काठमाडौं : १६ वर्षअघि प्रदर्शनमा आएको नायक निखिल उप्रेतीको डेब्यू फिल्म 'पिंजडा'को नाम सापटी लिएर निर्माण हुन लागेको फिल्म 'पिंजडा ब्याक अगेन' सोमबारदेखि छायाङ्कनमा जाने भएको छ। निखिललाई नै मुख्य भूमिकामा प्रस्तुत गर्ने गरी निर्माण हुन लागेको यस फिल्मको सूटिङ भोलिबाट सुरु हुने निर्माण पक्षले आइतबार राजधानीमा पत्रकार सम्मेलन गरी जानकारी दियो।
पिंजडा नेपाली फिल्मी इतिहासमा सफल फिल्मको सूचीमा पर्छ। यस फिल्ममा निखिलले ७ तलामाथिबाट हाम फालेका थिए। तिनै निखिलसहित सुस्मिता केसी, सारा लगायतका कलाकारको अभिनय रहने 'पिंजडा ब्यक अगेन' लाई सफल द्वन्द्व निर्देशकको छवी बनाएका हिमाल केसीले निर्देशन गर्दैछन्।
फिल्मको कार्यकारी निर्माता सुसान्त श्रेष्ठ हुन् भने फिल्ममा रोहित पुरी, गोविन्द गैरे तथा चन्द्र अधिकारीको पनि लगानी रहने बताइएको छ। महेश खड्का, वसन्त सापकोटा, अर्जुन पोखरेल तथा राजनराज सिवाकोटीजस्ता चर्चित संगीतकारहरुको संगीत रहने यस फिल्ममा सिनेमाटोग्राफी सौरभ लामाको रहने छ।
पिंजडासँग नाम जोडिए पनि यो सिक्वेल फिल्म भने नभएको निर्देशक केसी बताउँछन्। 'नाम जोडिए पनि पिंजडाको सिक्वेल होइन,' निर्देशक केसी भन्छन्, 'यो त पूर्णरुपमा पारिवारीक र सोसियल मूभी हो।'
यस फिल्ममा मायाप्रेमको बन्देजलाई देखाउन खोजिएको नायक उप्रेती बताउँछन्। 'पिंजाडा भन्ने बित्तिकै बन्देज हो,' उनी भन्छन्, 'यसमा मायाप्रेमको बन्देजलाई देखाउन खोजिएको छ।' निखिलले निर्माण गरेको फिल्म 'रुद्र'बाट नेपाली फिल्म क्षेत्रमा प्रवेश गरेकी नायिका सारा यस फिल्मलाई लिएर आफू निकै उत्साहित रहेको बताउँछिन्।
आगामी दसैँमा प्रदर्शनमा ल्याउने लक्ष्यसहित निर्माण थालिएको यस फिल्मको छायाङ्कन चितवन, पोखरालगायतका स्थानमा हुने निर्माण पक्षले जनाएको छ।
तपाईंको ईमेल गोप्य राखिनेछ ।