चिकित्सक भन्छन् : नयाँ जिन्दगीसँग जुवा खेलिरहनु भएको छ

|

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपणका लागि अप्रेशन थिएटरमा छिर्नुअघि चिकित्सकहरुमार्फत भावुक सन्देश छाडेका छन्। 

आफ्ना निजी चिकित्सकहरुमार्फत प्रधानमन्त्री ओलीले आफूलाई केही नहुने बताउँदै चिन्ता नलिन आग्रह गरेका छन्। ओलीका एकजना निजी चिकत्सकले थाहाखबरलाई बताए अनुसार प्रधानमन्त्रीले अप्रेशन थिएटरमा छिर्ने बेलामा कुरा गरेका थिए।

‘अप्रेशन थिएटरमा जाने बेलामा उहाँलाई जे भए पनि नआत्तिन आग्रह गर्नुभएको छ’, ती चिकित्सकले भने, ‘जे सुकै भए पनि चिन्ता नलिन भन्‍नु भएको छ।’ ओलीले आफ्नै देशको माटोमा उपचार हुने भएकाले आफू ढुक्क रहेको पनि बताएका थिए। 

‘मलाई राम्रो हुन्छ आत्तिनुपर्दैन। नराम्रो भए पनि म आफ्नै देशको माटोमा छु, त्यही पनि राम्रो हुन्छ, कसैले आत्तिनुपर्दैन’, प्रधानमन्त्री ओलीको भनाइ उद्धृत गर्दै ती चिकित्सकले भने, ‘देशमै उपचार हुने भएकाले मलाई जे भए पनि कसैले चिन्ता नगर्नू, त्यही पनि मलाई ठीक हुन्छ।’

त्रिवि शिक्षण अस्पतालको ६०१ नम्बर क्याबिनबाट बिहान १० बजेर ५ मिनेटमा अप्रेशन थिएटरमा छिर्नुअघि ओलीले चिकित्सकहरुसँग कुरा गरेका थिए। ओलीले भनेका कुराले चिकित्सकहरु पनि भावुक बनेका थिए। 

प्रधानमन्त्रीको उपचारमा संलग्न उनका निजी चिकित्सकले यो जिन्दगीकै जुवा जस्तै भएको बताए। ‘प्रधानमन्त्रीले आफ्नो नयाँ जिन्दगीसँग जुवा खेलिरहनु भएको छ’, उनले भने, ‘जित्ने हार्ने के हुन्छ? अहिल्यै भन्न सकिँदैन, अप्रेशन सफल हुनेमा हामी विश्वस्त छौँ।’

बिहान १० बजेर ५ मिनेटमा क्याबिनबाट अप्रेशन थिएटरमा छिराइएका ओलीको करिब ५ घण्टासम्म अप्रेशन चल्नेछ। ओलीसँगै मिर्गौला दान गरेकी भाञ्जी समीक्षा संग्रौलाको पनि सँगै शल्यक्रिया हुँदैछ। 

समीक्षको शल्यक्रिया गर्ने चिकित्सकको टोली छुट्टै छ। ओलीको शल्यक्रिया डा. प्रेम ज्ञवाली नेतृत्वको चिकित्सकको टोलीले गर्नेछ। 

प्रधानमन्त्रीको मिर्गौला शल्यक्रिया गरिरहेको शिक्षण अस्पतालमा यसअघि आठ सयजनाको प्रत्यारोपण भइसकेको छ। त्यसम १० जनाको त दुई पटक सफलतापूर्वक प्रत्यारोपण भइसकेको छ। प्रधानमन्त्री ओली शिक्षणमा दोस्रो पटक मिर्गौला प्रत्यारोपण गर्ने एघारौँ व्यक्ति हुन्। 

प्रधानमन्त्री ओलीले १३ वर्षअघि भारतको नयाँदिल्लीस्थित अपोलो अस्पतालमा पहिलो पटक मिर्गौला प्रत्यारोपण गरेका थिए। दोस्रो पटक मिर्गौला प्रत्यारोपणका लागि पहिलो पटक प्रत्यारोपणमा संलग्न हाल म्याक्स अस्पतालमा कार्यरत डा. अनन्तकुमार पनि आएका छन्। 

प्रधानमन्त्रीको अप्रेशन चलिरहँदा शिक्षण अस्पतालमा सयौँको संख्यामा शुभचिन्तक भेला भएका छन्। उनको स्वास्थ्य लाभको कामनासहित मंगलबार साँझ देशका विभिन्‍न स्थानमा दीप्र प्रज्ववलन पनि गरिएको थियो। 

सम्वन्धित समाचार

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.