषयमा दलहरुले अभूतपूर्व एकता गरेर सरकारलाई अगाडि बढ्नभन्दा पनि काम अघि नबढेको भन्दै देउवाले प्रधानमन्त्रीप्रति असन्तुष्टि जनाए।

    ‘सबै दलले अघि बढ्नुहोस् भनेर प्रधानमन्त्रीलाई भनेका छौँ तर केही गर्नुभएको छैन, गर्नुपर्छ कि पर्दैन उहाँले? दलहरुबीच अभूतपूर्व एकता भयो सीमाको विषयमा नेपालमा सबै पार्टीले उहाँलाई सपोर्ट गरेको छ, काम अगाडि बढेको छैन,’ देउवाले भने, ‘अगाडि बढ्न भनेको सरकार अगाडि बढ्दै बढ्दैन।’

    प्रतिपक्षी अगाडि बढ्दा पनि हुन्छ होला नि भन्ने प्रश्नमा उनले ‘प्रतिपक्षी एक्लै अगाडि बढ्न मिल्छ? ’ भन्ने प्रतिप्रश्न गरे। आफूले बोलेको विषयमा दलबाटै विरोध भएको सन्दर्भमा देउवाले कालापानी भारतको भनेर कसैले नबोलेको कारण अरू विषयमा पार्टीमा यस्तो भइरहने बताए।

    सरकारले शाही आयोग जस्तो बनाउन खोज्यो

    अर्को प्रसंगमा सभापति देउवाले तत्कालीन राजा ज्ञानेन्द्र शाहले अख्तियार दुरुपयोगलाई शाही आयोग बनाएजस्तो संवैधानिक परिषद्लाई अध्यादेशमार्फत परिवर्तन गर्न खोजे आफूहरूलाई मान्य नहुने बताए। २०४८ सालदेखिको संवैधानिक परिषद्लाई किन परिवर्तन गर्नुपर्‍यो? भन्दै देउवाले सरकारले आफूहरूसँग झगडा गर्न, निउ खोज्ने काम गरेको दाबी गरे।

    ‘अख्तियार दुरुपयोगलाई शाही आयोग बनाएजस्तो गर्न खोजिएको छ। हामी कुनै हालतमा मान्दैनौँ। अध्यादेश तुरुन्त फिर्ता गर्नुपर्छ,’ देउवाले भने, ‘४८ सालदेखिको संवैधानिक परिषद्लाई किन परिवर्तन गर्नुपर्‍यो? संसदमा ल्याए भइगयो नि। अहिले ल्याएर झगडा गर्न खोज्ने? हामीसँग निउ खोज्ने?’

    उपनिर्वाचनमा कांग्रेसले चुनाव जित्ने दाबी गर्दै कम्युनिष्ट पार्टीले सत्तामा आएर कही नगरेको टिप्पणी गरे। कम्युनिष्ट सरकारले कर बढाएको, उपभोक्ता समितिको नाममा भ्रष्टाचार गरेको र निर्मला पन्तको हत्यारा अहिलेसम्म खोज्न नसकेको देउवाको आरोप छ।

    देउवा धरानमा हुन लागिरहेको उपनिर्वाचनको सन्दर्भमा आयोजित कांग्रेसको जनसभामा उपस्थित हुन पूर्व आएका हुन्। ‘कांग्रेसले चुनाव जित्छ। कम्युनिष्ट पार्टीले सत्तामा आएपछि के गर्‍यो? कर बढाएको छ एक। उपभोक्ता समितिको नाममा भ्रष्टाचार भएको छ, निर्मला पन्तको हत्यारा अहिलेसम्म खोज्न सकेको छैन,’ देउवाको दाबी थियो।

तपाईको प्रतिक्रिया दिनुहोस्

यहाँको इमेललाई गोप्य राखिनेछ । अनिवार्य रुपमा दिनुपर्ने जानकारीहरुलाई ' * ' चिन्ह प्रयोग गरिएको छ ।

सामाजिक संजाल

सम्पर्क

थाहा खबर प्रा. लि.
सुमार्गी बी कम्प्लेक्स
बबरमहल- ११, काठमाडौं, नेपाल

इमेलः
समाचार विभाग: इमेल-thahakhabar16@gmail.com
फोन : ९७७-१- ४२६१९४१
बिज्ञापनः फोन- ९७७-१-४२६३४५४
९८५१०७६३३६(सञ्जय नेपाल)
इमेल: mkt.thahakhabar@gmail.com

हाम्रो बारेमा

प्रधान सम्पादक: तीर्थ कोइराला
सूचना विभाग दर्ता नं.: ७७८/२०७४-७५

[विस्तृत]