प्रहरीले त्रास फैलाएको आरोप
प्रहरीले त्रास फैलाएको आरोप
सिन्धुली : बोधिश्रवण धर्म संघ केन्द्रीय समितिले तपस्वी रामबहादुर बमजनलाई शंका गर्नुपर्ने कुनै कारण नरहेको बताएको छ। समितिले सोमबार बमजनको आश्रमस्थल सिन्धुलीको कमलामाई नगरपालिका ८ पैरेमा पत्रकार सम्मेलनको आयोजना गरेर तपस्वी बमजनमाथि लगाइएको आरोप सत्य नभएको दाबी गरेको हो।
जिल्ला अदालत सर्लाहीले बमजनलाई पक्राउ गर्न प्रहरीलाई अनुमति दिएपछि गत माघ २४ गते बमजनको आश्रममा प्रहरी पुगेको थियो। तर प्रहरीले बमजनलाई फेला भने पारेको छैन। अहिले पनि प्रहरीले बमजनको आश्रमस्थल पैरेमा घेरा हालेर बमजनको खोजतलास तथा अनुसन्धान गरिरहेको छ।
आश्रममा प्रहरीले अचानक छापा मारेको विषयलाई लिएर समितिले सोमबार पत्रकार सम्मेलन गरेको हो। पत्रकार सम्मेलनमा बोल्दै बोधिश्रवण धर्म संघ केन्द्रीय समितिका अध्यक्ष नीलबहादुर थिङ्खले बमजनमाथि लगाइएको आरोपमा कुनै सत्यता नरहेको दाबी गरेका छन्।
प्रहरीले बमजनको आश्रममा गरेको खानतालासीप्रति असन्तुष्टि जनाउदै उनले भने, ‘अनुसन्धान हुनुपर्छ। त्यसमा हाम्रो कुनै मतभेत छैन। न्याय सबैले पाउनुपर्छ तर सत्य र असत्य दुवै छुट्याउनुपर्छ। संविधान, कानुन विधिअनुसार अनुसन्धान हुनुपर्छ’।
बमजनलाई खोजतलास गर्नेक्रममा प्रहरीले बमजनको आश्रममा तोडफोड गरी प्रवेश गरेको प्रति आपत्ति जनाउँदै शान्त, सालिन वातावरण र धार्मिक आस्थामाथि अपशब्द प्रयोग गर्दै अभद्र व्यवहार प्रहरी प्रशासनले गरेको समितिका अध्यक्ष थिङ्खले बताए।
अभियोग लागेका व्यक्तिलाई अदालतमा उपस्थित हुन म्याद टाँस नगरी त्रासपूर्ण तरिकारले संविधान र आचारसंहिताविपरीत प्रहरीले खानतलासी गरेको उनको आरोप छ। उनले बोधिश्रवण धर्म संघले सरकारलाई न्याय र न्यायोचित विधि प्रक्रिया र व्यवहारमा सधै साथ दिने बताए।
तपस्वी बमजनमाथि एक अनुयायीको हत्या र तीन आनी बेपत्ता पारेको आरोप लागेको छ। बमजन आश्रमबाट बेपत्ता भएको र बलत्कारको समेत आरोपमा उजुरी परेपछि उनको सिन्धुपाल्चोक बाडेगाउँ आश्रम सिल गरि प्रहरीले छानविनसमेत गरेको थियो। त्यसबेला पनि प्रहरीले पैरे आश्रममा खोजतलास गरेको थियो।
पैरेमा बमजनको आश्रम करिब ४२ बिगाहामा फैलिएको छ। २४ बिगाहाको लालपुर्जा भएको र बाँकी सामुदायिक वनको जग्गा रहेको स्थानीयको भनाई छ।
जिल्ला अदालत सर्लाहीले आरोपित बमजन पक्राउ गर्न गत माघ २४ गते बिहीबार पूर्जी जारी गरेपछि सिआइवी, प्रदेश नम्बर दुईको दंगा नियन्त्रण टोली र जिल्ला प्रहरी कार्यालय सिन्धुलीको टोलीले कमलामाई नगरपालिका ८ पैरेस्थित बमजनको आश्रममा खानतलासी गरेको थियो।
तपाईंको ईमेल गोप्य राखिनेछ ।