|

पाल्पा : ढाकाटोपीले नछोपिएको सेतै कपाल, सर्टपाइन्ट  लगाएर लाइनमा बसेका छन् तानसेनका ८४ वर्षीय डिलबहादुर आलेमगर। तर उनले मास्क भने लगाएका छैनन्। बरु उनले पाइन्टको खल्तीमा रातो झोला भने हालेका छन्। 

कात्तिकदेखि रोकिएको वृद्धभत्ता पाउने आसमा उनी कृषि विकास बैंक तानसेनस्थित शाखामा लाइनमा बसेका छन्। उनी खुसी छन्। किनकि उनी भत्ता बुझ्दैछन्। तर लकडाउनका बेला यसरी भीडभाडमा खुला ठाउँमा लाइन लाग्नुपर्दा चिन्तित पनि छन्। 

‘लकडाउनमा बाहिर ननिस्कनू भनेका छन्,’ उनले भने, ‘तर हामी बुढाबुढी बाध्य भयौं।’ कोरोना भाइरस सर्छ कि भन्ने चिन्ता उनलाई छ। तर बाध्यता पनि सुनाउँछन्। भन्छन्, ‘घरघरमै पुगेर भत्ता दिएको भए खुला ठाउँमा लाइन लाग्नु पर्दैनथ्यो। 

७१ वर्षीय आनन्द वुढाप्रिथीको पनि गुनासो उस्तै छ। ‘भत्ता नपाएर घरखर्च चलाउन सकिएन,’ उनले भने, ‘स्थानीय सरकार र बैंक मिलेर यतिबेला सबैको घरघरमा भत्ता दिएको भए धर्म हुने थियो।’ नगरपालिकाले सहुलियतमा दिएको चामल किन्ने पैसासमेत नभएको तानसेन नगरपालिका १ नारायणडाँडाका ६५ वर्षीय खड्कबहादुर विकले बाध्यता सुनाए। ‘घरतिर चामल बाँडिरहेको छ, तर पैसा छैन,’ उनले भने। उनलाई पनि पीर छ कोरोना संक्रमण सर्ने।

यो दृश्य हो तानसेनस्थित कृषि विकास बैंकअगाडि एक सयभन्दा बढीको संख्यामा भेला भएका वृद्धवद्धा, एकल महिला र बालबालिकाको।

भीडमा रहेका उनीहरु कतिपयको मुखमा मास्क थिएन्। लाइनसमेत खचाखच थियो। प्रशासनले दूरी कायम गरेको थिएन। लकडाउनको पूर्ण उल्लंघन थियो। 
लामो समय उभिँदा थकित भएका उनीहरूलाई कतिबेला पैसा पाइन्छ भन्ने नै चिन्ता थियो। बैंकका कर्मचारीले मास्क भने लगाएका थिए। त्यहाँ कसैले पनि त्यसरी लाइनमा उभिनेलाई दूरी कायम गर्न आग्रह गरेका थिएनन्। 

घरघरमा पुगेर भत्ता वितरण गर्न कृषि विकास बैंक पाल्पा शाखालाई भने पनि तर अस्वीकार गरेको नगरपालिका प्रमुख अशोककुमार शाहीले बताए। ‘हामी पनि सहयोग गर्छौं, वृद्धवृद्धालाई यस्तो समयमा हिँड्न बाध्य नपारौं भनेको थिए’, उनले भने, ‘बैंकका कर्मचारीले नमानेपछि यो समस्या आएको हो।’ 

अन्य बैंकले घरघरमा पुगेर भत्ता वितरण गरिरहँदा यहाँ भने यस्तो समस्या आइपरेको उनले सुनाए। कर्मचारी कम भएकाले भीड व्यवस्थापनमा समस्या भएको कृषि विकास बैंक पाल्पा शाखा प्रमुख पदमलाल पुरीले बताए। 

‘कर्मचारी ६ जना मात्र छौं। सबैले भित्र काम गर्नुपर्छ’, उनले भने, ‘बाहिरको भीड व्यवस्थापन गर्न चौकीदारलाई भनेको थिएँ, उहाँले पनि एक्लै भएर सम्हाल्न सक्नुभएन।’

व्यक्तिको खातामा रकम जम्मा भइसकेकोले घरघरमा पुगेर वितरण गर्न नसकिएको प्रमुख पुरीले प्रतिक्रिया दिए। अबका दिनमा वडासँग समन्वय गरेर भत्ता उपलब्ध गराउने उनले बताए। उनका अनुसार बुधबार मात्रै १ सय ८८ जनाले भत्ता बुझेर लगेका छन्। 

तपाईको प्रतिक्रिया दिनुहोस्

तपाईंको ईमेल गोप्य राखिनेछ ।
This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.