भन्छन् : खान नपाएर तड्पिएको देख्न सकेनौँ
भन्छन् : खान नपाएर तड्पिएको देख्न सकेनौँ
काठमाडौ : सरकारले कोरोना भाइरसविरुद्ध लड्न देशभर लकडाउन गरेको छ। दुई सातादेखि मानिस घरमा थुनिएका छन्। जनजीवन ठप्प छ। जनजीवन प्रभावित नहुन विभिन्न संघसंस्थाले आवश्यकता परिपुर्तिको गि विभिन्न ठाउमा खानाको व्यवस्था गरेको छ।
आइतबार ललितपुरको बटुक भैरव पुग्दा दुई व्यक्तिले बाल्टीमा र झोलामा भात बोकेर हिँडिरहेको भेटिए। वरिपरिका कुकुरलाई भात खुवाउने शिलशिलामा उनीहरु गोदावारीबाट बटुक भैरव आइपुगेका हुन।
'पृथ्वी सबैको साझा हो। यो वाक्य सुन्दा जति सुन्दर छ। व्यवहारमा उत्रेर हेर्दा उत्तिकै कुरुप पनि। यहाँ मानिसको चिन्ता छ। तर जनावरको पीडा कसैले बुझेनन। त्यसले उनीहरु भोक मेटाउन भात खुवाउँदै हिडेका हौं, 'दुईमध्ये एक तिलक विश्वकर्माले भने।
उनी र उनका अर्का साथी शिव सतार एक सातादेखि ललितपुरका विभिन्न स्थानमा छाडा छोडिएका कुकुर, बिरालालाई खाना खुवाइरहेका छन्।
झापा स्थायी घर भएका दुवै ललितपुरको गोदावरीमा बस्छन्। सरकारले लकडाउन गरेपछि उनीहरुले सडकमा बस्ने कुकुरहरुको बेहाल देख्न सकेनन्। त्यही भएर व्यक्तिगत खर्चमा खाना खुवाउँदै हिँडिरहेको उनीहरुले सुनाए।
बिहान सबेरै उठेर कुकुरका लागि खाना तयार गर्नु उनीहरुको दैनिकी हो। यो दैनिकी एक हप्तादेखि चलिरहेको छ। 'हामी जनावरप्रेमी हौँ। उनीहरु खानाका लागि तड्पिएको हेर्न सकेनौँ। आफ्नै व्यक्तिगत खर्चमा खाना खुवाउदै हिडेका हौं,' दुवैले एकै स्वरमा भने।
अन्य बेला जनावरलाई सहजै मिल्ने खाना अहिले पाइँदैन। आममान्छे घरभित्र बस्दा बाहिर जनावर भने भोकसँग युद्ध लडिरहेका छन। तर उनीहरुको आवाज यी दुई युवाले जस्तो सबैले सुन्न सकेनन्। उनीहरुले सुनेँ, त्यहीकारण जनावरले पेट भर्न पाएका छन्।
दुवैजना एउटै संस्थामा काम गर्छन्। यो बेला दुवैको जागिर बन्द छ। सरकारले जीवजन्तुका लागि केही पनि नसोचेको बताउँछन उनीहरु। भन्छन् , 'मान्छे सर्वश्रेष्ठ प्राणी भनेर जति ठूला गफ लगाए पनि जीवजन्तुको रक्षाका लागि हामीले केही गर्न सकेका रहेनछौँ।'
उनीहरु गोदावरी नगरपालिका-३ मा पटक पटक जीवजन्तुलाई खाना खुवाउने अनुमति माग्न गएका थिए। तर, त्यहाँ आफुहरुको कुरा नसुनिएको बताए। 'बाहिर निस्किए सुरक्षाकर्मी तैनाथ हुनुहुन्छ। उहाँहरुलाई बिन्ति बिसाएर हिँड्ने वातावरण मिलाएका छौँ', उनीहरुले भने, 'आफ्नै खर्चमा जीवजन्तुलाई खाना खुवाउँछौँ भन्दा पनि वडाले अनुमति नै दिएन।'
दिनको १० केजी मासु र तीन हजारको खाना बोकेर उनीहरु ललितपुरका टोल टोलमा पुगेका छन। कोरोनाको त्रास बढेपछि सरकारले सडकमा निस्कन थप कडाइ गरेको छ। जसले गर्दा सतार र विश्वकर्मा जस्ता जागरुक युवाहरुलाई जीवजन्तुलाई खाना खुवाउन थप गाह्रो परेको छ।
उनीहरुसँग कुराकानी गर्ने क्रममा बटुक भैरव मन्दिर नजिकैका एक स्थानिय रिसाउँदै आए। ती स्थानियले आफ्ना वरिपरि यसरी कुकुरलाई खाना खुवाउँदा आफ्ना बालबच्चालाई कोरोना लाग्ने भनेर रोष पोखे। पंक्तिकारले उनको नाम सोध्यो। तर बताउन चाहेनन। तर उनी भन्दै थिए, 'कोरोना हावाबाट लाग्छ। हामी घर भित्र छौँ। जब तपाईंहरु यहाँ कुकुर जम्मा गरेर यस्तो हर्कत गर्नुहुन्छ। हामी घरभित्र बसेको के अर्थ?,' पंक्तिकारले उनको फोटो खिच्ने भन्दै मोबाइल निकालेपछि हतार हतार घरतिर लागे।
सरकारले कोरोनाबाट सुरक्षित रहन लकडाउन गरेको छ। तर आवश्यक सूचना पुर्याउन नसकेको उदाहरण पनि हो यो। शिक्षित समुदाय बस्ने भनिएको काठमाडौंमै पनि कोरोना के कसरी सर्छ भन्ने जानकारी धेरैलाई छैन। लकडाउनले भोकैतिर्खै रहेका जनावरलाई खाना खुवाउँदा कोरोना सर्छ भन्ने ती स्थानीय देखेर यी दुई भाइ खिस्स हाँस्दै लागे अर्को टोलतिर।
तपाईंको ईमेल गोप्य राखिनेछ ।